Comments Add Comment

‘नदीको औद्योगिक प्रदूषण सभ्यता विनाशको शुरूआत हो’

नदी भनेका सभ्यता हुन्, मोहेन्जो-दारोदेखि जति पनि हामी पूर्वी तथा पश्चिमी सभ्यता देख्छौं, ती सभ्यताको विकास नदीको किनारमा भएको छ । किन त्यसो भयो भने मानिसको मात्रै हैन, हरेक जीवजन्तुको पहिलो आवश्यकता पानी हो ।

जैविक कोषमा नै ८० प्रतिशतभन्दा बढी हिस्सा पानीकै हुन्छ । हाम्रो शरीरमा जति पनि जैविक प्रतिक्रिया हुन्छन्, त्यो पानीकै माध्यमबाट हुन्छ । त्यसैले पानी हाम्रो पहिलो आवश्यकता हो, पानी विना जीवन सम्भव छैन ।

मानिस जब जंगलबाट समाज र परिवारतर्फ उन्मुख भए त्यतिबेला उनीहरूले एकै ठाउँमा बस्नका लागि नदी किनार नै रोजे । नदीले प्रत्यक्ष-अप्रत्यक्ष रूपमा बाँच्नका लागि वातावरण र खाना उपलब्ध गराउँछ, जति पनि मानवीय क्रियाकलापहरू हुन्छन्, त्यो कतै न कतै नदीसँग जोडिएको हुन्छ ।

नदीबाटै सभ्यताको शुरूआत हुन्छ र त्यसको बहुउपयोगबाट जीवनहरू अस्तित्वमा रहन्छन् । नदीहरू समाप्त भए भने सभ्यता पनि समाप्त हुन्छ । हामीले इतिहासमा जति पनि सभ्यता समाप्त भएका देखेका छौं, त्यसमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नदीको प्रभाव देखिन्छ । कुनै ठाउँमा नदीहरू सुके होलान्, कतै बाढीले सभ्यता बगाए होलान् त कतै नदीहरू असाध्यै प्रदूषित भए होलान् । नदी प्रदूषित हुनु भनेको पनि नदी सुक्नुसरह नै हो ।

हाम्रो जस्तो अल्पविकसित देशमा नदीमा प्रदूषण धेरै बढेको पाइन्छ । नदीको पानीको प्राकृतिक बहाव १० प्रतिशतभन्दा तल झर्‍यो भने हामी ‘नदी मर्‍यो’ भन्छौं । नदी मृत भयो भने त्यही नै सभ्यताको विनाशको शुरूआत हो ।

अरू जतिसुकै पूर्वाधार बनाउनुस्, तर नदी सुक्दै, प्रदूषित हुँदै र जलप्रवाह घट्दै गयो भने विनाशको शुरूआत त्यहींबाट हुन्छ । भलै त्यस्तो विनाशको ठूलो परिणाम देखिन केही वर्ष लाग्ला ।

हाम्रा शहरहरूमा कतै न कतै साना-ठूला नदी जोडिएका छन् । नदी सुक्दा र प्रदूषित हुँदाको असरबारे ज्ञान र चेतना नभएरै होला, हामीले प्रदूषित गर्दै लगेका छौं । त्यसले हामी भविष्यमा कल्पना नै नगरेको ठूलो समस्यामा पर्नेछौं । नदी सभ्यताको प्रतीक र सारथि भएकाले त्यसलाई मृत हुनबाट जोगाउनुपर्छ । नदी मृत हुने एउटा प्रमुख कारण प्रदूषण हो ।

प्रदूषण भयो र नदीमा आफ्नो पानी भएन भने नदीले अप्राकृतिक व्यवहार देखाउन थाल्छ । त्यसले वातावरणीय, स्वास्थ्यजन्य, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रमा प्रतिकूल असर पर्छ ।

एउटा पुरानो अंग्रेजी कविता छ- ‘वाटर वाटर एभ्रि हृवेयर, बट नट अ ड्रप टु ड्रिंक ।’ यो विश्व नै दुई तिहाइ पानीले भरिएको छ, तर हामीलाई उपयोगका लागि एक प्रतिशतभन्दा कम मात्रै उपलब्ध छ । त्यो एक प्रतिशतभन्दा कम पानी उपयोगका लागि हामी मात्रै मान्छे छैनौं, जनावर, बोटबिरुवा र सूक्ष्म जीवहरू पनि छन् ।

त्यसैले उपलब्ध पानीको उपयोग त निकै बुद्धिमत्तापूर्ण ढंगले गर्नुपर्छ । कतिपय विकसित देशमा ढलको पानी पनि शुद्धीकरण गरेर पिउने पानीमा रूपान्तरण गर्छन् । पानीको त थोपा-थोपा बचाउनुपर्छ । त्यसैले पनि यो वर्षको विश्व पानी दिवसले नारा नै दिएको छ- भ्यालुइङ अफ वाटर अर्थात पानीको मूल्य बुझौं !

मृत्योन्मुख सिर्सिया

मैले बुझे अनुसार वीरगञ्ज शहरमा पूर्वमा सिंहा र पश्चिममा सिर्सिया नदी छ । सुनेअनुसार त्यहाँ फोहोर पानी प्रशोधनका लागि कुनै व्यवस्थित प्रशोधन केन्द्र छैन । घरबाट निस्किने होस् वा उद्योगबाट निस्कने, त्यसलाई शुद्धीकरण गर्ने कुनै प्रणाली छैन । केही उद्योगले कागजपत्रमा आफूसँग त्यस्तो प्रशोधन केन्द्र छ त भनेका छन्, तर त्यो काम गर्दैन, निरन्तर प्रयोगमा ल्याइएको छैन ।

सन् २०११ को एउटा तथ्यांक छ, वीरगञ्जमा ८.६८ मिलियन प्रतिदिन फोहोर पानी उत्सर्जन हुन्थ्यो । यो एक दशकमा त जनसंख्या र उद्योगको संख्या बढ्दा यो परिमाण त दोब्बर भयो होला ।

मैले सुनेअनुसार पर्सामा साना-ठूला ३४०० उद्योग छन्, त्यसमध्ये ५० भन्दा बढी उद्योग त मानव स्वास्थ्यमा प्रभाव पार्ने खालकै छन् । यी सबैको फोहोर पानीको आउटलेट नदीमा छन् । सिर्सिया नदीको पानी त हेर्दाखेरी नै ‘कालो पानी’ मा रूपान्तरण भइसकेको छ ।

नदी प्रदूषित हुनुको एउटा कारण त घरहरूबाट निस्किने ढलहरू पनि हो । भान्सामा प्रयोग हुने फ्याट, प्रोटिन र सफाइमा प्रयोग हुने डिटर्जेन्टसहित हाम्रो शौचजन्य ढल पनि नदीमै मिसिंदैछ । रोगकारक सूक्ष्म जीवाणु र जैविक अणुहरू नदीमै पुगिरहेका छन् । यस्तो प्रदूषणलाई ब्याक्टेरियाले ‘डिग्रेड’ गर्न सक्छन् । तर, ब्याक्टेरियाको पनि एउटा सीमित क्षमता हुन्छ । उसको क्षमताभन्दा बढी भयो भने ब्याक्टेरिया नै काम गर्न अक्षम हुन्छन् । उद्योगबाट निस्किएको पानी ‘डिग्रेड’ गर्न ब्याक्टेरियालाई सहज हुँदैन ।

पानीको गुणस्तरको सूचकलाई मापन गर्दा हामी बायोलोजिकल अक्सिजन डिमान्ड (बीओडी) हेर्छौं । यसले पानीसँग अक्सिजन होल्ड गर्ने क्षमता कति छ भनेर सूचना दिन्छ । पानीले पर्याप्त अक्सिजन होल्ड गर्न सकेन भने त्यहाँ जीवनको सम्भावना कम हुन्छ । त्यस्ता पानीमा जलचरहरू बाँच्न सक्दैनन् । सिर्सियाको कालो पानीमा माछालगायत जलचर पाउन कठिन हुन्छ ।

एउटा अलि पुरानो तथ्यांकले सिर्सिया नदीको पुराना मुख्य नुहाउने घाटहरूको बीओडीको लेभल हुनुपर्ने भन्दा बढी छ भन्ने देखाउँछ । त्यो अहिले अझै बढेको हुनसक्छ । त्यहाँ ब्याक्टेरियाले सजिलै पचाउन नसक्ने केमिकल अक्सिजन डिमान्ड (सीओडी) को लेभल पनि बढी छ ।

रसायनले जोखिम  

वीरगञ्ज-सिमरा औद्योगिक करिडोरमा औषधि, प्लाष्टिक, धातुजन्य, पेन्स र बियरलगायतका उद्योगहरू छन् । यस्ता उद्योगले फरक-फरक खालमा प्रदूषित पानी उत्सर्जन गर्छन् ।

जस्तो प्लाष्टिक उद्योगबाट साना-साना प्लाष्टिक कणहरू निस्कन्छन् । ती प्लाष्टिकहरूले हाम्रो खाद्य चक्रमा प्रवेश गरे भने हामीकहाँ आइपुग्छन् । त्यो असाध्यै हानिकारक हुन्छ, क्यान्सरसम्म गराउने खतरा हुन्छ । प्लाष्टिक उद्योगको पानी खोलामा मिसाइयो र त्यही पानीबाट तरकारी पखालियो भने त्यो तरकारीमा नै प्लाष्टिकको रसायन आउँछ । सिंचाइमा प्रयोग भयो भने बोटबिरुवाले त्यही प्रदूषित पानी सजिलै तानिदिन्छ, हामीले खाने फल, जरा र पातमा त्यही रसायन आइदिन्छन् ।

एक लिटर पानीमा एक मिलिग्राम प्रदूषक तत्व छ भने बिरुवाले त जीवन कालमा धेरै लिटर तान्ला । बिरुवाले जति लिटर पानी तान्छ उसले खाद्यचक्रमा त्यति नै रसायन (केमिकल) हरू पनि बढाउँछ । त्यसरी उत्पादन हुने फल पनि हामी एउटा मात्रै त खाँदैनौं । जति खान्छौं, त्यति असर बढी पर्छ । पानीमा जति प्रदूषक तत्व छ, त्यो खाद्य चक्रबाट आउँदा सयौं गुणा बढेर हामीसँग आउँछ । त्यसैले पानीमा प्रदूषण गर्ने तत्व थोरै छ भनेर बेवास्ता गर्नुहुँदैन ।

त्यसैगरी धातुजन्य उद्योगहरूले जिंक, कपर, मर्करी, लिड यस्ता हेभी मेटललाई पानीमा उत्सर्जन गर्छन् । त्यसले मानव स्वास्थ्यलाई त असर गर्छ नै, अर्को पानीको रंग नै परिवर्तन गरिदिन्छन् ।

जस्तो कि ललितपुरबाट धातुका मूर्ति बनाउँदा रंगसहितको पानी उत्सर्जन हुन्छ । अहिले कोड्कुमा बनिरहेको पानी प्रशोधन केन्द्रलाई त्यो पानीको रंग कसरी हटाउने भन्ने चिन्ता छ । किनभने त्यस्तो रंग हटाउन असाध्यै गाह्रो हुन्छ । मेटलहरू पानीमा जाने बित्तिकै अक्सिडाइज भएर रंग बदल्छन् । लिड बढी छ भने कालो, तामा बढी छ भने नीलो हुन्छ । यस्तो पानीको प्रशोधन प्रक्रिया महँगो पर्छ ।

वीरगञ्जमा लेदर, सिमेन्ट, साबुन उद्योगको पानी पनि खोलामै मिसाइरहेका छन् । हामीले नदीलाई यसरी प्रदूषित गरेपछि त्यसको असर भूमिगत पानीमा पनि देखिन्छ । किनकि माथिबाटै जमीनमुनि पानी पुनर्भरण हुने हो । हामी त्यही पानी तानेर पिइरहेका हुन्छौं । हुन त हामी खोलामा मात्रै फोहोर देख्छौं, तर त्यसको असर हामीलाई धेरैतर्फबाट परिरहेको हुन्छ ।

नदीको हकमा एउटा विशेषता के हुन्छ भने घरबाट मात्रै निस्किएको पानी नदीमा मिसिने हो भने २० किलोमिटर जति बगेपछि ब्याक्टेरियाले आफैं शुद्धीकरण गर्छन् । काठमाडौंको वागमतीमा उद्योगको त्यति धेरै पानी नहालिएका कारण उपत्यकाबाट निस्किएको पानी जति तल पुग्छ, उति उति सफा हुँदै गएको छ । त्यसको मूल कारण ‘सेल्फ प्युरिफिकेसन’ हो ।

तर, उद्योगको पानी मिसाइयो भने नदीमा आफैं पानी शुद्धीकरण हुनसक्दैन । ब्याक्टेरियाले उद्योगको रसायनयुक्त पानीलाई ‘डिग्रेड’ गर्नै सक्दैन । जुन नदीमा बढी उद्योगको पानी मिसाइएको हुन्छ, सो नदीको किनार क्षेत्रको बस्तीहरूलाई बढी प्रभावित गर्छ । विशेषगरी उद्योग रहेको भागभन्दा तलका क्षेत्रमा बस्ने बासिन्दालाई यसको बढी मार पर्छ ।

स्वास्थ्य समस्याको कारक

नदीमा उद्योगबाट निस्किने पानी सीधै मिसाउँदा वातावरणीय चक्र त स्वतः प्रभावित हुन्छ । त्यसबाहेक यस्ता नदी किनार क्षेत्रको जमीनको प्रयोग पनि राम्रोसँग हुँदैन । प्रदूषित नदी किनार आसपासमा सिंचाइमा प्रयोग हुने पानीले माटोको उर्वराशक्तिमा ह्रास ल्याइदिन्छ । जब खेतबारीबाट उत्पादन घट्छ, त्यसको उपयोग फरक ढंगबाट हुन थाल्छ । मान्छेहरू सकेसम्म जग्गा बेच्नतिर लाग्छन्, त्यहाँ नयाँ उद्योग वा घरहरू थपिन्छन् । यसले जमीनको खण्डीकरण पनि बढ्ने अवस्था आउँछ । भूउपयोगको प्रवृत्तिलाई प्रदूषित नदीले परिवर्तन गर्छ ।

नदी प्रदूषित भएपछि किनारमा गाईवस्तु चराउन लैजान पनि सकिंदैन । दुर्गन्धित पानी पिउन नसक्ने भएपछि गाईवस्तु आफैं पनि जाँदैनन् । नदीको किनारमा उमि्रएका घाँसपातमा रसायन हुने भएकाले त्यस्तो सेवनले पशुसम्मलाई असर गर्न सक्छ । त्यस्ता वस्तुभाउको दूध र मासु उपयोग गर्दा मानव स्वास्थ्यमाथि पनि असर पर्न सक्छ ।

मैले सुनेअनुसार वीरगञ्जमा गत एक दशकदेखि डायरिया, आँखा चिलाउने र छालासम्बद्ध रोगीहरूको संख्या बढ्दो छ । यो पनि नदी प्रदूषणसँगै जोडिन्छ । यसबारे धेरै कुरा स्थानीय चिकित्सकलाई नै थाहा होला ।

तर, के पक्का हो भने स्थानीय नदी प्रदूषित भएपछि त्यसले नसर्ने क्यान्सरजस्ता रोगको दर बढाउँछ । पानी प्रदूषित हुँदा हावा पनि प्रदूषित हुन्छ, यसले श्वासप्रश्वासदेखि मुटुसम्बद्ध स्वास्थ्य समस्या पनि बढाउँछ । हामीसँग तथ्यांक त छैन, तर त्यसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा गर्भपतन हुने र बाँझोपनसम्मको खतरा पनि हुनसक्छ ।

सामाजिक-सांस्कृतिक असर

नदी प्रदूषित हुँदा हाम्रो सामाजिक सांस्कृतिक व्यवहारमा पनि असर पर्न जान्छ । जस्तो वीरगञ्जमा छठ पर्व सबैभन्दा उल्लासको चाड हो । छठमा त नदी वा पोखरीमा गएर उदाउँदो र अस्ताउँदो सूर्यलाई नदीमै डुबेर अर्घ दिने हो ।

तर, त्यही सिर्सियाको पानी यति प्रदूषित छ कि त्यहाँ गएर घन्टौं बसेर कसरी आफ्नो सांस्कृतिक धार्मिक कर्म पूरा गर्ने ? जबकि त्यो पानीले छुँदैमा शरीरमा घाउ हुनेसम्मको जोखिम छ । त्यो गन्हाउने कालो पानीमा कसरी नुहाउने ? उभिएर कसरी पूजा गर्ने ? त्यसैले अहिले परम्परागत रूपमा नदीमा गरिने पूजा स्वीमिङ पुलमा आएर समेटिने अवस्था छ ।

यसले सिर्सिया नदीमा छठ मनाउने परिवारमा एक-दुई वटा पुस्तापछि नदीमा जानुपर्छ भन्ने नै थाहा नपाउने अवस्था आउन सक्छ । सो क्षेत्रमा अबको पुस्ताले विस्तारै समाज र परिवारको आफ्ना कतिपय धार्मिक संस्कारहरूबाट टाढा हुँदै जाने हुनसक्छ ।

हाम्रो हिन्दू संस्कार अनुसार शव नदी किनारमा लगेर अन्तिम संस्कार गरिन्छ, मलामीसम्मले त्यहीं नुहाउँछन् । नदी सफा भयो भने मात्रै यस्तो संस्कार रहिरहने हो । अब शवदाह गरेर घरमा आएर नुहाउनुपर्ने अवस्था आउन लागिसक्यो । नदी प्रदूषित हुँदै गयो भने हाम्रो संस्कारगत परम्पराहरूमा प्रत्यक्ष असर पर्छ । यी एउटा-दुइटा उदाहरण मात्रै हुन्, स्थानीयसँग कुरा गर्नुभयो भने त्यहाँ यस्ता कैयौं अनुभव हुनसक्छन् ।

वैज्ञानिकहरूको सम्मेलनमा चर्चा हुन्छ- तेस्रो विश्वयुद्ध पानीकै कारण हुनसक्छ । किनकि उपभोगयोग्य पानी सबैलाई चाहिन्छ, तर पानीको स्रोत सीमित छन् । हामीकहाँ पनि विभिन्न नदीको उपयोग कसले गर्ने भन्ने प्रदेशहरूबीच बहस चल्न थाल्यो भने नौलो नमाने हुन्छ ।

भारतमा अहिले पनि यस्तो बहस चलिरहेको छ । यो त ठूलो परिमाणको कुरा भयो, हाम्रै गाउँघरमा पनि पानीको स्रोतबारे बहस हुने गरेको छ । नदी प्रदूषित भयो भने तल्लो भेगमा बस्नेले माथिल्लो भेगमा बस्नेलाई दोष लगाउँछ । यसले समाजमा मनोवैज्ञानिक द्वन्द्व सिर्जना गर्न सक्छ र अशान्ति पनि हुन सक्छ । हाम्रो सभ्यता नै जोडिएको हुनाले नदीको प्राकृतिक प्रवाह खल्बलियो भने त्यसको असर हाम्रो सामाजिक सद्भावसम्ममा पर्न सक्ने पक्षलाई नजरअन्दाज गरिरहन हुँदैन ।

आर्थिक प्रभाव

नदी प्रदूषित हुँदा समाजमा आर्थिक प्रभाव पनि पर्छन् । प्रदूषणले मानव स्वास्थ्यमा असर पर्ने भएकाले त्यसबाट व्यक्ति र समाजको उत्पादकत्वमा असर पर्छ । बिरामी व्यक्तिले काम गर्न नपाउँदा आयदेखि अनेकन् क्षेत्रमा प्रभावहरू सिर्जना हुन्छन् । व्यक्तिले स्वास्थ्य सुधारमा गर्ने खर्च बढ्छ ।

प्रदूषणले माटोको उर्वराशक्ति घटायो भने खाद्य उत्पादकत्व पनि घट्छ । त्यसको असर त देशको गार्हस्थ्य उत्पादनसम्म पर्छ ।

प्रदूषण बढ्दा मान्छेमा जोश-जाँगर घट्छ र नैराश्यता बढ्छ । मैले पढेका केही प्रतिवेदनले भन्छ कि धेरै प्रदूषण गर्ने र उद्योगको भन्दा कम प्रदूषण गर्ने उद्योगको कामदारको उत्पादकत्व बढी हुन्छ । त्यसैले स्वच्छ वातावरण मनोवैज्ञानिक रूपमा चुस्त-दुरुस्त रहन पनि आवश्यक पर्छ ।

शहरको बीचबाट कल-कल सफा नदी बगेको छ भने पर्यटनलगायतका आर्थिक पक्षमा पनि वृद्धि गर्छ । सिर्सिया नदी सफा राखेर वरपर पार्क बनाउन सके, साना डुंगाहरू चलाउन सके त वीरगञ्जको पर्यटन उद्योग माथि उठ्थ्यो होला । नदी फोहोर देखेपछि त शहरबारे कहिलेकाहीं पुग्ने पाहुनाको धारणा पनि गलत बनिदिनसक्छ ।

समाधान के ?

समस्या छ भने समाधान पनि छ । पहिलो कुरा त समस्या सिर्जना हुन नै नदिनतर्फ सोच्नुपर्छ । उद्योगबाट फोहोर पानी उत्पादन भइरहेको छ भने नदीमा पठाउनुअघि प्रशोधन गर्नुपर्छ । प्रशोधनका लागि सम्बद्ध सरोकारवाला निकायले यस्तो कडा व्यवस्थाहरू गर्नुपर्छ कि कसैले नियमलाई मिच्ने आँट नगरोस् ।

तर, त्यसका लागि पूर्वाधारहरू भने सरकारी तवरबाट पनि बनाइदिन पर्छ । १० करोडको लगानी भएको उद्योगले अर्को १ अर्ब खर्च गरेर प्रशोधन केन्द्र बनाऊ भन्न मिल्दैन । सरकारले नै प्रशोधन केन्द्रहरू बनाउन आवश्यक नीति र व्यवस्थाहरू ल्याउनुपर्छ ।

नेपाल सरकारले सन् २०३० सम्म विश्वका अरू देशका नागरिकलाई जस्तै स्वच्छ पानी र सरसफाइ दिन्छु भनेर दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अब ९ वर्षभित्र त्यो काम गरिसक्नुपर्छ ।

संविधानमा नै हामीले ‘स्वच्छ पानी र सरसफाइ हरेक नागरिकको अधिकार’ भनेर लेखेका छौं । वातावरण संरक्षण ऐनले पनि स्वच्छ वातावरणमा बस्न पाउने नागरिकको हकलाई सुनिश्चित गर्ने भनेको छ । त्यो वातावरण बनाउने काम सरकारकै हो ।

वीरगञ्जमा अब सकेसम्म केन्द्रीकृत र व्यवस्थित फोहोर पानी प्रशोधन केन्द्र बनाउनुपर्छ । उद्योगबाट आएको पानीलाई शुद्धीकरण गरेर मात्रै नदीमा छोड्नुपर्छ । निश्चित ‘क्याचमेन्ट’ एरियासम्म मानव बस्ती राख्नुहुन्न ।

केन्द्रीकृत रूपमा गर्न नसके साना-साना पकेट एरियाबाट शुद्धीकरण गरेर भए पनि नदीमा पानी मिसाऔं । सकेसम्म आवश्यक सबै उद्योगमा पानी प्रशोधन केन्द्र बनाऔं । त्यसमा उद्योगीसहित सरकारले पनि लगानीको हिस्सा लिनुपर्ने हुनसक्छ । सरकारले अनुदानबाट पनि प्रोत्साहन गर्न सक्छ । प्रोत्साहनमूलक नीति बनाउने र कार्यान्वयनबारे अनुगमन गर्ने प्रभावकारी संयन्त्र बनाउनुपर्छ ।

हप्तामा एकपटक फोहोर टिप्ने सफाइ अभियानले मात्रै नदी सफा हुँदैनन् । प्रत्येक मान्छेमा मेरा कारणले मेरो छोरो वा नाति क्यान्सर भएर नमरोस् भन्ने चेतना जन्मिन जरूरी छ । वातावरण सफा राख्न आफ्नो योगदान के हो भनेर सबैले महसूस गर्न सक्नुपर्छ ।

कानूनले मात्रै पनि केही गर्दैन, कानूनमा त छिद्र हुन्छन्, हामीकहाँ त्यसलाई कसरी तोड्ने भनेर बढी ध्यान दिने गरेको पाइन्छ । त्यसैले नियमबाट मात्रै हैन, व्यक्तिको नियतबाटै सुधार गर्ने कामको थालनी हुनुपर्छ ।

हामीसँग भएका समाधानका उपायलाई लागू गर्ने प्रतिबद्धता आम नागरिक, उद्योगीदेखि सरकारसम्मको हुनुपर्छ । सहयोग हुने हो भने सिर्सिया जस्ता नदीलाई पुनस्र्थापित र पुनर्जीवित गर्न हामीसँग प्रविधि र जनशक्ति छन् । यसो गरेनौं भने हामी संकटमा छौं, हाम्रो सभ्यता नै  संकटमा छ ।

(औद्योगिक फोेहोर पानीको व्यवस्थापनमा विद्यावारिधि गरेका जोशी त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक हुन् । यो लेख अनलाइनखबरकर्मी रवीन्द्र घिमिरेसँगको कुराकानीमा आधारित छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment