Comments Add Comment

भक्तपुरको फिटनेस शैली : हरेक वडामा व्यायामशाला, श्वासप्रश्वासको समस्या हटाउन ‘छिकोन’

तस्वीर फाइल

भक्तपुर नगरपालिकाको १० वटा वडा र ३ वटा क्याम्पस हातामा गरेर २३ ठाउँमा निःशुल्क व्यायामशाला रहेको छ । डेढ वर्ष पहिले भक्तपुर नगरपालिकाले नगरवासीको स्वास्थ्यलाई ध्यान दिँदै हरेक वडामा जिमखाना खोल्ने अवधारणा ल्याएको थियो । नियमित शारीरिक अभ्यासको लागि पैसा तिर्नुपर्ने अवस्था नहोस् भनेर दुई लाखदेखि पाँच लाख रुपैयाँसम्मका उपकरण खरिद गरेर ठाउँठाउँमा राखेपछि अहिलेसम्म पनि सो अभियानमा भक्तपुरवासीहरु सहभागी हुँदै आएका छन् ।

भक्तपुरको वडा नं १ मा तीन वटा सहित हरेक वडामा २–२ ठाउँमा व्यायामशालाको स्थापना गरिएको एक नं वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिए । उनका अनुसार खुट्टादेखि टाउकोसम्मको एक्सरसाइज गर्नको लागि १९ किसिमको व्यायाम उपकरण हरेक ठाउँमा स्थापना गरिएको छ । पहिलो चरणमा ९ किसिमको र दोस्रो चरणमा १० किसिमको गरी कुल १९ किसिमको फिटनेस उपकरण स्थापना गरिएको खत्रीले जानकारी दिए । सो फिटनेस केन्द्र कोरोना कालमा ४ महिना बन्द गरिएको छ । अहिले प्रत्येक वडामा दैनिक ७० जनाको हाराहारीमा अभ्यासको लागि मान्छे आउने गरेको नगरपालिकाको तथ्यांक छ ।

गत वर्ष कोरोना काल सुरु भएपछि श्वासप्रश्वासमा समस्या भएको कुरालाई स्मरण गर्दै कोरियाली अभ्यास शैलीको रुपमा रहेको ‘छिकोन’लाई अभ्यासमा ल्याउने तयारी भक्तपुरले गरेको छ । अहिले कोरियाबाट प्रशिक्षक झिकाएर यो खेल खेलाउने गरिएको छ । वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वका अनुसार ३० जनाले सो खेलको प्रशिक्षण गरिरहेका छन् ।

अहिले भक्तपुर नगरपालिकाले विभिन्न किसिमका ६ खेलहरूमा नियमित प्रशिक्षण पनि दिँदै आएको छ । ज्याख्वका अनुसार यी खेलहरू नियमित अभ्यासको साधनका साथै व्यावसायिक खेलाडी उत्पादनको लागि समेत विभिन्न खेलहरू प्रशिक्षण दिने गरिएको हो । जस अनुसार भलिबल, टेवलटेनिस, कराते, बक्सिङ, फुटवल, जिम्नास्टिक र अहिले वडा नं ६ मा किक बक्सिङको समेत सुरुवात गरिएको छ ।

अर्काेतर्फ किशोरीहरूलाई आत्मरक्षा तालिमको समेत व्यवस्था गरिएको वडा नं १ का वडाध्यक्ष खत्री बताउँछन् । उनका अनुसार प्रत्येक वडाबाट ५० जनाको दरमा ८ वटा वडामा यो प्रशिक्षण दिन सुरु गरिएको छ ।

दीर्घ रोगी धेरै भएपछि सामूहिक अभ्यासको योजना
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिका अनुसार जनप्रतिनिधिहरु निर्वाचित भएर आएलगत्तै भक्तपुर नगरपालिकाले नगरवासीको स्वास्थ्य अवस्थाको बारेमा एउटा अध्ययन गरेको थियो । पूरा गर्न नसकिने ठूल्ठूला सपना देखाउनुभन्दा शिक्षा, स्वास्थ्य र संस्कृतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने योजना अनुसार नै यी कामहरू भएको उनी बताउँछन् ।

यस्ता गतिविधि अघि बढाउनुपूर्व पहिले नगरवासीको स्वास्थ्य अवस्था बुझ्न घर-घरमा नर्सिङ सेवा सुरु गरिएको थियो । सो क्रममा रोगहरुको पहिचान गर्दा सरुवाभन्दा नसर्ने रोगले बढीलाई सताएको पाएपछि सामूहिक जिमखानाको अवधारणा विकास भएको हो ।

‘मुटुरोग, क्यान्सर, मधुमेह, मिर्गौला रोग जस्ता समस्याको निदानमा नियमित शारीरिक व्यायाम गतिलो उपाय हो भन्ने भयो’, मेयर प्रजापति भन्छन्, ‘त्यसपछि रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नै नदिन हरेक वडामा जिमखाना खोल्ने निष्कर्षमा पुगियो ।’ उनका अनुसार, पहिलो चरणमा नगरपालिकाको भाइचा पोखरी, माहेश्वरी, डेकोचा लगायत पाँच ठाउँमा जिमखाना खोलियो । परीक्षणका लागि खोलिएका ती जिमखानामा वडाबासीको भीड भएपछि सबै वडामा सुविधा पुर्‍याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment