Comments Add Comment

काठमाडौं उपत्यकामा मास्क अनिवार्य, होलीमा भिड नगर्न आग्रह

११ चैत, काठमाडौँ । काठमाडौँ उपत्‍यकामा सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउन स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ ।

बुधबार काठमाडौँ, भक्तपुर र ललितपुर तीनवटै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो ।

भारतमा कोरोना संक्रमण बढेको र नेपालमा पनि बढ्न सक्ने संकेत देखिएको भन्दै प्रशासन कार्यालयहरुले मास्क लगाउन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले भारतमा बढ्दै गएको कोरोना संक्रमणको प्रभावस्वरुप काठमाडौँ उपत्यकामा समेत बढ्‍दै गएकाले सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क प्रयोग, स्यानिटाइजर र सामाजिक/भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई पालना गर्न आग्रह गरेको छ ।

त्यस्तै सार्वजनिक स्थलमा भिडभाड नगर्न र घरभित्रै होली मनाउन प्रशासनले आग्रह गरेको छ ।

बुधबार ललितपुरमा बसेको जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गर्नेलगायतका मापदण्ड पालना गर्न कडाई गर्ने निर्णय गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बाहिर निस्कँदा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्ने निर्णय समेत भएको जानकारी दिए ।

यस्तै ललितपुरमा रात्रीकालीन व्यवसाय राति ११ बजेपछि सञ्चालनमा रोक लगाउने, व्यवसाय सञ्चालन गर्दा पनि भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका तोकिएका मापदण्डहरु पालना गर्नुपर्ने व्यवस्था मिलाउन प्रशासनले आग्रह गरेको छ । होलीमा पनि भिडभाड नगर्न प्रशासनले भनेको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि भिडभाड नहुने गरी कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य नगर्न आग्रह गरेको छ । यस्तै पहिले सञ्‍चालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्‍न पनि प्रशासनले निर्देशन दिएको छ ।

प्रशासन कार्यालयले होलीमा भिडभाड नगर्न र स्वास्थ्य मापदण्डलाई पालना गर्न भनी प्रचार प्रसार गर्न स्थानीय तहलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment