Comments Add Comment

प्रधानमन्त्री–सभामुख भेट : गतिरोध अन्त्यको अपेक्षा

१५ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार दिउँसो भएको भेटघाटले संसदमा केही समययता देखिएको गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । यद्यपि सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरु आइतबारकै भेटवार्ताबाट गतिरोध अन्त्य भइहाल्ने कुरामा अझै विश्वस्त हुन सकेका छैनन् ।

तीन सातायतादेखि प्रतिनिधिसभाले ‘बिजनेस’ अगाडि बढाउन नसक्ने र नयाँ ‘बिजनेस’ पनि नपाउने अवस्था सामना गरिरहेको बेला प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म भएको ‘वान टु वान’ भेटमा यही विषयमा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए ।

‘संसदमा बिजनेस नभएको होइन, सरकारले बिजनेस नदिएको पनि होइन । तथापि संसदलाई गति दिने विषयमा समस्या थिए । ती विषयमै उहाँहरुबीच कुरा भएको छ’ थापाले भने ।

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले पनि प्रधानमन्त्री र सभामुखबीच संसदमा विचाराधीन विधेयकहरुलाई अघि बढाउने र संसद सञ्चालनको समग्र विषयमा छलफल भएको बताए ।

‘उहाँहरुबीच संसदलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने, जरुरी र महत्वपूर्ण विधेयकहरु अगाडि बढाउने विषयमा छलफल भएको छ’ न्यौपानेले भने ।

संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा हाल ३६ वटा विधेयक विचाराधीन छन् । केही जरुरी सार्वजनिक महत्वका प्रस्ताव पनि छन् । तर, प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना हुनलाग्दा समेत कानुन निर्माण प्रक्रियामा संसद प्रवेश गर्नै सकेको छैन ।

सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच गएको भदौ दोस्रो साता यता औपचारिक भेट भएको थिएन ।

पुस ५ मा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि  प्रधानमन्त्री र सभामुखबीच देखिने गरी नै दुरी बढेको थियो । सभामुख सापकोटाले विज्ञप्ति निकालेर संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमको विरोध गरेका थिए । सर्वोच्च अदालतमा पनि सभामुखका कानुन व्यवसायीले ओलीको कदमको विपक्षमा बहस गरेका थिए ।

११ फागुनमा सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भयो । २३ फागुनदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भयो । तर, यो बीचमा बसेका पाँचवटा बैठक प्रभावकारी हुन सकेनन् ।

पहिलो बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेसको नाराबाजीका बीच संवैधानिक परिषदसम्बन्धी अध्यादेश टेबल भयो । दोस्रो र तेस्रो बैठक सांसदहरुको निधनमा शोक प्रस्ताव पारितमै सीमित भयो । चौथो बैठकमा दलीय प्रतिनिधित्वको आधारमा संसदमा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताहरुले सम्बोधन गरे ।

पाँचौं बैठकमा शून्य समय राखिएको थियो । शून्य समयमा सांसदहरुले समसामयिक राजनीतिक विषयमा र आफ्ना निर्वाचन क्षेत्रका समस्याहरु राखे । छैठौं बैठक १८ गते बस्दैछ ।

छैठौं बैठकको कार्यसूची तय हुनुअघि प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच आइतबार भेट भएको हो ।

एक महिनाबीचमा जम्मा ५/६ वटा बैठक बस्ने, संसदमा विचाराधीन विभिन्न विधेयकहरु अगाडि नबढ्ने, सरकारले संसदलाई नयाँ बिजनेस पनि नदिइरहेकाे अवस्थामा भएको यो भेटलाई महत्वपूर्ण रुपमा लिएको संघीय संसद सचिवालयका अधिकारीहरु बताउँछन् ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमला भन्छन्, ‘कार्यकापालिका प्रमुख र व्यवस्थपिकाका प्रमुखबीच भेट हुँदा सदन सञ्चालनमा मद्दत पुग्छ । यस्ता भेटले सकारात्मक भूमिका खेल्छ ।’

सभामुखले प्रधानमन्त्रीसँग भेटका लागि समय मागेको भन्ने समाचार सार्वजनिक भएको एक सातापछि उनीहरुबीच भेट भएको हो ।

प्रधानमन्त्री र सभामुख भेटले संसदमा देखिएको समन्वय अभाव र गतिहीन बनेको संसद गतिशील होला ? यो भेटलगत्तै संसद गतिशील भइहाल्छ भन्नेमा चाहिँ प्रमुख दलहरु नै आशंका व्यक्त गर्छन् ।

‘यो भेट पहिले नै हुनुपर्दथ्यो, ढिलो भयो र पनि भेट भयो’ सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, ‘हिउँदे अधिवेशनको पहिलो बैठकबाटै समन्वयको अभाव थियो । सभामुखले प्रधानमन्त्रीसँग समन्वयका लागि पहल गर्नुपर्दथ्यो । आज भेट भयो अब अब सौहार्दपूर्ण तरिकाले संसद चलोस् भन्ने हाम्रो चाहना हो ।’

तर, प्रधानमन्त्री र सभामुखको भेट हुनुले संसद गतिशील भइहाल्छ भनेर विश्वास गर्न नसकिने बताउँछन् प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक वालकृष्ण खाँड । प्रधानमन्त्री र सभामुखबीचको भेट सदनलाई गतिशील बनाउनमै केन्द्रित छ छैन अहिले भन्न नसकिने उनले बताए ।

‘आज प्रधानमन्त्रीसँगको भेटमा सभामुखले सदन सञ्चालनकै विषयमा कुरा गर्नुभयो होला । तर, त्यो भेट सदनलाई गतिशील बनाउनमै केन्द्रित छ छैन अहिले भन्न सकिन्न । के कुरा भएको छ सभामुखमार्फत जानकारीमा आउनेनैछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment