Comments Add Comment

स्वाद, चरित्र र वेद

श्रीमद्भगवद्‌गीताका अनुसार स्वच्छ र ताजा खानेकुराले तागत उपलब्ध गराउने गर्दछ । तन्तु–तन्तुहरूको शुद्धीकरण गर्दछ ।स्वच्छ र ताजा खानेकुराले स्वस्थ राख्ने हुँदा खुशी र सन्तुष्टि वृद्धिको आधार तयार गरिदिन्छ । मानिसको आयु वृद्धि गर्दछ । यस्ता पौष्टिक खानाहरू मीठो, रसिलो र स्वादिष्ट हुन्छन् । अर्कोतर्फ यस्ता खानेकुराहरू पनि छन्; जुन अधिक मात्रामा टर्रो, अमिलो, नुनिलो वा तीतो स्वादमा हुन्छन् । यस्ता खानाहरू केही मानिसका लागि प्रियमा पर्छन् । तर त्यस्ता खानाले स्वस्थ मानिसमा पीडा, कष्ट र रोग निम्त्याउन सक्दछ ।

खानाको महत्व यसको गुणवत्तामा पनि हुनेगर्छ । खाना मीठो, स्वादिलो र हेर्दामा लोभलाग्ने भएर मात्र हुँदैन । स्वास्थ्यका लागि ताजा खानाको महत्व छ । पकाएको तीन घण्टाभन्दा पछि खानाको स्वादमा फरक पर्छ । बासी खाना केही बिग्रिसकेको, सार तत्त्वले कमसलता पाइसकेको वा विघटित हुने अथवा अशुद्ध बन्ने गर्दछ ।

विशेष प्रकारको रुचि भएका मानिसहरू खानामा भन्दा आफ्नो रुचि वा स्वादमा केन्द्रित हुने हुँदा यस्ता खानाहरूको कमजोरी पक्षका बारेमा बेवास्ता गरिदिन्छन् ।आधुनिक विज्ञानले हालसम्मको विश्वव्यापी रूपमा स्वीकृत गरेको आधारभूत स्वादहरूमा गुलियो, नुनिलो, अमिलो, तीतो, उमामी वा मासुको जस्तो स्वाद पर्दछन् । आधुनिक विज्ञान पाँच प्रकारका स्वादमा खेलिरहेको भए पनि वेदान्त भने यसमा थप एक स्वाद ‘टर्रो र पीरो’ नजोडी खानाको औषधीय, पोषण र सार तत्त्वयुक्त समीकरण बुझ्न कठिन हुने मान्यता राख्छ ।

आधुनिक विज्ञानले भन्ने उमामी स्वाद अग्नि तत्त्वको प्रभाव अथवा पकाउने प्रक्रियापछि खानामा रहेका तत्त्वहरूसँग संयुक्त रूपमा तीतो, टर्रो र पीरो स्वादको मिलनमार्फत तयार हुन्छ ।आयुर्वेदको तर्कमा गहिरो वैज्ञानिक आधार रहेकाले आज युरोपियन युनियन उमामी स्वादलाई रियाक्सन फ्लेभरको स्वाद मान्न बाध्य भएको छ ।

आयुर्वेदको दाबी पुष्टि हुने गरी भर्खरै वैज्ञानिकहरूले फोक्सोमा टर्रो स्वाद पहिचान गर्ने ‘टेष्ट बड’ अर्थात् स्वाद पहिचान गर्ने कोपिलाहरू रहेको प्रमाणित गरेका छन् । क्याल्सियमको हल्का मेटालिक टर्रो–पीरो स्वादलाई पहिचान गर्ने कोपिलाहरू वास्तवमै शरीरका महत्त्वपूर्ण विन्दु रहेछन् । आयुर्वेदका अनुसार खाना पूर्ण रूपमा स्वादिष्ट र लाभदायक हुनको लागि यसका सबै ६ स्वाद मिलेको हुनुपर्दछ । फरक फरक स्वादले शरीरको फरक फरक अंगहरूको फरक कामलाई सम्पन्न गर्न सहयोग पुर्‍याउँछ ।

आयुर्वेदको अटल विश्वास के हो भने खाना नै प्रकृतिले व्यवस्था गरिदिएको सम्पूर्ण प्राणीहरूको औषधि हो । मानिसले आफूमा रहेको उत्कृष्ट विवेक प्रयोग गरेर र जनावर तथा अन्य जन्तुहरूले आफ्नो शारीरिक इन्द्रियहरूको तीक्ष्ण शक्तिको प्रयोग गरेर गुण–अवगुण तौलिएर आफ्नो खानालाई औषधिमा परिवर्तन गर्ने जिम्मेवारी आफैंले लिएका हुन्छन् ।

आयुर्वेदको उपचार पद्धतिमा तीतो–टर्रो स्वादले पित्त र कफ दोषलाई सन्तुलनमा राख्न मद्दत गर्छ । यसले शरीरको अंगले धेरै पानी ओगटेर राख्ने प्रवृत्तिलाई घटाउँछ । फुलेको अंगबीच थिचिएर बसेको कलेजोलाई आफ्नो स्थान प्राप्त गर्न सहयोग गर्दछ । तीतो–टर्रो खाना तथा पूरक खाद्यमार्फत शरीरमा पुर्‍याउँदा कलेजोको लागि ‘टनिक’ उपलब्ध हुने, रगत सफा हुने तथा शरीरभर चिलाउने, जोर्नी–कुहिनो दुख्ने समस्याको समाधान गर्न सहयोग पुर्‍याउन सकिने विश्वास आयुर्वेदको छ ।

गुलियो खाना सम्झँदा जिब्रो रसाए पनि यसको ठिक्क मात्रामा सेवन नगर्ने हो भने शरीरको मोटोपन बढ्नेदेखि चिनी रोगसम्म लाग्ने जोखिम रहन्छ । चिनी रोगको उचित उपचार भएन भने यो मुटु, मिर्गौला, आँखा, छाला र मस्तिष्क रोग आदिको कारक बन्छ । समयमै निदान गर्न सकिएन भने मिर्गौला बिग्रने, हृदयघात, पक्षघात आदिबाट मृत्युसम्म हुने जोखिम हुन्छ ।

चिनी रोगको चरणमा पुगेको मानिसलाई स्वस्थ बनाउन तीतो–टर्रो खानाकै सहायताको जरूरी पर्छ । त्यसैले त करेला, मेथीको दाना, घिउकुमारी, नीमको धूलो, हरियो चिया जस्ता तीता पदार्थहरू बेसार, अदुवा, हर्रो, बर्रो, अमला, दालचिनी, कागती आदिसँग दिएर चिनी रोगको उपचार सम्भव बनेको छ । आवश्यकता भन्दा बढी तीतो–टर्रो खानाले ग्याँस पैदा गर्ने र कब्जियत निम्त्याउने गर्छ ।

 

वेदको अवधारणामा जबसम्म मानिसको चेतना आफ्नो मूल प्रकृतिमा फर्काउन सकिंदैन तबसम्म मानिस सन्तुष्ट बन्न सक्दैन । आफू को हो र आफ्नो जीवनको उद्देश्य के हो ? भन्ने अनुभूतिबिना मानिसमा मानवताले वास गर्न सक्दैन ।

तीतो–टर्रो स्वादले शरीरको खाली भाग र रगतमा अक्सिजनको मात्रा बढाउन सहयोग गर्दछ । टर्रो स्वादको खाद्यवस्तुले सबै स्वादको खानाले दिने भन्दा उत्कृष्ट हल्कापन र जीवन्त शक्ति दिने विश्वास आयुर्वेदको छ । कडा तीतो–टर्रो स्वादका खानाहरूले शरीरबाट विषाक्त पदार्थ फाल्ने ‘डिटोक्सिफाइ’ प्रभावयुक्त प्रमाणित भएको छ ।

शरीरको संरचना निर्माण गर्ने र जीर्ण तन्तुहरू प्रतिस्थापन गर्ने, निरन्तर सञ्चालन हुने क्रममा शरीरका कोषिकाहरूको तहमा निस्कने फोहोरलाई समेत तीतो–टर्रो स्वादका खानाले धेरै हानिकारक प्रकृतिको हुनबाट जोगाउँछ ।टर्रो पेय र खानाले भावनात्मक रूपमा मनमोहक र सम्मोहक भावना विकास गर्न सहयोग गर्ने प्रमाणित भएको छ । यसले अभद्र भावनाहरू छोटो समयका लागि भए पनि मनबाट मुक्त गरिदिने गर्छ । यसले मनोवैज्ञानिक र मानसिक शुद्धीकरणमा सहयोग पुर्‍याउने आयुर्वेदिक अवधारणाले समेत पुष्टि गरेको छ ।

पछिल्लो समय कतिपयले नजिकका आफन्त, मन पराएका मानिससँग क्याफेतिर टर्रो कफी र एक्सप्रेसो पिउने गरेको देखिन्छ । क्याफेहरूमा टर्रो कफी पिउन बारम्बार हुने ‘डेटिङ’ प्रख्यात मात्र नभएर प्रभावकारी बनिरहेको देखिन्छ । यसले पनि टर्रो खानाबारे वेदले गरेको दाबी यथार्थ मात्र नभएर व्यावहारिक तहमा वैज्ञानिक समेत भएको प्रमाणित भएको छ ।

चिया, चकलेट, कोलालगायतका धेरै टर्रो पेय पदार्थको आज संसारभर ठूलो माग छ । यसको बिक्री–वितरण उच्च हुनुले पनि टर्रो स्वादको भूमिका र महत्त्वबारे धेरै कोट्याइरहनु जरूरी नहोला । मानिस मूलतः खानाबाट निर्मित प्राणी हो । तपाईं जे खानुहुन्छ त्यसैबाट तपाईंको शरीरको अवस्था निर्माण हुन्छ । तसर्थ स्वाद केवल खानामा मात्र नभएर मानिसको निजी स्वभाव र सम्बन्धमा समेत कायम हुने गर्दछ ।

दुई पक्ष वा व्यक्तिबीच विकास हुँदै गएको तिक्ततापूर्ण अवस्था निम्त्याउन मुख्य भूमिका खेल्ने तत्त्वहरूको पहिचान गर्न उनीहरूबीच विकास हुँदै गएको तीतो–टर्रोपनको भावनात्मक प्रकृतिको पहिचान अनिवार्य हुन्छ । मानिसमा मुख्यतया ६ वटा आधारभूत मानवीय भावनाहरू हुने गर्दछन्— आश्चर्य, घृणा, खुशी, उदासी, क्रोध र डर ।

तीतो–टर्रोपनको बारेमा नजिकबाट विश्लेषण गर्दा उल्लिखित ६ वटा आधारभूत भावनामध्ये कुनैमा पनि सीमित रहेको भेटिंदैन । कटुता भावनात्मक रूपमा एकले अर्कोबाट गरेको अपेक्षाको पूर्ति नहुनुको प्रतिफलले पैदा गरेको भावनाहरूको जटिल मिश्रणको स्वरुपमा रहने गर्छ ।

विगतमा आफूमाथि लगाइएका लाञ्छना, बेइज्जती, अन्याय, खराब व्यवहार आदि जब मानिसले बिर्सिन सक्दैन तब उसमा प्राकृतिक रूपमा विकसित भएको क्रोध, कटु अनुभव, गहिरो पीडा, घृणा आदिको अप्रिय तीखो स्वादका कारण मानिसमा मनोवैज्ञानिक नैराश्यता पैदा हुन्छ ।शास्त्रका अनुसार जब मानिसको लुकाउनुपर्ने कुनै कुरा रहँदैन तब ऊ प्रष्ट बोल्न र प्रतिवादमा उत्रन सक्दछ । प्रष्ट व्यवहार गर्ने मानिस खरो स्वभावको हुन्छ । तर कुण्ठाग्रस्त रहेर तीतो–टर्रो प्रकृतिको बन्ने सम्भावना निकै कम रहन्छ ।

तीतो–टर्रो खानाले ओखतीको काम गर्दछ ।मनोवैज्ञानिक नैराश्यताले जब कुनै हद पार गरेर मनोवैज्ञानिक तिक्तताको स्तरमा पुग्दछ तब मानिसले तीतो–टर्रो कुण्ठाग्रस्त चरित्र ग्रहण गरेको भेटिन्छ । ऊ आफ्नो परिवार, छर–छिमेक र कार्यालयका सहकर्मीहरूका लागि समेत विषाक्त वातावरण पैदा गर्ने स्रोतव्यक्ति बन्दछ ।

जसलाई अंग्रेजीमा ‘टक्सिक पिपुल’ र त्यस्तो व्यक्तिसँगको सम्बन्धलाई ‘टक्सिक रिलेसन’ भनेको भेटिन्छ । जसलाई निकै थोरै मात्रामा ओखतीको चरित्र बोक्ने पदार्थ अत्यन्त कडा मात्रामा विषको रूपमा परिवर्तन भएको चारित्रिक अवस्थाको रूपमा लिंदा हुन्छ । टक्सिक स्ट्रेसबाट सबैभन्दा धेरै हानि विषाक्त तनावको स्थितिमा रहेको व्यक्ति स्वयंलाई हुने गर्दछ । किनकि व्यक्तिको चरित्र टक्सिक चरित्रमा परिवर्तन हुने अवस्थासम्म पुग्दै गर्दा ऊ आफैं मनोवैज्ञानिक रूपमा ‘टक्सिक स्ट्रेस’ को चरणमा पुगिसकेको हुन्छ ।

यथार्थमा ‘डिमेन्सिया’ जस्ता मानसिक रोग जसमा आफू अस्वस्थ नरहेको, आफू मानसिक बिमारी हुनै नसक्ने जिकिर गर्दछ । बरु आफूलाई मानसिक बिरामी भए÷नभएको यकिन गर्न डाक्टरको सल्लाह लिन सुझाव दिनेहरू नै मानसिक बिरामी रहेको निष्कर्षमा पुग्ने जस्ता लक्षण देखिने व्यक्ति ‘टक्सिक स्ट्रेस’ ग्रस्त ‘क्रोनिक मनोवैज्ञानिक बिमार’को शिकार बन्ने जोखिम रहन्छ ।

टक्सिक पिपलको सबैभन्दा पहिलो शिकार उसको परिवार हुन्छ । त्यसपछि उसको कार्यालयका सहकर्मी, आफन्त, छिमेक र टोल । समाज विकासको क्रममा तीव्र गतिमा अघि बढेसँगै समाजको उज्ज्वल भविष्यको मूल आधारशिलाको रूपमा समाजमा रहेका युवा पुस्ताको मनोवैज्ञानिक स्वस्थ अवस्थालाई लिनुपर्ने बाध्यता पैदा भएको छ ।

तनाव कसरी पैदा हुन्छ, मस्तिष्क र आचरणमा नकारात्मक परिवर्तन पार्दै तनावले कसरी दैनिक गतिविधिमा प्रभाव पार्दछ भन्ने विषयमा गरिएको जीव विज्ञानको व्यापक अनुसन्धानले लामो समयसम्म अत्यधिक धेरै तनावको प्रक्रियाबाट गुज्रिएका मानिस ‘टक्सिक स्ट्रेस’ को मनोवैज्ञानिक हालतमा पुगेको देखाउँदछ । टक्सिक स्ट्रेसग्रस्त व्यक्तिलाई उनीहरूको टक्सिक बानी–व्यहोरा जीवनभर उनीहरूको आफ्नै शिक्षा, जीवनको सफलता, शान्त जीवनयापन, शालीन व्यवहार र स्वस्थ जीवन शैलीको लागि हानि पुर्‍याउने कारक बनिरहेको देखाउँछ ।

व्यक्तिमा विषाक्त तनावको प्रतिक्रिया देखा पर्नुमा उसको बच्चा अवस्थामा बारम्बार लामो समयसम्म दुव्र्यवहार जस्ता समस्याको सामना गर्नुपर्ने अवस्था जिम्मेवार हुनसक्छ । जस्तैः शारीरिक वा भावनात्मक दुव्र्यवहार, दीर्घकालीन उपेक्षा, आफूलाई हेरचाह गर्ने व्यक्तिबाट भोगेको दुव्र्यवहार, लागूपदार्थको दुव्र्यवहार आदि हुनसक्छ । त्यो बाहेक मानिसमा विकास हुने डिप्रेसन, एन्जाइटी वा डिमेन्सिया जस्ता मानसिक रोग, हिंसाको जोखिममा रहनुपर्ने अवस्था, अभिभावकको सहयोग प्राप्ति विना थोपरिएको पारिवारिक वा निजी आर्थिक कठिनाइको बोझ आदिबाट समेत मानिस विषाक्त तनावको स्थितिसम्म पुगेको भेटिन्छ ।

मानिसले लामो समय भोग्ने नियमित तनावले मस्तिष्कको संरचनागत विकासको आधारशिलामा नै खलबल पुर्‍याउने गर्दछ । संवेदनशील अंग र प्रणालीहरू जोड्ने न्युरोनको मिहिन संरचना निर्माण र सन्तुलित विकासमा अवरोध सिर्जना गरिदिन्छ ।असन्तुलित मिहिन संरचनाहरूले नियमित रूपमा दिमागमा तनाव सम्बन्धी ‘इम्पल्स’ हरू पठाउने काम गर्दछ । न्युरोनमार्फत प्राप्त सूचनाको आधारमा शरीरले आफ्नो उपचार आफैंले गर्ने स्वःहिलिङ कार्यको शुरूआत, कार्य सम्पन्न र सो प्रक्रियाको अन्त्य गर्ने गर्दछ ।

शरीरले आफ्नो उपचार आफैंले गर्ने स्वःहिलिङ कार्य निर्धारित समयभित्र पूरा गर्न नसक्दा नियमित तनावको कच–कच दिने इम्पल्सहरूबाट दिमागको अधिक क्षति हुने सम्भावना रोक्न दिमागमा पुग्ने तनाव–सम्बन्धका इम्पल्सहरू नै बेवास्ता गर्ने क्षमताको विकास गर्दछ ।तनाव सम्बन्धका इम्पल्सहरू नियमित बेवास्ता गर्ने प्रक्रिया लामो समय जारी रहँदा, जस्तै बच्चा अवस्थाबाट शुरू भएको हो भने तन्नेरी अवस्थामा पुग्दै गर्दा प्रतिक्रिया स्वरूप संज्ञानात्मक (कग्नेटिव) कुशलता गुम्ने स्थिति आइलाग्न सक्छ ।

आज विज्ञानले विषाक्त तनावको स्थितिमा पुगेको व्यक्तिसँग कसरी व्यवहार गर्ने ताकि आफू सो व्यक्तिको सम्पर्कबाट टाढा रहन र सम्भावित क्षतिबाट बच्न सकियोस् भनेर उपायहरूको निक्र्योल गर्न सकेको छ । यो विधाको उपचारात्मक प्रविधिमा खासै उत्साहवद्र्धक आविष्कार गर्न नसकिरहेको अवस्थामा विषाक्त तनावयुक्त व्यक्ति पैदा हुनसक्ने मूल कारकमै निदानको लागि जोड दिने बाटो विज्ञानले समेत अवलम्बन गरेको भेटिन्छ । जुन बाटो विज्ञान भन्ने शब्द मानिसको चेतनामा बस्नु भन्दा पहिले नै अस्तित्वमा रहेको वेदमा आधारित अयुर्वेदको अवधारणामा आधारित देखिन्छ ।

वेदको अवधारणामा जबसम्म मानिसको चेतना आफ्नो मूल प्रकृतिमा फर्काउन सकिंदैन तबसम्म मानिस सन्तुष्ट बन्न सक्दैन । आफू को हो र आफ्नो जीवनको उद्देश्य के हो ? भन्ने अनुभूति विना मानिसमा मानवताले वास गर्न सक्दैन । एक शानदार विश्वसनीय क्षमता, रचनात्मक मस्तिष्कका साथ म अस्तित्वमा छु भन्ने अनुभूति गर्न सक्दा मानिसले आफ्नो मनोवैज्ञानिक उपचार आफैंले गर्न सक्दछ । यस्तो अनुभूति गर्न नसक्दा मानिस मूलतः आफ्नो प्रदूषित चेतनाले पैदा गर्ने क्षणिक उन्मुक्ति मिल्ने फोहोरी भावनाको आहालमा डुब्न पुग्छ । विषाक्त तनावग्रस्त बन्छ । विषाक्त तनावले पहिले आफू, त्यसपछि आफ्नो आफन्त, छिमेक, टोल र अन्ततः पृथ्वीकै भारको रूपमा आफैंले आफूलाई विकास गर्न पुग्छ ।

विषाक्त तनावको समस्यामा आजसम्म एउटै मात्र उपचार भेटिएको छ–

आफ्नो चेतनाको उपयोग गर्ने ।
आफ्नो जीवनको सारसँग परिचित हुने ।
आफ्नो मस्तिष्कको अपार शक्तिको उपयोग गर्ने ।
शुरूमा ओखतीहरू खाएर नियन्त्रित बन्ने ।
नियन्त्रित अवस्थामा योग, मेडिटेसन र सकारात्मक सोचमार्फत आफ्नो चेतनालाई आफ्नो मूल प्रकृतिमा फर्काउने ।
आफूमा रहेको ‘सुपेरियर कम्प्लेक्सन’ हटाउने ।
आफ्नो खराबी पक्ष पहिचान गरी सच्याउने ।
आफ्ना आफन्त र सम्पर्कमा रहेकाहरूसँग भएको असल पक्षको खोजी गर्ने ।
आफूलाई मनोवैज्ञानिक रूपमा सुरक्षित महसूस गराउने ।

(क्यानडा निवासी लेखक खाद्य तथा औषधि विज्ञ हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment