Comments Add Comment

वीरगञ्जका विद्यालय बन्द नगरिने

१७ चैत, वीरगञ्ज । सरकारले शनिबारसम्म विद्यालय बन्दको आह्वान गरे पनि वीरगञ्जका शैक्षिक संस्था बन्द नहुने भएका छन् ।

देशका अन्य क्षेत्रमा जस्तो वीरगञ्जमा वायु प्रदूषणको असर नदेखिएकोले विद्यालय बन्द गरिहाल्नुपर्ने अवस्था नरहेको वीरगञ्ज महानगरपालिकाका दाबी छ ।

प्रदेश २ मा मंगलबार (आज) सम्म प्रदेश सरकारले होली पर्वको बिदा दिएको छ । बुधबारदेखि नियमित विद्यालय सञ्चालन गर्न महानगरपालिकाले मातहातका सबै सामुदायिक र निजी विद्यालयलाई अनुरोध गरेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले जानकारी दिए ।

काठमाडौं, पोखरालगायत देशका विभिन्न स्थानमा बढेको वायु प्रदूषणलाई मध्यनजर गर्दै सरकारले शनिबारसम्म सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

देशका अन्य स्थानमा जस्तो वीरगञ्जमा वायु प्रदूषणको प्रतिकुल असर नदेखिएकोले विद्यालय बन्द नगर्ने निष्कर्षमा आफूहरु पुगेको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए । उनका अनुसार काठमाडौंलगायत देशका अन्य स्थानमा जस्तो वीरगञ्जमा वायु प्रदूषणले घर बाहिरै निस्कनै नहुने अवस्था वीरगञ्जमा छैन ।

‘कोरोना महामारीमा लामो समय विद्यालय बन्द भयो, त्यसपछि पनि विभिन्न चाडपर्वको नाममा पटक-पटक दिएका छौं, बिदाले गर्दा बालबालिकाको पढाइ धेरै छुटेको छ । वायु प्रदूषणको प्रभाव वीरगञ्जमा खासै परेको छैन,’ नगरप्रमुख सरावगीले भने, ‘छु्ट्टीको समयको पढाइलाई पूर्ति गर्न पढ्नुपर्ने कुरा धेरै छ तर समय कम छ । त्यसैले विद्यालय बन्द नगर्ने निर्णय गरेका छौं ।’

यसबारेमा वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले सामाजिक सञ्जाल फेसबुकमा सूचना जारी गरेको छ । सूचनामा ‘नेपाल सरकारले चैत १७ गतेदेखि २० गतेसम्म वायु प्रदूषणको कारण देखाई शैक्षिक संस्थाहरु बन्द गर्ने भनिएता पनि सोको प्रभाव वीरगञ्ज महानगरपालिकामा नदेखिएको र विगतमा भएको शैक्षिक क्षतिलाई समेत ध्यानमा राख्दै महानगरपालिकाको अर्को आदेश नभएसम्म सबै शैक्षिक संस्थाहरुले पठनपाठन यथावत् राख्नुहुन आदेशानुसार जानकारी गराइन्छ ।’ उल्लेख छ ।

सामुदायिक र निजी गरी झण्डै ३ सय विद्यालय रहेको वीरगञ्ज महानगरमा ७० हजार विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment