१८ कात्तिक, काठमाडौं । हेल्थ असिस्टेन्टहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग दरबन्दी संरचना, सिनियरिटी र जिम्मेवारी स्पष्ट पार्न माग गर्दै चरणबद्ध आन्दोलनको चेतावनी दिएका छन् ।
हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) को जिल्ला कार्यसमिति नवलपुरले मन्त्रालयलाई पठाएको पत्रमा समायोजन ऐन २०७५ पछि स्थानीय तह र स्वास्थ्य चौकीहरूमा सिनियर अहेव अधिकृत तथा जनस्वास्थ्य निरीक्षकबीचको सिनियरिटी, दरबन्दी तह र जिम्मेवारी विभाजनमा एकरूपता नभएको भन्दै स्वास्थ्यकर्मीहरू अन्योलमा परेको उल्लेख गरिएको छ ।
संघका अध्यक्ष अमिर सुवेदीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘मन्त्रालयले यथाशीघ्र स्पष्ट निर्देशन जारी नगरे देशभरिका स्वास्थ्यकर्मीहरूलाई अदालत धाउनुपर्ने अवस्था सिर्जना भएको छ, जसले सेवा प्रवाहमा गम्भीर असर परिरहेको छ ।’
यसअघि कावासोती नगरपालिका, गैंडाकोट नगरपालिकासहित विभिन्न स्थानीय तहमा पत्राचार गर्दा पनि मन्त्रालयबाट कुनै आधिकारिक प्रतिक्रिया नआएको संघको गुनासो छ।
यही मुद्दालाई लिएर बैतडीका जनस्वास्थ्य निरीक्षक विनोद भट्टले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गुनासो दर्ता गराए पनि हालसम्म जवाफ नआएको दाबी गरिएको छ ।
संघले नेपाल स्वास्थ्य सेवा ऐन, नियमावली र समायोजन ऐनका प्रावधानअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य गरी मन्त्रालयले स्पष्ट निर्देशन जारी गर्नुपर्ने माग गरेको छ ।
पत्रमा चेतावनी दिँदै भनिएको छ, ‘यदि मन्त्रालयले अब पनि सुनुवाइ नगरेमा देशभरका हेल्थ असिस्टेन्टहरू चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुनेछन् ।’
प्रतिक्रिया 4