Comments Add Comment

फेरि बढ्दैछ कोरोना संक्रमण, नयाँ भेरियन्टको भाइरस फैलिएको आशंका

९ चैत, काठमाडौं । कोभिडको महामारीलाई भुल्दै ‘न्यू नर्मल’मा फर्किन थालेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो कोभिड १९ तथ्यांकले खतराको घण्टी बजाएको छ ।

मन्त्रालयको अनुसार सोमबार ४ हजार ४७२ नमुना परीक्षण गर्दा १५० जनामा कोभिड-१९ को संक्रमण भेटिएको छ । गएको २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ ।

महामारीको पछिल्लो अवस्था र तथ्यलाई नियालिरहेका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बास्तोला कोरोना भाइरस समुदायकै बीचमा हुदाँ पनि महामारी सकिएको भनेर नजरअन्दाज गर्नुको परिणाम देखिएको बताउँछन् ।

डाक्टर बास्तोलाकाअनुसार पछिल्लो समय प्रत्येक महिना २८/३० जना बिरामी टेकु अस्पतालमा भर्ना भएका छन् । यसरी संक्रमित भेटिइरहेको बेलामा महामारीलाई नजरअन्दाज गरेकाले अहिले संक्रमण बढेको उनको तर्क छ । ‘संक्रमण नभएको अवस्थामा पनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्थ्यो’ डाक्टर बास्तोला थप्छन्, ‘तर संक्रमित भेटिइरहेको बेलामा पनि हामी पार्टी, भोज, नारा, जुलुस र सभा सम्मेलन गर्न थाल्यौं, गल्ती यहीँ भयो ।’

टेकु अस्पतालमा सोमबार मात्रै २ जना संक्रमित भर्ना भएका छन् । ३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । लक्षणसहित परीक्षण गराउने आउने शंकास्पद संक्रमितको संख्या पछिल्लो १० दिनमा बढेको छ । डाक्टर बास्तोला पछिल्लो समय आफूले भोगेको एउटा घटनाले नयाँ आशंका जन्माएको बताउँछन् ।

उनकाअनुसार फागुन ७ गते एउटा होटलमा जमघटमा रहेका व्यक्ति एक हप्तापछि ज्वरो खोकी र सास फेर्न गाह्रो भएको भन्दै टेकु अस्पतालमा भर्ना भए । कोभिड-१९ को परीक्षण नतिजा पोजेटिभ देखायो भने एक्स-रे रिपोर्टमा निमोनिया । ५ दिनको उपचारपछि उनी घर फर्किए । तर, उनी सहभागी जमघटमा भएका ४० जनामा पीसीआर गर्दा १९ जनामा संक्रमण देखियो, जसमध्ये ७ जना त अस्पताल भर्ना भएको डाक्टर बास्तोला बताउँछन् । ‘५ घण्टाको एउटा जमघटमा भेला भएका ५० मध्ये १९ जना संक्रमित हुनु र ७ जना अस्पतालमा भर्ना हुनु सामान्य कुरा होइन’ डाक्टर बास्तोला भन्छन्, ‘नयाँ भेरियन्टको भाइरस फैलिएको हो कि भन्ने आशंका छ ।’

टेकु अस्पतालमाझैँ बलम्बुस्थित एपीएफ अस्पतामा पनि संक्रमित बढेको अस्पतालका चिकित्सक डाक्टर प्रविण नेपाल बताउँछन् । उनका अनुसार  १० दिनअघि अस्पतालमा सरदर दैनिक १ जना बिरामी भर्ना हुन्थे । एक सातायता त्यो सङ्ख्या बढेर सरदर पाँच पुगेको छ । लक्षणसहित पीसीआर परीक्षण गर्न आउनेको संख्या पनि बढेको छ । अस्पतालमा २ जना कोरोना संक्रमितको आईसीयूमा उपचार भरहेको छ भने १६ जना संक्रमित वार्डमा छन् ।

‘लामो समयसम्म अस्पतालमा दुई/तीन जना मात्र बिरामी थिए, तर अहिले बिरामी थपिने क्रम छिटोछिटो भइरहेको छ’ डाक्टर नेपाल भन्छन्, ‘यसले हामीले सचेत रहन र फेरि महामारीसँग लड्न तयार हुनु भन्ने सन्देश दिएको छ ।’

दुई साताअघिको तुलनामा अहिले संक्रमितको सङख्या बढेको पाटन अस्पतालका कोभिड संयोजक डाक्टर बिमल पाण्डे बताउँछन् । उनका अनुसार पछिल्लो केही समय दैनिक ५ देखि ७ जना बिरामी भर्ना हुन्थे भने अहिले बढेर १२/१५ सम्म पुगेको छ । हाल अस्पतालमा ३० जना संक्रमितले उपचार गराइरहेका छन् ।  अस्पतालमा उपलब्ध १८ बेडको आईसीयू खाली नभएको उनले बताए । ‘अब पनि सतर्क नहुने र जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने हो भने थप क्षति हुनसक्छ’ डाक्टर पाण्डेले भने ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि पछिल्लो साता संक्रमित बढेको कोभिड संयोजक डाक्टर सन्तकुमार दास बताउँछन् । उनका अनुसार पछिल्लो समय औसतमा १०० नमुना परीक्षण गर्दा ३ देखि ५ जना संक्रमित भेटिन्थे भने सोमबार ७८ वटा नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

‘संक्रमणदर १८ प्रतिशत देखिनु राम्रो लक्षण होइन, अब सचेत हुन जरुरी छ’ डाक्टर दास भन्छन्, ‘अन्य देशमा नयाँ भेरियन्टको कुरा छ, हाम्रोमा कुन भेरियन्ट भन्ने थाहा छैन, जे भएपनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न छाड्नुहुन्न ।’

नयाँ भेरियन्टको सम्भावना कति ?

१३ पुसमा बेलायतबाट यात्रा गरेर आएका ५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भयो । त्यो बेला बेलायतमा नयाँ भेरियन्टको -बी.१.१.७) कोरोना भाइरस पुष्टि भएर लकडाउन थियो । अन्य युरोपियन देशहरुले पनि खतरा बढ्ने भन्दै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गरेका थिए ।

नेपालमा पनि नयाँ भेरियन्टको संक्रमण भित्रिएको आशंमा ती ५ जनाको स्वाब जिन सिक्विनिङको लागि विश्व स्वास्वास्थ्य संगठनको हङकङमा रहेको ल्याबमा पठाइयो । र, त्यसको रिपोर्टमा युके भेरियन्ट पुष्टि भएको थियो ।

गत फागुनको पहिलो साता मुक्तिनाथ दर्शन गरेर फर्किएका एक व्यक्तिको परीक्षण गर्दा नयाँ प्रकारको कोरोना भाइरस देखिएको र सो व्यक्तिको कन्ट्रयाक ट्रेसिङमा रहेका १३ जनाको नमूना परीक्षण गर्दा उनीहरूमा पनि नयाँ भेरियण्टको भाइरस पुष्टि भएको थियो । उनी बेलायतबाट फर्किएका व्यक्तिको कन्ट्याक ट्रेसिङमा परेका थिए । तर, जिन सिक्विनिङ नगरिएकाले यूके भेरियन्ट हो या अन्य नयाँ भेरियन्टको भाइरस हो भन्ने एकिन हुन सकेन ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको -ईडीसीडी) निर्देशक डाक्टर कृष्ण पौडेलका अनुसार नयाँ प्रकारको कोरोना भाइरसमा ‘एस जिन’ देखिँदैन् । पछिल्लो समय भेटिएका केही संक्रमितमा एस जिन नदेखिएकाले नयाँ भेरियन्ट छ कि भनेर आशंका गर्न सकिने डाक्टर पौडेल बताउँछन् ।

भाइरसको भेरियन्ट पत्ता लगाउने सन्यत्र र स्रोत साधन व्यावस्थापनको लागि नेपाल जनस्वास्थ्य प्रयोगशाला, टेकु, त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी ल्याब, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको विज्ञ सम्मिलित टिम बनेको छ । ‘केही दिनमा हामी नेपालमा देखिएको कोरोना नयाँ भेरियन्टको हो कि पुरानै हो भनेर भन्नसक्छौं’ डाक्टर पौडेल सुनाउँछन् ।

साथै नेपाल प्रवेश गर्ने सम्पूर्ण नाकामा स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको ईडीसीडीका निर्देशक डाक्टर पौडेल बताउँछन् । उनका अनुसार नाकामा रहेको हेल्थ डेस्कले देश छिर्ने नागरिकको प्रारम्भिक स्वास्थ्य जाँच गर्दा शंकास्पद (ज्वरो, खोकी लगायतका लक्षण) देखिए एन्टिजेन परीक्षण समेत गर्नेछ । र, परीक्षणको नतिजा नआएसम्म क्वारेन्टिनमा समेत राख्नेछ । सोमबार १४ वटा नाकाबाट ३३०० मानिस नेपाल आएको पौडेल बताउँछन् । उनीहरुमा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण नभएकाले क्वारेन्टिनमा राखिएको छैन ।

‘हामीले सम्पूर्ण स्थानिय तहलाई कन्ट्याक ट्रेसिङ र जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएका छौं’ डाक्टर पौडेलले भने, ‘अन्य देशको स्थिति हेर्दा अब हाम्रो अवस्था जे भएपनि महामारीविरुद्ध लड्न तयार रहनुको विकल्प छैन ।’ ईडीसीडी महामारी विरुद्ध लड्न तयार रहेको भन्दै डाक्टर पौडेलले सम्पुर्ण नागरिकलाई जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गर्दै भने, ‘अब हामीले पहिलाको गल्ती दोहोर्‍याउनु हुन्न ।’

काठमाडौंमा संक्रमण धेरै

गत मंगलबार ३ हजार ३ सय ३१ नमुना परीक्षण गर्दा ७९ जनामा संक्रमण पुष्टि भएको थियो । ७९ जना संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंका २७ जना थिए भने ललितपुर र कास्कीका क्रमश १०/१० जना थिए । त्यसैगरी भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको थियो । बाँकी संक्रमित अन्य जिल्लाका थिए ।

त्यसैगरी बुधबार २७ सय ९० नमुना परीक्षण गर्दा १ १४ जनामा संक्रमण देखियो भने कोहीपनि संक्रमितको मृत्यु भएको थिएन । त्यो दिन काठमाडौंमा ३४ जना संक्रमित भेटिएका थिए भने कास्की २५, चितवन ११ र भक्तपुरमा २ जना संक्रमित भेटिएका थिए भने बाँकी संक्रमित अन्य जिल्लाका थिए ।

बिहिबार २७ सय ८१ जनामा परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको थियो ।  सो दिन काठमाडौंका २९, ललितपुरका १३, कास्कीका ८, भक्तपुरका ७ जनामा संक्रमित पुष्टि भएको थियो भने बाँकी संक्रमित अन्य जिल्लाका थिए ।

शुक्रबार ३ हजार २ सय ५४ वटा नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये ४४ संक्रमित काठमाडौंका थिए भने कास्कीका १३, ललितपुरका ८ र भक्तपुरका ७ जनामा संक्रमण भेटिएको थियो ।

त्यस्तै शनिबार ३१ सय ६१ नमुना परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये कास्कीमा ४८, काठमाडौंका ३० जना, भक्तपुरमा १० र ललितपुरमा ५ जना थिए । र, बाँकी संक्रमित अन्य जिल्लाका थिए ।

त्यस्तै आइतबार ३१ सय ८१ नमुना परीक्षण गर्दा  ७७ जनामा संक्रमण पुष्टि देखिएको थियो । संक्रमितमध्ये ३४ जना काठमाडौं र ५ जना ललितपुरका थिए ।

सोमबार परीक्षण बढाएर ४ हजार ४ सय ७२ पुर्‍याइएको थियो र,  १५० जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु समेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment