Comments Add Comment

मुद्दा फिर्तामै अडि्कयो एमाले-जसपा वार्ता

सरकारमा सहभागी हुन प्रधानमन्त्रीको प्रस्ताव, जसपा नेताहरु भन्छन्- मागमुद्दा सम्बोधन गर्नुस्

१० चैत, काठमाडौं । जिल्ला भ्रमणमा जानु अघि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोलाई लिएर मंगलबार विहान बालुवाटार पुगे ।

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समेत सहभागी छलफलमा दुबै तर्फका कार्यदल सदस्यहरु अहिलेसम्म भएको गृहकार्यबारे ब्रिफिङ गरे ।

भेटमा सहभागी जसपा नेता महतोका अनुसार कार्यदलले मधेस तथा थरुहट आन्दोलनका क्रममा लागेका कुन मुद्दाहरु के अवस्थामा छ भन्ने ब्रिफिङ गरेको छ । ‘कार्यदलले मुद्दा मामिलाका सम्बन्धमा भएका गृहकार्य सकारात्मक रुपमा अगाडि बढेको छ । त्यसअनुसार काम होस् भन्ने चाहेका छौं’ महतोले भने ।

स्रोतकाअनुसार कार्यदलले मुद्दा फिर्ताको जटिलताबारे महान्यायाधिवक्तासँग पनि छलफल गरिरहेको छ । तर मुद्दा चलाउन बाँकी केसहरु सल्टाउन जति सहज छ, अदालतमा पुगिसकेको वा फैसला आइसकेको विषय टुंग्याउन त्यति सजिलो छैन ।

अझ जसपाले टीकापुर घटनामा दोषी ठहर भएर जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय पाएका रेशम चौधरीको रिहाईलाई शर्त नै बनाएको छ । ‘रेशम चौधरीको सांसद पद जोगिने र भोलि चुनाव लड्न पाउने अवस्था बन्नुपर्छ भनेका छौं’ जसपाका एक नेता भन्छन्, ‘कानून सम्वत रुपमा कसरी जाने भनेर छलफल भइरहेको छ, केही टुंगिएको छैन ।’

जसपाका नेताहरु मुद्दा मामिलाको विषय नटुंगिएसम्म सत्ता गठनबन्धनमा प्रवेश गर्न चाहेका छैनन् ।

तर रेशम लगायतका सबै मुद्दा फिर्ता गर्न समय लाग्ने महान्यायाधिवक्ता कार्यालय बताउँछ । मंगलबार त्यही रिर्पोटिङ भएपछि प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । ‘प्रधानमन्त्रीले तपाईहरु सरकारमा आउनुस्, सँगै बसेर मुद्दा फिर्ताका काम गरौंला भन्नुभएको छ । तर हामीले पनि मागमुद्दा सम्बोधन गर्नुस् भनेका छौं’ जसपाका एक नेता भन्छन् ।

प्रधानमन्त्रीको तर्फबाट गठित कार्यदलका सदस्य राजन भट्टराईले जसपासँगको छलफल सकारात्मक रहेको बताउँछन् । ‘सबै विषयमा सकारात्मक कुराकानी भएको छ र धारणाहरु समान बनिरहेका छन्’ उनले अनलाइनखबरसँग भने ।

उपेन्द्र-बाबुराम अनविज्ञ

महन्थ ठाकुरले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसँग निरन्तर छलफल गरिरहँदा जसपाका केही नेता भने अनविज्ञ छन् ।
संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव लगायात तत्कालीन संघीय समाजवादी पार्टीका नेताहरु एमाले इतरको सत्ता गठबन्धनको पक्षमा छन् । र, सरकारसँग भइरहेको वार्ताबारे उनीहरु बेखबर छन् ।

मंगलबार ठाकुर नेतृत्वको टोली बालुवाटारमा पुगेर छलफल गरेको पनि उनीहरुले पछि मात्र थाहा पाएका थिए । ठाकुरले सरकारसँग वार्ता गर्न नेताद्धय लक्षणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई खटाउँदा पनि पार्टीमा सल्लाह गरेका थिएनन् ।

मंगलबार बालुवाटारमा भएको भेटपछि उपेन्द्र-बाबुुराम पक्षका नेताहरुले के कुराकानी भयो त भनेर चासो राखेका थिए । मुस्किलले १५ मिनेट कुराकानी भयो, मुद्दा मामिलामा के प्रगति भएको छ भन्ने ब्रिफिङ मात्र हो भनेको जवाफ पाएको एक नेताले सुनाए । ‘तपाईहरु यही सरकारमा जान खोज्नु भएकै हो त भन्दा साथीहरु माग मुद्दा सम्बोधन नभई सम्भव छैन भन्नुहुन्छ’ उनले भने ।

तर जसपाको एकता कायमै राखेर कुनै वर्तमान सरकार वा एमाले इतरको सरकार गठनको पक्षमा उभिन कठिन बन्दै गएको जसपाका नेताहरु स्वीकार गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment