Comments Add Comment

सर्वोत्तमको आईपीओ ‘आइसब्रेक’ बन्छ

८ चैत, काठमाडौं । पछिल्लो समय आईपीओप्रति सर्वसाधारणको आकर्षण बढ्दो छ । अंकित मूल्य सय रुपैयाँमा आईपीओका लागि आवेदन दिनेको संख्या निकै ठूलो छ ।

गत साता सर्वोत्तम सिमेन्ट ६० लाख कित्ता साधारण सेयर (आईपीओ) बुक बिल्डिङमार्फत जारी गर्ने र प्रति कित्ता ७५० रुपैयाँ पर्नसक्ने भन्दै आशय मूल्य बाहिर ल्याएपनि यसबारे चासो बढेको छ ।

हुनत यसअघि पनि (प्रिमियम मूल्य) अंकित मूल्य भन्दा महंगो दरमा जारी नभएको होइन । शिवम् सिमेन्टले प्रिमियम मूल्य जोडेर प्रतिकित्ता ३ सय रुपैयाँमा आईपीओ जारी गरेको थियो ।

यसअघि जारी भएको प्रिमियम मूल्यसहितको आईपीओ र बुक बिल्डिङमार्फत जारी गर्न लागिएको आईपीकोमा के फरक छ त ? सर्वोत्तमको आईपीओ निष्कासनको जिम्मेवारी पाएको प्रमुख बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकाल लगभग उस्तै भएको बताउँछन् । प्रस्तुत छ, बुक बिल्डिङका विषयमा केन्द्रित रहेर सीईओ ढकालसँग गरिएको कुराकानीको सम्पादित अंश :

सर्वोत्तमले बुक बिल्डिङबाट जारी गर्न लागेको आईपीओको बिक्री प्रबन्धकको रुपमा के–कसरी काम गरिरहनु भएको छ ?

औपचारिक रुपमै समझादारी पत्रमा हस्ताक्षर भएपछि इश्यू मेनेजरको तर्फबाट हामीले गर्ने कामहरु अघि बढाएका छौं । हुन त यसका लागि हामीले समझादारी हुनु भन्दा पहिले पनि आवश्यक तयारी गरिरहेका थियौं । अहिले हामीले हामीले मूल्यांकनको काम गरिहेका छौं । एक किसिमको मूल्यांकनको काम पनि भइसकेको छ ।

कम्पनीले पनि आन्तरिक रुपमा मूल्यांकन गरेको छ । कम्पनीले बोलेको कुरा एकातिर छ, हामीले पनि केकति मूल्यांकन हुनसक्छ भनेर काम गरिरहेका छौं । यो आईपीओको मूल्यांकन कसरी गर्न सकिन्छ ? अन्तर्राष्ट्रिय अभ्यासहरु केकस्ता छन् ? भन्ने विषयमा पनि अध्ययन गरिरहेका छौँ ।

बुक बिल्डिङ बिधिबाट शेयर निष्काशन गर्दा बजारको भावना ( Markets Sentiments / Market Vaue derived) पनि देखिनु आवश्यक हुने हुनाले अन्तर्राष्ट्रिय अभ्यासमा के कस्ता विधि अवलम्वन भएका छन् सो सम्वन्धमा अध्ययन समेत गरिरहेका छौं ।

इश्यू म्यानेजरको रुपमा हामीमात्रै होइन, प्रभु क्यापिटल र  एनआईबीएल एस क्यापिटल समेत काे इश्यू म्यानेजरकाे रूपमा रहेका छन् । हामीबिच पनि एउटा किसिमको कन्ससेस हुनुपर्यो नि । पहिले हामी तीनै इश्यू म्यानेजर बसेर छलफल गर्छौ । त्यसपछि कम्पनीसँग पनि छलफल गर्छौ । अरु प्रक्रिया त्यसपछि अघि बढ्दै जान्छ ।

अहिले बुक विल्डिङकै विषयमा धेरै लगानीकर्ताहरुलाई जानकारी छैन । यो कसरी गणना गरिन्छ ?

नेपालमा अंकित मूल्य सय रुपैयाँ छ, भारतमा हो भने १० रुपैयाँ । अहिलेसम्म धेरै अंकित मूल्यमा नै आईपीओ आउथ्यो । अब आईपीओको मूल्य गणना गर्ने अर्को विधि भनेको प्रिमियम मूल्य हो । यस अघि प्रिमियमा जारी गरेका धेरै उदाहरण छन् ।

सबैभन्दा पहिला अरुण भ्याली हाइड्रोपावरले अंकित मूल्य भन्दा धेरै अर्थात प्रिमियम मूल्यमा आईपीओ जारी गर्यो । १९३ रुपैयाँको आसपासमा ल्याएको थियो ।

प्रिमियमका मूल्य गणनाका लागि नेपाल धितोपत्र बोर्डले एउटा छुट्टै शूत्र बनाएको छ । शिवम सिमेन्टले पनि प्रिमियममै जारी गर्यो । त्यतिबेला सेवोनवाट नियमावलीले नै तोकेको अन्तर्गतको विधि अनुरुपको मुल्यलाइ स्विकृती प्रदान गरेको थियो ।

बुक बिल्डिङ भनेको चाहिँ के हो भन्दा, धितोपत्र बोर्डमा सुचिकृत कम्पनीहरु जसलाई क्यूआईआई (क्वालीफाइड इन्स्टीच्युसनल इभेष्टर्स) भनिन्छ, यी कम्पनीलाई हामीले ४० प्रतिशत सेयर बिक्री गर्ने हो र ति कम्पनीहरु (जोसंग धितोपत्र बजारको यथेष्ट ज्ञान हुन्छ) ले मुल्य निर्धारणमा महत्वपुर्ण भुमिका खेल्छन् ।

जस्तो तपाईसँग एउटा डट पेन छ त्यो बिक्री गर्नु परो भने यसको मूल्य यति भनेर प्रस्ताव गर्नुहुन्छ । त्यहि पेनलाई कसैले धेरै मूल्य भन्लान, कसैले थोरै भन्लान । यस्तै गरी यहाँ आईपीओ जारी गर्ने कम्पनीले प्रचलित विधी अनुसार मुल्यांकन गरी आएको मूल्य भन्छ जुन अन्तिम मूल्य भने हुँदैन ।

अब ति क्यूआईआई कम्पनीहरुले निष्काशनकर्ता कम्पनी (निश्कासन तथा विक्री प्रवन्धक समेतको सहयोगमा) ले गरेको मुल्यांकन को गहन अध्ययन पश्चात सोहि मुल्य ठिक छ वा के कति कारणले सो मुल्य अधिक छ कारणसहिन पेश गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

जस्तो अहिले कम्पनीले ७ सय ५० रुपैयाँ भनेको छ भने क्यूआईआईले ६ सय रुपैयाँ वा ७५० रुपैयाँ भन्दा पनि धेरै भन्न सक्छन् । यो कारणले यति हुनुपर्छ भन्ने कुरा आधारसहित भन्छन् र सोहि अनुरुपको आशय मुल्य पेश गर्नेछन् ।

उनीहरुले भनेको मूल्यको विषयमा निष्काशनकर्ता कम्पनी र निश्कासन तथा बिक्री प्रवन्धकले आवश्यक छलफल गरी कायम भएको आधार मुल्यमा सिमा समेत कायम गर्छौ । त्यसपछिमात्रै हामी सेवोनमा दर्ता गर्न जान्छौं ।

भनेपछि मूल्य कसले तोक्यो त भन्दा बजारले तोक्यो । कम्पनीले यति हुनसक्छ भनेर मूल्य तोक्यो । त्यसमा त्यो ठिक हो कि होइन भन्ने कुरा बजारका सहभागीहरुले भन्ने भए ।

अनि के बजार भनेर ति ७४ कम्पनीलाई मात्रै मान्न सकिन्छ त ?

त्यसरी हेर्ने हो भने जम्मा १० वटा कम्पनीमात्रै पनि हुन सक्छन् । ७४ मध्येमा कम्तिमा १० वटा कम्पनी यहाँ सहभागी हुनुपर्छ । १० वटाले भाग लिएनन् भने त्यसले मान्यता पाउँदैन र साथै आसय मुल्यका लागी शतप्रतिशत शेयर बिक्री हुने अवस्था हुनुपर्ने समेत निर्देशिकामा स्पष्ट व्यवस्था रहेको छ ।

ति कम्पनीहरुले मूल्यांकन गरेपछि बल्ल हामी यस्तो यस्तो कारणले यति मूल्य हुनुपर्छ भनेर सेवोनमा जाने हो । क–कसले कति कति मूल्य भनेका छन् त्यो पनि हामीले हेरेर सबै सेवोनमा बुझाउँछौं ।

यो ७४ क्यूआईआईमा चाहिँ कुन कुन कम्पनी हुन्छन् ?

यहाँ तीनथरी कम्पनी देखिन्छन । एउटा– सूचीकृत कम्पनीहरु जस्तो ग्लवोबल आइएमई बैंक, कुमारी बैंक, रिलायन्स लाइफ इन्सुरेन्स कम्पनी छ, दोस्रो– एसेट्स म्यानेजमेन्ट कम्पनी, ग्लोबल आइएमई क्यापिटल, ग्लोवल आइएमइ समुन्नत योजना, तथा तेस्रो भनेको इन्भेष्टमेन्ट कम्पनी, जस्तै सायन इन्भेष्टमेन्ट कम्पनी, यसरी हेर्दा सबै प्रकारका कम्पनी धितोपत्रबजारमा लगानी गदैं आएका र सो सम्वन्धि ज्ञानमा विशिष्टता हासिल गरेका कम्पनीहरु देखिन्छ ।

जस्तो सिद्धार्थको तीन वटा फण्डहरु छन् भने उसको क्यापिटलसहित चार वटा भयो । सिद्धार्थ बैंक पाँच वटा भयो । यसरी ७४ वटा पुगेका छन् । सेवोनले बजार बुझेकैले हेर्नु पर्छ भनेको छ । मूल्य बजारले नै निर्धारण गर्ने हो । अब मूल्य कसरी मूल्यांकन हुन्छ त भने ।

जस्तो मैले आधार मुल्य रु. १,००० कायम भयो भनेदेखि यहाँ माथि १२ सय रुपैयाँ र तल ८ सय रुपैयाँको रेञ्ज हुन्छ । यसमा क्यूआईआईहरुले आशय मुल्य पेश गर्दा पेश गरेको मुल्य (मुल्य सिमाको अधिकतम भन्दा बढि भएमा अधिकतम सिमामा आवेदन गर्नुपर्ने) तथा संख्यामा नघट्ने गरी बोलकबोलमा भाग लिनेछन् ।

जुन मूल्यमा शतप्रतिशत बिक्छ, त्यो कट अफ मूल्य हुन्छ । जस्तो ११ सय रुपैयाँमा शतप्रतिशत बिक्यो भने सर्वसाधारणका लागि कति रुपैयाँमा बेच्ने त ? त्यो ११ सयको १० प्रतिशत घटाएर ९९० रुपैयाँमा सर्वसाधारणलाई जारी गर्नु पर्ने हुन्छ ।

बुकबिल्डङ भनेको बजारले नै मूल्य निर्धारण गर्ने हो । बजारमा लगानी गरिरहेका कम्पनीहरुमा कम्तिमा १० वटाले आवेदन दिन्छन् । त्यसबाट एउटा मूल्य आउँछ । तर यहाँ शतप्रतिशत नबिकेको अवस्थामा फरक हुन्छ ।

एक लाख कित्ता बेच्नु पर्ने थियो जसमा ९९ हजार ५ सय कित्ता १२ सयमै किन्छु भनेर आयो तर ५ सय कित्ता भने ८०१ मात्रै हाल्छु भन्ने आयो भने त्यसको मूल्य चाहिँ १२०० होइन ८०१ हुन्छ । अब यो ८०१ मा गयो भने यसको पनि १० प्रतिशत घटाएर ७२० रुपैयाँमा सर्वसाधारणका लागि जारी गर्नु पर्ने हुन्छ ।

कम्तिमा १० वटा चाहिन्छ भन्नुको कारण चाहिँ १/२ वटा कम्पनी त बिक्री प्रवन्धकको आफ्नै हुन्छ, आफैले हालेर मूल्य नतोकियोस भनेर हो । अझ यहाँ अर्को सीमा पनि छ । एउटा क्यूआईआईले बढीमा २० प्रतिशतमात्रै किन्न पाउँछ ।

यस अघि पनि केहि कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ जारी गरेका थिए । प्रिमियम र बुक बिल्डङमा चाहिँ के फरक छ ?

प्रिमियममा हुँदा धितोपत्र बोर्डले एउटा फर्मुला दिएको थियो, जस अन्तर्गत मूल्य निर्धारण हुन्थ्यो जुन आजको अवस्थामा अधिकतम ल्भतधयचतज को दुइ गुणा हो । यहाँ फर्मुला अनुरुप कम्पनीद्वारा एउटा निश्चित मूल्य तोकिने भयो र यसमा बजारका प्रतिनिधिको संलग्नता नहुने भयो ।

उता बुक बिल्डिङमा कम्पनी हेरेर मूल्य तलममाथि जान सक्ने भयो । क्यूआईआईहरुले पत्याए भने माथिल्लो मूल्यमा पनि आउने भयो, साथै मुल्यांकन विधि समेतको बजार मुल्यको भावना समेत हेर्नसक्ने भयो ।

अहिले बाहिर आएको एउटा मूल्य छ, धेरैमा सर्वोत्तमको आईपीओको मूल्य ७५० हो भन्ने पनि संदेश गइरहेको छ । यो मूल्य चाहिँ कसरी आएको हो ?

यो मूल्य भनेको कम्पनीले मेरो कम्पनीको शेयर मुल्य आजको दिनमा यति हुन सक्छ भनेको अवस्था होला । तपाइसँग कुनै सम्पत्ति छ भने त्यसलाई म एक करोड रुपैयाँ पाए बेच्छु नत्र बेच्दिन भन्न त पाइयो नि । वहाँहरुको केसमा पनि यो लागु हुन्छ ।

वहाँहरुले पनि त्यत्तिकै मूल्य निकाल्नुहुन्न । यहाँ आशय मूल्यमा चित्त बुझेन भने रोक्न सकिने अवस्था पनि हुन्छ । भनेको मूल्यमा नआउन पनि सक्छ ।

तर वहाँहरु कन्फिडेन्स हुनुहुन्छ, ७५० भनेको नर्मल प्राइस हो, बजारले किन्नु पर्छ भन्ने छ । बजारलाई दिने कन्फिडेन्सहरु पनि छन् । इपीएस राम्रै छ ।

प्रक्रियाहरु लामै रहेछन्, आईपीओ जारी हुन अझै धेरै समय लाग्ने रहेछ होइन ?

प्रक्रियाहरु भए पनि त्यस्तो धेरै लाग्दैन । हाम्रो हिसाबमा चालु आर्थिक वर्षमा सकिन्छ कि भन्ने हो । यो विषयमा हामी काम गरिरहेका छौं । अबको दुई तिन दिनभित्रमा हामी भ्यालूएसनको काम सिध्याउँछौ । यो सकिए पछि अन्य कामहरु अघि बढ्छन् ।

कसरी जान सकिन्छ, भन्ने विषयमा हामी पनि काम गरिरहेका छौं । अब यसमा नियामकको पनि भूमिका हुन्छ । नयाँ भएका कारण कामहरु गर्दै गर्नु पर्ने हुन्छ । इश्यू म्यानेजर त नियुक्त भइयो राति निदाइन्छ कि निदाइन्न भन्ने चिन्ता मलाई पनि छ ।

मूल्य अलि महंगो भयो कि जस्तो देखिन्छ, सबै बिक्री हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

कम्पनीले अपेक्षा गरेको मुल्य नआएमा निष्काशनको कार्य नै अघि नबढ्ला तर आशय मुल्यमा निश्कासनकर्ता कम्पनीले चित्त बुझाइसके पछि निश्कासन सम्पन्न हुने व्यवस्था निर्देशिकाले नै गरेको छ । बाहिर आएको मूल्य जुन छ त्यो कम्पनीले अपेक्षा गरेको मूल्य हो । हामीले नै पनि क्यालकुलेशन गरेर हेर्दा महंगो धेरै भन्ने लाग्दैन । अहिले शिवमकै सेयर मूल्य हेरौ ।

आजको दिनको ईपीएस कति छ ? यसको इपीएस कति छ ? अन्य सूचकहरु बजारको कति छ र यसको कति छ ? त्यो पनि हेर्न सकिन्छ । मैले अहिले आएको मूल्य जस्टिफाई गर्न खोजेको होइन । तर यो त्यस्तो धेरै होइन भन्ने लाग्छ । अहिले पैसा लिएर ऋण तिर्नका लागि भन्ने कुरा पनि आएको छ । त्यो कम्पनीको अवस्था कस्तो छ भनेर हेर्नु पर्छ ।

सेयर किन्ने भनेको आजको मूल्य हेरेरमात्रै होइन नि । त्यसको दीर्घकालिन असर कस्तो छ भनेर पनि हेरेर किन्ने हो । आज हालेर राख्ने हो, भोलि त राम्रो हुन्छ नि । कम्पनीको भविष्य हेर्नुपरो । अहिले पनि कम्पनी रजिष्टारमा दर्ता भएका धेरै कम्पनीहरु छन् तर नेप्सेमा सूचीकृत भएका कम्पनीहरु एकदमै कम छन् ।

सेवोनले बजारमा लागि खुला गर्दा पनि आउन सकेका छैनन् । अहिले यो पहिलो कम्पनी भएका कारण केहो केहो भन्ने कुरा छ । विस्तारै यो विषय प्रष्ट हुँदै जान्छ, अरु कम्पनीहरु पनि आउँछन् । मूल्यको कुरा बजारलाई छाडिदिनु पर्छ । हामीले पारदर्शीताको विषय चाहिँ हेर्नुपर्छ ।

नेपालको सन्दर्भमा बास्तबिक क्षेत्रका कम्पनीलाइ सुचिकृत गर्नका लागी बुक बिल्डिंग विधि आइसब्रेकर हुनेछ, यसले अन्य कम्पनीहरु बजारमा आउन इन्करेज हुनेछन् ।

यो सफल भएपछि अन्य कम्पनीहरु आउने भए तर हामीले पनि केहि चुनौतीहरु महशुस गरेका छौं । भोलि आउने मूल्य कति हुन्छ भन्ने छ । आउने भन्नाले सबै कम्पनीहरु बुक बिल्डिङमा आउने त होइन । बुक बिल्डिङमा आउँदा प्रतिशेयर नेटवर्थ १५० हुनै पर्छ । क्रेडिट रेटिङ पनि औसत भन्दा माथि हुनुपर्छ ।

कम्पनीले चाहेको मूल्य भन्दा तल आएमा आईपीओ निष्काशनबाटै पछि हट्ने सम्भावना पनि हुन्छ ?

त्यो सम्भावना त हुन्छ । तर यति धेरै खर्च गरे प्रक्रिया अघि बढाइसकेको हकमा त्यस्तो नहोला । तर यो सम्भावना भने हुन्छ । कुनै कम्पनीले मूल्य चित्त बुझेन भने पहिलो चरणमा नै निर्णय लिन सक्ला ।

मूल्य आएर सवोनमा गइसकेपछि भनेको अर्कै कुरा भयो । अब यहाँ समय पनि महत्वपूर्ण हुन्छ । कुनबेला कस्तो बजारको मनोवल हुन्छ भन्ने कुरा पनि हो । यसकारण उचित समय पनि चाहिन्छ ।

यो पनि पढ्नुहोस उच्च सेयर मूल्य भएका ५ कम्पनी : कति दिन्छन् लाभांश ? यो पनि पढ्नुहोस सेयर बजारलाई तरलता र ब्याजदरको त्रास यो पनि पढ्नुहोस सेयर बजारमा मौलाउँदो ‘इन्साइडर ट्रेडिङ’ यो पनि पढ्नुहोस सेयर ग्राफः मोटाएको कि सुन्निएको ? यो पनि पढ्नुहोस डिम्याट खाता भएका सबैले किन भर्दैनन् आईपीओ ? यो पनि पढ्नुहोस आईपीओमा झेल : सयौँको नाममा एकै व्यक्तिको आवेदन यो पनि पढ्नुहोस सेयर बजारमा प्रवेश चाहनेलाई टिप्स : के हो आईपीओ ? यो पनि पढ्नुहोस आईपीओ कसरी भर्ने ? जान्नुहोस् सरल तरिका यो पनि पढ्नुहोस के तपाईं सेयर किन्न चाहनुहुन्छ ? यस्तो छ दोस्रो बजारमा प्रवेशको प्रक्रिया

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

ट्रेन्डिङ

Advertisment