काठमाडौं । नेपालले बंगलादेशलाई २-१ ले पराजित गर्दै सोमबार थ्री नेसन्स कप फुटबलको उपाधि जित्यो । दशरथ रंगशालमा भएको फाइनलमा नेपालको लागि सन्जोग राई र विशाल राईले गोल गरे भने बंगलादेशका मबुबुर रहमानले एक गोल फर्काए ।
गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालले जितेको यो पहिलो उपाधि हो । आफ्नो नेतृत्वमा घरेलु मैदानमा उपाधि जिताउन पाउँदा किरण खुशी थिए ।
त्यो भन्दाबढी खुशी विराज महर्जनलाई उपाधिसहित बिदाई गर्न पाउँदा थिए ।
कप्तान किरणले आफ्नो टिमले राम्रो खेलेकाले उपाधि जित्न सफल भएको बताए । ‘मैले मेरो टिममा विश्वास गरेको थिएँ, टिमले पनि राम्रो खेल्यो । त्यसैले उपाधि जित्न सफल भयौँ’ किरणले भने ।
यस्तै ३१ वर्षीय डिफेण्डर विराजले पनि बंगलादेशविरुद्ध फाइनल खेल्दै सन्यासलाई सुखद बनाए । विराज ८९ मिनेटमा मैदान प्रवेश गरेका थिए ।
विराजले प्रतियोगिताअघि नै सन्यास लिने बताइसकेका थिए । प्रतियोगिताअघि कप्तान किरणले विराजलाई बिदाई सुखद बनाउने बाचा गरेको र त्यसमा सफल भएको बताए । ‘हामीले करिब १३ वर्ष संगै खेल्यौँ । प्रतियोगिताअघि नै मैले विराजलाई हामी ट्रफी जित्दै सुखद बिदाई गर्छा भनेको थिएँ, त्यसमा सफल भयौँ, उनले सुनाए ।
यस्तै विराजले पनि आफ्नो फुटबल करियर पूर्ण भएको बताए । उनले भने, ‘मेरो करियरमा धेरै उतारचढवहरु आए । अहिले घरेलु मैदानमा ट्रफी जित्दै विश्राम लिएको छु । मेरो फुटबल करियर बल्ल पूर्ण भएको छ ।’
कप्तान किरणले आफ्नो लक्ष्य साप च्याम्पियनसिपको उपाधि जित्नु रहेको पनि बताए । ‘निश्चय नै मेरो लक्ष्य एकपटक साफ च्याम्पियनसिप जित्नु छ, उनले भने, साफ मात्र नभएर एसियन कप पनि लक्ष्य हो ।’
प्रशिक्षक बालगोपाल महर्जनले पनि फाइनलमा आफ्नो रणनीतिले अनुसार खेल भएको र त्यसमा सफल भएको बताए । ‘यो जितको श्रेय सम्पूर्ण टिमलाई जान्छ, उनले भने ।
प्रतिक्रिया 4