Comments Add Comment

न्यु साउथ वेल्समा बाढी, नेपाली पनि प्रभावित

५० हजार आपतकालीन उद्धारक खटिए

बाढीले डुबेको नेपालीको रेष्टुरेन्ट

सिड्नी । न्यु साउथ वेल्स राज्यमा भारी वर्षापछि आएको बाढीले जनजीवन निकै प्रभावित भएको छ । शुक्रबारयता यहाँका नदीहरुमा वर्षाले पानी भरिँदा आसपासका बस्ती प्रभावित भएका हुन् ।

केही दिनदेखिको लगातार वर्षाले सिड्नी सहर र आसपासका बस्तीका सडकहरु जलमग्न भएका छन् । राज्य आपत्काल सेवाका अधिकारिहरुले प्रभावित इलाकाका बासिन्दाहरुलाई घरबाहिर ननिस्किन र आपतकालीन सेवाका सूचनाहरुमा चनाखो हुन सुझाव दिएका छन् ।

यहाँको जलवायु विभाग, प्रहरी र आपतकालीन सेवाका संयन्त्रहरु उच्च सतर्कताका साथ परिचालन भएका छन् ।

अविरल वर्षाका कारण सबैभन्दा बढी प्रभावित भएको पोर्ट मक्वारी क्षेत्रमा भौतिक संरचनाहरुमा ठूलो नोक्सानी भएको छ तर आपत्कालीन सेवाको उच्च सतर्कता र तत्काल उद्धार कार्यले कही पनि मानवीय क्षति भएको छैन ।

सिड्नीमा करिब ५० लाख मानिसलाई खानेपानी सेवा प्रदान गरिरहेको वारागम्बा बाँधमा शनिवार पानीको मात्रा बढी भएर बाध बाहिर बग्न थालेपछि उक्त बाँध आसपासका बस्तीहरुलाई शनिबार रातिदेखि आइतबार बिहानसम्म सतर्क पारिएको थियो ।

यहाँको हक्सबरी नदीमा बाढीको उच्च बहाव छ भने सिड्नीको पहाडी इलाकाका खोला र छहराहरु उर्लेका छन् । पश्चिम सिड्नीको पारामाटा र पश्चिमी भित्री सहर म्यारिकभिलमा सडक जलमग्न हुँदा यातायात प्रभावित भएको थियो । न्यु साउथ वेल्समा अझै केही दिन भारी पर्षा हुने पूर्वानुमान यहाको जलवायु विभागले गरेको छ ।

आइतबार बिहानैदेखि यहाँको पिक्टन इलाकामा आपतकालीन सूचनाका लागि सतर्क गरिएको छ र खतरा आइपुग्नु अघिनै बस्ती खाली गरिने बताइएको छ ।

शनिबार नै न्यु साउथ वेल्स कि प्रिमियर ग्ल्यादी बेजेरिक्लिनले जनताको जिउ धनको सुरक्षा गर्न राज्य सरकार र सम्बदद निकायहरु अहोरात्र खट्ने बताएकी थिइन् ।

अहिले न्यु साउथ वेल्सभर करिब ५० हजार आपतकालीन उद्धारकहरु खटेका छन् । छिमेकी कुइन्स्ल्यान्ड राज्यकी प्रिमियर अनेस्तासिया पलास्जुकले न्यु साउथ वेल्समा उद्धारका लागि राज्य आपत्काल सेवाका डुंगाहरु र स्वयमसेवक पठाइने बताएकी छिन् ।

नेपालीहरु प्रभावित

गत बिहीबारदेखि भारी वर्षा हुन थालेपछि न्यु साउथ वेल्सका वर्षा र बाढी प्रभावित क्षेत्रमा काम गर्ने, व्यवसाय गर्ने, र बसोबास गर्ने नेपालीहरु पनि प्रभावित भएका छन् । सबैभन्दा बढी प्रभावित पोर्ट मक्वारीमा बस्ने नेपाली भएका छन् । तीमध्ये एक हुन् झापाका प्रविन चौहान।

शनिबारदेखि टारी स्थित स्थानीय उद्धार केन्द्रमा सुरक्षित् बसिरहेका प्रविन चौहान पोर्ट मक्वारीमा रेस्टुरेन्ट संचालन गरिरहेका नेपाली हुन् ।

एकै स्थानमा दुईवटा रेस्टुरेन्ट संचालन गरेर दर्जन बढी नेपालीलाई रोजगारीसमेत दिइरहेका उनी शुक्रबारको बाढीले पोर्टमक्वारी क्षेत्र प्रभावित भएकाले आफैं सुरक्षित उद्धार केन्द्रमा बसेका छन् ।

अनलाइनखबर अस्ट्रेलियासँग टेलिफोन सम्पर्कमा आएका चौहानले भने- अहिले म व्यक्तिगत उद्धार केन्द्रमा सुरक्षित् छु तर व्यवसाय भने के भयो थाहा छैन । उनका अनुसार अहिले उनको परिवारका सदस्यहरुबीच भेट हुन सकेको छैन । वर्षाले यातायात, विद्युत र टेलिफोन बन्द भएकाले अझै तीन दिन सम्पर्क हुन कठिन हुने उनको अनुमान छ ।

प्रविनले भने – म टारीमा छु, छोरी ग्लोस्तरमा छिन् र श्रीमती माउन्ट जर्जमा छिन् । छोरीसँग टेलिफोन सम्पर्क भए पनि श्रीमतीसँग आइतबार मध्यानसम्म एक सहयोगीमार्फत फोन सम्पर्क हुने अपेक्षा गरेको छु ।

उनले वागावागामा अध्ययन गरिरहेको आफ्नो छोरासहित अस्ट्रेलिया र नेपालमा भएका आफन्तहरुलाई आफ्नो बारेमा चिन्ता नलिन अनुरोध गरेका छन् । ‘स्थिति सामान्य हुन केही दिन लाग्ला तर यहाँको आपतकालीन उद्धार सेवा भरपर्दो छ, कुनै चिन्ता लिनु पर्दैन,’ प्रविनले भने ।

पोर्ट मक्वारीमै रहेकी रामेछापकी जमुना चौलागाईले आफूहरु लगायत आसपासका ३० परिवार नेपाली वर्षा र बाढीबाट सुरक्षित् रहेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment