+
एनपीएल २०२५ :

करणको ब्याटिङ र स्पीनरको जादुमा काठमान्डुले फर्काएको लय

२०८२ मंसिर  ९ गते २२:१३ २०८२ मंसिर ९ गते २२:१३

कप्तान करण केसीको फिनिसिङ मद्दतमा औसत योगफल खडा गरेको काठमान्डुका लागि स्पीन बलरहरू चम्किँदा उक्त योगफल डिफेन्ड नै भयो र काठमान्डुले दोस्रो जित हात पार्‍यो ।

करणको ब्याटिङ र स्पीनरको जादुमा काठमान्डुले फर्काएको लय

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमान्डु गोर्खाजले चौथो खेलमा दोस्रो जित हासिल गर्दै ४ खेलमा २ जितसहित ४ अंक बनाएको छ।
  • कप्तान करण केसीले ११ बलमा ३४ रन नटआउट खेल्दै प्लेयर अफ द म्याच घोषित हुनुभयो।
  • काठमान्डुका स्पीनरहरूले १० विकेटमध्ये ६ विकेट लिएर लुम्बिनीलाई १५७ रनमा अलआउट गराए।

९ मंसिर, काठमाडौं । पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर सुखद सुरुवात गरेको अनि त्यसपछि लय गुमाएर लगातार दुई खेल हारेको काठमान्डु गोर्खाजले अन्तत: चौथो खेलमा आएर दोस्रो जित हासिल गरेको छ ।

कप्तान करण केसीको फिनिसिङ मद्दतमा औसत योगफल खडा गरेको काठमान्डुका लागि स्पीन बलरहरू चम्किँदा उक्त योगफल डिफेन्ड नै भयो र काठमान्डुले दोस्रो जित हात पार्‍यो । यो जितपछि काठमान्डुले लगातार दुई हारपछि ‘बाउन्स ब्याक’ गर्दै लयमा फर्किएको जनाउ दिएको छ ।

लुम्बिनीले भने दोस्रो हार बेहोर्‍यो । आजको जितपछि काठमान्डुको ४ खेलमा २ जितसहित ४ अंक भएको छ भने तेस्रो स्थानमा यथावत् छ । लुम्बिनीले ३ खेल खेल्दा दोस्रो हार बेहोरेको छ र २ अंकमा छ ।

काठमान्डुलाई राम्रो योगफलमा पुर्‍याउन फिनिसरको भूमिका खेलेका करण केसी ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले बलिङमा पनि एक विकेट लिएका थिए ।

पछिल्ला २ खेलमा नेपाली खेलाडी नै प्लेयर अफ द म्याच भइरहेकामा आजको सहित लगातार तेस्रो खेलमा नेपाली खेलाडीहरू चम्किएका छन् ।

करणको ब्याटबाट विस्फोट

ब्याटिङका लागि समेत परिचित करण केसीले आवश्यक पर्दा टिमका लागि क्यामिओ पारी खेल्दै फिनिसिङ दिलाउन सक्छन् । आजको खेलमा पनि उनले टिमलाई कमजोर अवस्थाबाट एकाएक बलियो अवस्थामा पुर्‍याइदिए ।

पहिले ब्याटिङ गरेको काठमान्डु १८ ओभरमा १२०-७ को अवस्थामा रहेको थियो । १९औं ओभर लिएर लुम्बिनीका बलर रुबेन ट्रम्पलमन आएका थिए, जसले ३ ओभरमा १३ रन मात्र दिएका थिए ।

करणले उक्त ओभरमा ट्रम्पलमनलाई ४ छक्का र १ चौका प्रहार गर्दा कूल ३१ रन आयो । यही ओभरमा काठमान्डुले १५० रनको योगफल पनि कटायो । त्यही नै थियो त्यो ओभर जहाँबाट काठमान्डुले खेलमा मोमेन्टम प्राप्त गर्‍यो ।

खेलपछि कुरा गर्दै काठमान्डुका ब्याटर आकाश त्रिपाठीले करणको ब्याटिङबाटै खेलमा मोमेन्टम प्राप्त गरेको उल्लेख गरे । ‘आज फिनिस राम्रो भएको थियो, त्यही मोमेन्टम बलिङमा पनि क्यारी फ।वार्ड भयो’ आकाशले भने, ‘सुरुवातमा विकेट अलिकति चुनौतीपूर्ण थियो, १५० जतिको स्कोर डिफेन्ड गर्न सक्छौं भन्ने थियो।’

‘हाम्रो लोअर अर्डर पनि राम्रो छ, करण दाईले राम्रो खेल्नुभयो, उहाँको ब्याटबाट रन बन्यो अनि सजिलो भयो’ उनले थपे, ‘करण दाईले चाहिने बेलामा ब्याट र बल दुवैबाट प्रदर्शन गर्न सक्नुहुन्छ, आज पनि त्यस्तै भयो।’

१९औं ओभरको पहिलो बलमा करणले ठुलो शट खेलेका थिए । बल मिडविकेटको दिशामा धेरै माथि उठेर दूरी पनि प्राप्त गर्दा छक्का भएको थियो । त्यसपछि नो बल भयो जसमा चौका पनि आयो । फ्री हिटमा करणले डिप कभरमा छक्का प्रहार गरे । लगत्तै अर्को बलमा सिधा अगाडि छक्का प्रहार गरे।  अन्तिम बलमा लङअनमा छक्का हिर्काए । उनले ट्रम्पलमनको बलिङ फिगर नै ध्वस्त बनाइदिए । करण ११ बलमा ३४ रनमा नटआउट रहे ।

यसपछि अन्तिम ओभरमा ६ रन जोड्दै काठमान्डुले १५७ रनको योगफल खडा गरेको थियो । उक्त योगफल पछिल्लो समय टियूमा डिफेन्ड गर्न सकिने नै देखिएको थियो । बलरहरूले गरे पनि ।

स्पीनर फेरि चम्किए

टीयू क्रिकेट रंगशालामा पछिल्ला खेलहरूमा बलिङ सहयोगी कन्डिशन देखिएको छ । १३५, १३९, १४७ जस्ता योगफलहरू डिफेन्ड भइरहेका छन् । आजको खेलमा पनि त्यस्तै देखियो ।

१५७ रनको योगफल खडा भएपछि काठमान्डुका बलरहरूको मनोबल उच्च भइसकेको थियो । बलिङमा पनि स्पीनरहरू आजको खेलमा धेरै चम्किए । काठमान्डुले लिएका १० विकेटमध्ये ६ विकेट स्पीनरकै नाममा थिए ।

कप्तान करण केसीले सुरुवाती ओभरमै १८ रन बेहोरेपछि दोस्रो ओभरदेखि स्पीनर लगाएका थिए । स्पीनरले लगत्तै प्रभाव पारे । मिलिन्द कुमारले सन्दीप जोरालाई आउट गरे भने आफ्नो दोस्रो एवं खेलको चौथो ओभरमा डार्शी शर्टलाई पनि आउट गरे ।

लगत्तै अर्को ओभरमा साहब आलमले अफगान ब्याटर गुल्बादिन नाइबलाई आउट गरे भने आठौं ओभरमा जेरार्ड एरासमसले कप्तान रोहित पौडेललाई आउट गरेपछि लुम्बिनी १० ओभर समाप्त हुँदा ६८-४ को अवस्थामा थियो । त्यहाँबाट लुम्बिनी खेलमा फर्कन सकेन ।

११औं ओभरको चौथो बलमा सन्तोष यादवले जेजे स्मिथलाई पनि आउट गरे । त्यही ओभरको अन्तिम बलमा सुमित महर्जन रनआउट अनि त्यसपछिको जेरार्ड एरासमसको ओभरमा रुबेन ट्रम्पलमन आउट भएपछि लुम्बिनी चाँडै नै अलआउट हुने अवस्थामा पुगेको थियो ।

शेर मल्लले अन्त्यतिर लगातार ३ छक्का प्रहार गर्दै आशा जगाएपनि उनी रनआउट भएपछि लुम्बिनीको सम्भावना सकिएको थियो । यसरी काठमान्डुका स्पीनरले सुरुवातदेखि नै विकेट लिँदै लुम्बिनीलाई दबाबमा राखेका थिए ।

ब्याटिङमा चुकेको लुम्बिनी

काठमान्डुका बलरहरूको राम्रो प्रदर्शन एकतर्फ हुँदा अर्कोतर्फ लुम्बिनीका ब्याटरहरूले पनि शट सेलेक्सनमा ध्यान दिएनन् । डार्शी शर्टले हल्का हातले कभरलाई सजिलो क्याच दिएका थिए ।

गुल्बादिन नाइबले राम्रो टचमा देखिइरहँदा पनि रिस्क लिएर फिल्डरकै हातमा क्याच दिनेगरी लङअफमा शट खेलेका थिए । जेजे स्मिथले पनि पोइन्ट फिल्डरकै हातमा क्याच दिए ।

कप्तान रोहित पौडेलले रिभर्स खेल्ने चक्करमा विकेट गुमाए । यी सबै शटहरू आवश्यक थिएनन् । केही शटहरू राम्रो हुँदाहुँदै पनि फिल्डरको हातमा गएको थियो ।

खेलपछि लुम्बिनीका शेर मल्लले पनि ब्याटिङमा केही खराब शटहरूका कारण चुकेको बताए । ‘चेज गर्नुपर्ने थियो, केही सफ्ट डिसमिसलहरू भए अनि चाँडै विकेट गुमाउन पुग्यौं’ उनले भने ।

एनपीएल एनपीएल क्रिकेट एनपीएल २०२५
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय