Comments Add Comment

ग्रेटा राणा : नेपाली मनकी अंग्रेजीभाषी स्रष्टा

‘मेरो उमेर र अनुभवका आधारमा आत्मसंस्मरण लेख्नुपर्ने हो । तर यहाँ धेरैको चित्त दुख्छ भनेर मैले आफ्नो जीवनलाई आख्यानीकरण गरें ।’

सातौं उपन्यास ‘घोस्ट्स इन दी ब्याम्बो’ सार्वजनिक गरिरहँदा ग्रेटा राणा यस्तै भन्दै थिइन् । हुन पनि उनी उमेरले ७८ वर्ष पुगिन् । एक वर्षदेखि मस्तिष्कमा पानी जमेको समस्याका कारण उनी त्यति धेरै स्वस्थ छैनन् ।

विश्रामको उमेर–चरणमा पनि उनी थाकेकी छैनन् । अविच्छिन्न लेखिरहेकी छिन् । त्यसैको नतिजा हो– उपन्यास घोस्ट्स इन दी ब्याम्बो । यो उपन्यास आफ्नो जीवनभोगाइसँग नजिक रहेको उनले खुलाएकी छन् ।

अंग्रेजी भाषामा लेखे पनि ग्रेटा नेपाली साहित्यको चिन्ता गरिरहेकी हुन्छिन् । भन्छिन्– नेपाली साहित्य पनि कमजोर छैन । तर त्यसलाई विश्व साहित्यमा पु¥याउन गर्नुपर्ने काम यहाँ भएको छैन ।

पाँच दशकसम्म ग्रेटाले सक्रिय लेखक, कवि र अनुवादक भएर काम गरिन् । लामो साहित्यिक यात्रामा सात थान उपन्यास र सात कवितासंग्रह प्रकाशित गरिन् । यसबाहेक एक दर्जनभन्दा बढी अनुवाद–पुस्तक, निबन्ध र अखबारी लेखनमा उनी अझै गतिशील छिन् ।

चर्चित नेपाली उपन्यासकार डायमनशमशेरको ‘सेतो बाघ’ अंग्रेजीमा अनुवाद गर्ने श्रेय पनि उनैलाई जान्छ । यस्तै माया ठकुरी, ध्रुवचन्द्र गौतमलगायत लेखकका रचना अंग्रेजीमा अनुवाद गरेकी छन् । अनुवादलाई एक ठाउँमा राखेर हेर्ने हो भने ग्रेटालाई अंग्रेजीभाषी नेपाली लेखकमध्ये अग्रपंक्तिमा लिइन्छ ।

जन्मथलो बेलायत, कर्मस्थान नेपाल

ग्रेटाको जन्म ७ फेब्रुअरी १९४३ मा संयुक्त अधिराज्यको योक्सायरमा भयो । बेलायतकै सेरोफेरोमा उनको युवावस्था बित्यो । साहित्यमा रुचि भएकाले विश्वविद्यालयमा उनले साहित्य नै पढिन् ।

भिक्टोरिया युनिभर्सिटी अफ म्यान्चेस्टरमा स्नातक तहको विद्यार्थी छँदा एकदिन नेपालका मधुकरशमशेर राणासँग ग्रेटाको भेट भयो । त्यही भेटलाई ६० वर्षअघि जीवनसाथीको रूप दिए उनीहरूले । त्यसपछि केही वर्ष बेलायत र क्यानडा बसे । दुई छोरासहित सपरिवार सन् १९७१ मा उनी नेपाल आइन् । त्यसयता मूलथलो नेपाल नै बनाएर जीवनयापन गरिरहेकी छन् ।

नेपाल रहँदा ‘इसिमोड’को सञ्चार तथा प्रकाशन विभागमा १५ वर्ष काम गरेकी ग्रेटा नेपालका थुप्रै दुर्गम गाउँहरू घुमेकी छन् । नेपाल रेडक्रस सोसाइटी, समाज कल्याण मन्त्रालय आदि संस्थामा आबद्ध भएर काम गरेकी उनले सन् १९७० को दशकमै दुर्गम गाउँहरूका लागि ‘आमा मिलन केन्द्र’ को परिकल्पना गरेकी थिइन् । व्यक्तिगत तथा संस्थागत पहलबाट सक्ने सामाजिक कार्य अहिले पनि गर्दै आएकी छन् ।

ग्रेटाले नेपाली बालबालिकाको शिक्षामा पहुँच बढाउने अभियानमा पनि काम गरिन् । यसबाहेक ग्रामीण क्षेत्रमा शिक्षा, सञ्चारको पहुँचका लागि जागिर तथा व्यक्तिगत प्रयासबाट काम गरेकी छन् ।

बेलायतको परिवेशमा जन्मे पनि उनका शुरुआती उपन्यासमा नेपाली ग्रामीण क्षेत्रका महिला पात्रको चित्रण गरिएको छ । नेपालमा काम गर्दाको अनुभवलाई रचनामा सशक्त उतारेकी छिन् ।

उनका उपन्यासहरू नोथिङ ग्रिनर, डिस्टान्स हिल्स, गेस्ट इन दी कन्ट्री, हिडन वुमन आदिमा नेपाली जनजीवन प्रष्ट पाउन सकिन्छ । उनका कविताहरूमा पहाडी सौन्दर्य र प्राकृतिक वर्णन उत्तिकै छ । जीवनका पछिल्ला वर्षहरूमा नेपाललाई नै सबैथोक मान्दै आएकी ग्रेटा भन्छिन्, ‘नेपाल बाहिर बसेर लेख्नेको विषय एकै हुनसक्छ । तर नेपालमा रहँदा यहाँको विविधता समेटेर लेख्न सकिन्छ ।’

पूर्वअर्थमन्त्रीसमेत रहेका ग्रेटाका श्रीमान् मधुकरशमशेर राणाको २०७६ असोजमा निधन भइसकेको छ । तीन छोराकी आमा रहेकी ग्रेटा अहिले परिवारसहित ललितपुरमा बस्दै आएकी छन् । भर्खरै प्रकाशित उपन्यास उनले जीवनसाथी मधुकरकै नाममा समर्पित गरेकी छन् ।

चिन्ता नेपाली साहित्यको

ग्रेटा राणालाई धेरैले ‘अंग्रेजीमा लेख्ने नेपाली’ भनेर चिन्ने गर्छन् । तर ग्रेटा मात्र नभएर सम्राट उपाध्याय, मञ्जुश्री थापा, रवि थापा, प्रवीण अधिकारी, प्रणय राणालगायत धेरै सिर्जनशील नेपाली लेखकको नाम यो पंक्तिमा थप्न सकिन्छ ।

 

उनीहरू अंग्रेजीभाषी भए पनि नेपाली जनजीवनको चित्रण गरेर साहित्य लेखिरहेका हुन्छन् । ग्रेटा त्यो सूचीको अग्रपंक्तिमा पर्छिन् । यस्तै नेपाली साहित्यकारसँग सहकार्य गरेर काम गर्न सधैं तत्पर हुने उनको बानी छ ।

अंग्रेजी भाषामा लेखे पनि ग्रेटा नेपाली साहित्यको चिन्ता गरिरहेकी हुन्छिन् । नेपाली साहित्यको अवस्थाबारे सोध्दा उनले अगाडि बढिरहेको प्रतिक्रिया दिइन् । ‘नेपाली साहित्य पनि कमजोर छैन । तर त्यसलाई विश्व साहित्यमा पु¥याउन गर्नुपर्ने काम यहाँ भएको छैन’ उनले भनिन् ।

आफू कवि र उपन्यासकार भएकाले ग्रेटाले नेपाली उपन्यासको गहन अध्ययन गरेकी छन् । ध्रुवचन्द्र गौतम, डायमनशमशेरको लेखनी उनले नजिकबाट अध्ययन गरेकी ग्रेटा भन्छिन्, ‘ध्रुवचन्द्र या डायमनशमशेरलाई नोबेल पुरस्कारको लागि सरकारी तवरबाटै पहल गर्नुपर्ने हो । तर साहित्यकारको लागि यहाँको सरकारबाट केही नहुने रहेछ ।’
भाषा, साहित्यको उन्नयनका लागि सरकारी प्रयास न्यून प्रायः रहेको उनको अनुभव छ ।

ग्रेटाको बुझाइमा नेपाली भाषा आफैंमा काव्यात्मक छ । नेपाली भाषा आफैंमा लालित्यले भरिएको छ । यसैले नेपाली सेरोफेरोका कविता मौलिक स्वादका हुन्छन् ।

आज भारतीय साहित्यले छुट्टै पहिचान बनाइसकेको छ । तर ग्रेटाको भनाइमा भारतीय लेखकसँग नेपाली लेखकले पनि सहजै प्रतिस्पर्धा गर्न सक्छन् । त्यसका लागि चाहिने आधार तयार हुन नसक्दा नेपाली साहित्य दक्षिण एसियामै पनि पछाडि परेको उनी बताउँछिन् ।

यद्यपि नेपाली भाषा आफैंमा काव्यात्मक रहेको उनको निचोड छ । ‘नेपाली भाषा आफैंमा लालित्यले भरिएको छ’ ग्रेटा भन्छिन्, ‘यसैले नेपाली सेरोफेरोका कविता मौलिक स्वादका हुन्छन् ।’

नेपाली कवितामाथि धारणा राखिरहँदा उनी नेपाली कविले अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्न नसकेको तीतो यथार्थ पनि छुटाउँदिनन् ।

साहित्य लेखनसँगै साहित्य–कर्ममा पनि ग्रेटाको योगदान छ । अन्तर्राष्ट्रिय लेखक संगठन ‘पेन’ नेपालमा स्थापना गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेकी छन् । नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय लेखक सम्मेलनहरूमा कार्यपत्र प्रस्तुत गरेकी छिन् । साउथ एसियन वुमन एशोसिएसनको अध्यक्ष भएर काम गरिसकेकी छन् ।

पत्रकार अतुल ठाकुर ग्रेटाको लेखकीय योगदान नहेर्दा नेपाली साहित्य अपूरो हुने बताउँछन् । कवि विप्लव प्रतीक भने ग्रेटालाई नेपाल कर्मथलो बनाएर विना अपेक्षा निरन्तर साधना गर्ने स्रष्टा मान्छन् । प्रतीक भन्छन्, ‘तामझाममा रमाउन थालेको साहित्य संसारले उनलाई कसरी लिन्छ थाहा छैन ! म भने उनको साधना र उनको कृतिको महिमा गाइरहन्छु ।’

लेखिका सगुना शाह नेपाली समाजले ग्रेटा राणाको सामाजिक र साहित्यिक योगदान बिर्सन नहुने बताउँछिन् । सगुना भन्छिन्, ‘बेलायतमा जन्मेर पनि नेपालकै अपनत्व ग्रहण गरेर उहाँले साहित्य रचना गर्नुभएको छ । नेपाली साहित्य र समाजमा उहाँले गरेका कामको मूल्यांकन हुनुपर्छ ।’

ग्रेटा पनि साहित्य लेखन केवल अर्थोपार्जनका लागि मात्रै नरहने मान्यता राख्छिन् । कोभिड काल र स्वास्थ्यका कारण अहिले उनी फुर्सदिला दिन बिताइरहेकी छिन् । यहीबेला आफ्ना अप्रकाशित कविताहरू जम्मा पारेर प्रकाशन गर्ने सोचमा छिन् ।

तस्वीरहरू : लेखक राणाबाट प्राप्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment