Comments Add Comment

‘मेरो लेखनको उद्देश्य शिक्षा दिनु होइन’

नेपाली साहित्य लेखन र गतिविधिमा २०५० को दशकदेखि सक्रिय गोपी सापकोटा बेलायत बस्न थालेपछि केही सुस्ताए । तर, अहिले उनी उपन्यास ‘काँचो कागज’ लिएर पाठकसामु आएका छन् ।

चितवनका सापकोटाले मानिसका काँचा रहर र साँचा सपनालाई कच्चा पदार्थ बनाएर आख्यान लेखेका हुन् । सरल भाषा, खुल्दुली जगाउने कथावस्तुले उपन्यास पठनीय बनेको छ । यसअघि उनका ‘कालो आकृति’, ‘एक अन्त्यहीन शुरुआत’, ‘कमिलाको सपना’, ‘प्रेम कतिपय’ प्रकाशित कृति हुन् ।

४३२ पृष्ठको ‘काँचो कागज’ कलम प्रकाशनले बजारमा ल्याएको हो । उपन्यासभित्र केन्द्रित रहेर अनलाइनखबरले सापकोटासँग गरेको कुराकानी :

नाटक र कवितामा रमाइरहेको लेखक, उपन्यास विधामा किन हात हाल्नुभयो ?

म अहिलेसम्म कविता र नाटकमा नै रमाएको थिएँ । यसपटक उपन्यास लिएर आएको छु । मेरो विचारमा कविता र नाटकका आफ्नै खाले पाठक हुन्छन् तर उपन्यासका अलि फरक ।

मेरो दिमागमा एउटा गज्जबको कथा आयो । त्यो कथा अरू विधामा लेखेर अटाउँदैन भन्ने लाग्यो । अनि त्यही कथा भन्नका लागि उपन्यास लेखें ।

तपाईंका नाटक र कवितामा विसंगतवादी जीवन दृष्टिको गन्ध आउँछ । ‘काँचो कागज’ पनि यसैको निरन्तरता हो ?

नाटकमा म विसंगतवादी चिन्तनबाट प्रभावित देखिन्छु । विशेष गरेर नाटक बौद्धिक भोक मेट्नका लागि लेख्ने गर्छु । तर मैले यो उपन्यास कोमल प्यास मेटाउनका लागि लेखेको हुँ । यो उपन्यास मेरा नाटक र कविताभन्दा फरक छ । मेरा नाटक जटिल देखिन्छन्, अर्थ खोज्न धेरै घोत्लिनुपर्ने खालका, तर उपन्यास सरल छ । सबै तहका पाठकले सजिलै बुझ्ने खालको छ ।

जीवन दर्शनको कुरा त छ नै । पढिसकेपछि उपन्यासले पाठकलाई समग्रमा एउटा इम्प्रेसन दिनेछ, जसले केही दिनसम्म पाठकलाई सम्मोहित बनाइरहने छ ।

‘काँचो कागज’ लेखनको पृष्ठभूमि बताइदिनुस् न ! के कुराले तपाईंलाई यो उपन्यास लेख्न प्रेरित गर्‍यो ? उपन्यास लेखनको अनुभव कस्तो रहृयो ?

मेरो उपन्यासको उद्देश्य कसैलाई शिक्षा दिनु होइन । पहिलो कुरा, पाठकले पढ्दा झिजो नलागोस् भन्ने हो र दोस्रो कुरा उनीहरूले आफूलाई कतै न कतै भेटुन् र आनन्द लिउन् भन्ने हो

एउटा कुराले मेरो दिमाग खसखस गरिरहन्छ । हाम्रो जीवनमा के हुँदैछ भन्ने कुरा पहिले नै लेखिसकिएको छ । जीवन भोग्दै जाँदा नयाँ-नयाँ घटना घट्दै जान्छन् । अर्को कुरा हामीसँग जे छैन, हाम्रो अवचेतन मनले त्यही खोजिरहेको हुन्छ । यिनै कुराको सेरोफेरोमा मेरो दिमागमा एउटा कथा फुर्‍यो । मैले उपन्यासको प्लट छोराछोरीलाई सुनाएँ । उनीहरूले मन पराए । पछिल्लो जेनेरेशनले मेरो उपन्यासको प्लट मन पराएपछि म उपन्यास लेख्न उत्साहित भएँ ।

म बेफुर्सदी मान्छे । तर कोरोनाको लकडाउनले केही समय उपलब्ध गराइदियो । मैले त्यही समयको सदुपयोग गरें । उपन्यास लेखनको प्रक्रिया एकदमै रमाइलो रहृयो । लेख्दा एकप्रकारले मैले धेरै आनन्द महसुस गरें । बेला-बेलामा उपन्यासका ती काल्पनिक पात्रहरू साँच्चैका मान्छेहरू हुन् कि जस्तो लाग्थ्यो ।

अन्य उपन्यास भन्दा ‘काँचो कागज’ के कारणले पृथक छ ?

मेरो दाबीमा ‘काँचो कागज’ नेपाली साहित्यमा आएका अन्य उपन्यासभन्दा फरक छ । यो कुरा मैले भन्दा पनि पाठकले भन्ने कुरा हो । मेरो उपन्यासको उद्देश्य कसैलाई शिक्षा दिनु होइन । पहिलो कुरा, पाठकले पढ्दा झिजो नलागोस् भन्ने हो र दोस्रो कुरा उनीहरूले आफूलाई कतै न कतै भेटुन् र आनन्द लिउन् भन्ने हो ।

नाटक वा कविताभन्दा उपन्यास लेखन कति भिन्न रहेछ ?

मैले लेख्ने जस्ता नाटकहरू खास धेरै लेखिएका थिएनन्, त्यसैले मैले ती नाटक लेखेको हुँ । म रहरले उपन्यास लेख्न हामफालेको होइन । मैले जानेर, बुझेर नै हाम फालेको हुँ । उपन्यासको नदीको गहिराइ र बहावलाई महसुस गरेर नै लेख्न थालेको हुँ । अरू पौडी खेलेको हेर्नु र आफू पौडी खेल्नु फरक कुरा हुन् । शुरूमा मलाई पौडी खेल्न सिक्न केही समय लाग्यो । तर अब म उपन्यासको नदीमा पौडिन सक्ने भएको छु । मैले उपन्यासको नदीलाई प्रेम गर्न सिकिसकेको छु ।

नेपाली साहित्यको बजारमा अहिले धेरै पुस्तक आइरहेका छन् । तर पनि उपन्यासको क्षेत्रमा एउटा ‘ग्याप’ छ । शायद धेरैले त्यो ग्याप देखेका छैनन्, जुन मैले देखिरहेको छु । म त्यही ‘ग्याप’ भर्न उपन्यास लेखनमा आएको हुँ ।

‘ग्याप’ को कुरा गर्नुभयो । अरूले नदेख्ने अनि तपाईंले देख्ने कस्तो ‘ग्याप’ हो ?

नेपाली उपन्यासको क्षेत्रमा समकालीन अन्तर्राष्ट्रिय बजारमा आइरहेको ट्रेण्ड र शैलीका उपन्यासहरू कम लेखिएका छन् । केही सीमित पाठकहरू जसले अंग्रेजी जानेका छन् उनीहरूले मात्रै त्यस्ता उपन्यास पढ्न पाएका छन् । तर त्यस्ता पुस्तकहरू नेपालीमा पनि लेखियो भने नेपाली पुस्तक पढ्ने पाठकले पनि पढ्न पाउँछन् भन्ने हो ।

‘काँचो कागज’ लाई पाठकहरूबाट कस्ता प्रतिक्रिया आइरहेको छ ?

उपन्यास बजारमा गएको दुई हप्ता मात्रै भयो । अझै सबै ठाउँमा पुग्न पाएको छैन । फेरि उपन्यास लामो पनि छ । त्यसैले धेरै प्रतिक्रिया आउन बाँकी नै छ । तर पाण्डुलिपि पढेका साथीहरूले उपन्यास राम्रो लागेको बताएका छन् । जे जति शुरुआती प्रतिक्रिया आइरहेका छन् तिनले मलाई उत्साही नै बनाइरहेका छन् ।

(तस्वीरहरू : लेखकबाट प्राप्त/प्रस्तुतिः निर्भीक रायमाझी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment