Comments Add Comment

रुपन्देहीको वसन्तपुरमा चार अर्बको आवास परियोजना

८ चैत, बुटवल । रुपन्देहीको वसन्तपुरमा बोधी होल्डिङ प्रालिले तीन सय घर बनाउने गरी हाउजिङ परियोजना सार्वजनिक गरेको छ । यो हालसम्म रुपन्देहीकै ठूलो हाउजिङ परियोजना हो ।

भैरहवाको देवकोटा चोकदेखि डेढ किलोमिटर पूर्व ओमसतिया गाउँपालिका–४ वसन्तपुरमा चार अर्ब रुपैयाँ लगानी गरी आधुनिक बस्ती निर्माण हुन थालेको हो । चार वर्षभित्रमा परियोजना सम्पन्न गर्ने गरी काम गरिरहेको प्रालिले ग्राहकले घर बुकिङ गरेको कम्तीमा एक वर्षभित्र उपलब्ध गराउने बताएको छ ।

पहिलो चरणमा पाँच बिघा क्षेत्रफलमा १०४ घर निर्माण हुनेछन् भने दोस्रो चरणमा ९ बिघा क्षेत्रफलमा १९६ घर निर्माण हुने प्रालिका अध्यक्ष जलेश्वर पाण्डेले बताए । एकीकृत बस्तीमा बाल उद्यान, हेल्थ क्लब, स्वीमिङ पुल, बास्केटबल कोर्ट, सामुदायिक भवन, ग्रोसरी सप, साउना तथा स्टीम बाथ, भूमिगत तार व्यवस्थापन, व्यवस्थित पार्किङ, सीसीटीभीसहितको २४ घण्टा सुरक्षा गार्ड सुविधा हुने पाण्डेले बताए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, मेडिकल कलेज, बेलहिया नाका लगायतका पूर्वाधार र सम्पदाका कारण रुपन्देहीमा एकीकृत आधुनिक बस्तीको सम्भावना देखेर परियोजना शुरु गरिएको प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रालिका निर्देशक प्रमोद यादवले बताए ।

बोधी होम्स परियोजना अन्तर्गत पहिलो समूहमा ११ देखि १३ धुर जग्गामा दुई हजार ३३३ स्क्वायर फिटको साढे दुई तलाको घर निर्माण गरिनेछ । जसलाई उपभोक्ताले एक करोड ६० लाख रुपैयाँ तिर्नुपर्नेछ । दोस्रो समूहमा १४ देखि १७ धुर क्षेत्रफलमा दुई हजार ६९७ स्क्वायर फिटका घर निर्माण गरिनेछ । जसलाई एक करोड ९० लाख रुपैयाँमा खरिद गर्न सकिनेछ ।

परियोजनाका लागि प्रालिले ग्लोबल आइएमई बैंकसँग सहकार्य गरी घर लिन चाहनेहरुलाई अधिकतम २० वर्षसम्मको फाइनान्स सुविधा उपलब्ध गराउनछ । १५ वटा घरको बुकिङ भइसकेको र अधिकांश काठमाडौंका बासिन्दाले बुकिङ गरेको कम्पनीले जनाएको छ ।

परियोजना अन्तर्गत बन्ने घरहरुको निर्माण कार्य सकिएर बिक्री भइसकेपछि सार्वजनिक स्थान तथा बस्तीका लागि निर्माण गरिएका पार्क तथा विभिन्न संरचनाहरु सोही बस्तीलाई हस्तान्तरण गरिने प्रालिले जनाएको छ । हाउजिङ कम्पनीमा रुपन्देही–४ का संघीय सांसद प्रमोद यादव, बैंकर जलेश्वर पाण्डे, चार्र्टर्ड एकाउन्टेन्ट दीपक पाण्डे र हेमकुमार काफ्ले, गैरआवासीय नेपाली छविलाल कुँवर र रविन्द्र कुँवर तथा दीनबन्धु पोखरेलको लगानी छ ।

यसअघि रुपन्देहीकै तिलोत्तमा नगरपालिकामा दुई अर्ब रुपैयाँको लागतमा १२३ वटा घर बनाउने लक्ष्यसहित लुम्बिनी अष्टदीप प्रालिले तिलोत्तमा होम्स परियोजना शुरु गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment