+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

जोशीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १४ गते १४:१७

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको बैठकले नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उपमेयर, संविधानसभा सदस्य, पूर्वमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । जोशीको नर्भिक अस्पतालमा उपचारको क्रममा शुक्रबार राति निधन भएको हो ।

गत फागुन १४ गते बिहान मस्तिकघात भएपछि जोशीलाई उपचारको लागि वीर अस्पताल हुँदै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । २०१९ साल असार ३ गते काठमाडौंमा जन्मिएका जोशी नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय बिताएका थिए । कांग्रेसले जोशीको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चीर शान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदनासमेत प्रकट गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले स्वर्गीय जोशीप्रति सम्मान प्रकट गर्दै शोकका कार्यक्रम पनि तय गरेको छ ।

जसअनुसार चैत १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, उक्त दिनहरुमा शोकका कार्यक्रमबाहेक पार्टीका अन्य औपचारिक कार्यक्रमहरु नगर्ने, चैत १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालय बन्द गर्ने, १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दूरी कायम गर्दै शोकसभाको आयोजना गर्ने कार्यक्रम निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?