Comments Add Comment

१६ महिनादेखि नाका नखुल्दा उत्पादित गलैंचा घरमै थन्किए

फाइल तस्वीर

९ चैत, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा उत्पादित गलैंचा १६ महिनादेखि बिक्री भएको छैन । कोरोना महामारीका कारण गत वर्षको चैतमा लकडाउन लगाइएपछि गलैंचाको व्यापार हुन नसकेको हो । ओलाङचुङ्गोलामा उत्पादन भएको गलैंचा चीनका बजारमा खपत हुँदै आएको छ ।

यस क्षेत्रका स्थानीयवासीको प्रमुख पेशाको रुपमा गलैँचा उत्पादन रहेको छ । समुन्द्र सतहदेखि तीन हजार २ सय मिटर उचाइमा रहेको ओलाङचुङ्गोलामा हिमाली क्षेत्र भएकाले खेतीपाती हुँदैन । यहाँका बासिन्दाले पशु र गलैंचा उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

हिमाली बस्ती ओलाङचुङ्गोला, याङ्मा, घुन्सा र फले क्षेत्रका समुदायको पुख्र्यौली पेशाका रुपमा प्रत्येक घरपरिवारमा गलैंचा बुन्ने काम गर्दै आएको फक्ताङलुङ–६ टाँसीका तेञ्जिी शेर्पाले बताए ।

लामो समयसम्म ओलाङचुङ्गोलाको टिप्ताला नाका खुल्न नसक्दा स्थानीय मर्कामा परेका छन् । नाका बन्द हँुदा १६ महिनादेखि उत्पादन गरेको गलैंचा घरमै थन्क्याएर राख्नुपरेको स्थानीय तेञ्जिङ वालुङको गुनासो छ ।

‘लामो समयसम्म पनि नाका खुल्न सकेन । घरमा उत्पादन गरेको गलैंचा सदरमुकाम फुङलिङ बजारमा लगिएर बिक्री ग¥यो भने लागत नै उठाउन मुस्किल पर्दछ,’ उनले भने ।

लकडाउनका समयमा बुनेको ५० थान गलैंचा घरमै थन्काएर राखेको लामा भुजुङ शेर्पाले बताए । एउटा गलैंचाको मूल्य १५ हजारदेखि २७ हजारसम्ममा चीनमा बिक्री हुने उनले बताए । सरदर हिसाब गर्ने हो भने नौ लाख ५० हजार रुपैयाँ बराबरको गलैंचा घरमै थन्क्याइएको शेर्पाको भनाइ छ ।

नाका नखुल्दा गलैंचा बिक्री हुन नसकेर ओलाङचुङ्गोलामा प्रत्येक घरमा सरदर ३० थान गलैंचा थन्किएको फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए ।
‘ओलाङचुङ्गोलाका प्रमुख आयस्रोत गलैँचा हो । त्यही गलैँचा १६ महिनादेखि घरमै थन्क्याएर बस्नुपरेको छ,’ उनले भने । आफूले उत्पादन गरेको गलैंचा बिक्री हुन नसकेपछि दैनिक जीविकोपार्जन गर्न समस्या भएको भोटेले बताए ।

आलाङचुङ्गोलाको टिप्ताला नाका हुँदै निर्यात हुने नेपाली उत्पादनमा एक ओलाङचुङ्गोलामा उत्पादन भएको गलैँचा पनि भएको व्यापारी तावा च्युङदाक शेर्पा बताउँछन् । लामो समयसम्म पनि नाका खोल्ने विषयमा छलफल भएको छैन । सरकारको निर्णयानुसार गृह मन्त्रालयले गत हप्ता जिल्ला प्रशासन कार्यालयमा नाकामा आवतजावत गर्न स्थानीयवासीलाई दिनु भनेर परिपत्र गरेको छ । सीमा सुरक्षा प्रहरी चौकीदेखि पास लिएर आवतजावत गर्न पाउने जनाइएको छ ।

गृह मन्त्रालयले परिपत्र गरेपनि एकपक्षले मात्र निर्णय गरेर नहुने फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले बताए । सीमानाका जस्तो संवेदनशील क्षेत्रमा दुई देशको निर्णयमा मात्र सम्भव हुने उनको भनाइ छ । आवश्यक परेमा खाद्य सामग्री चीनले ल्याएर सीमा क्षेत्रमा छाडिदिनसक्ने चिनियाँ अधिकारीले बताएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment