
१८ चैत, काठमाडौं । वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्न बुधबारसम्म १४ समूहले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस अवधिमा १४ समूहका १ सय १३ जना आरोहीले अनुमति लिएका हुन् । उनीमध्ये ३४ जना महिला रहेका छन् । विभागका अनुसार अहिलेसम्म सगरमाथा, नुप्त्से, मनास्लु, अन्नपूर्ण, ल्होत्से, टुकुचे र धौलागिरि हिमालका लागि आरोहण अनुमति जारी भएका छन् ।
विभागका अनुसार सगरमाथा चढ्न मात्र चार समूहका ४६ जनाले अनुमति लिएका छन् । सगरमाथापछि अन्नपूर्णमा ३४ जनाको अनुमति जारी भइसकेको छ । सगरमाथा चढ्ने समूहमा बहराइनका राजकुमार सहितको १६ जनाको दुई टोली समेत सामेल छ । यो टोली सगरमाथा चढ्न आजै लुक्ला प्रस्थान गरेको छ । सगरमाथा क्षेत्रमा आइसफल डाक्टरले बाटो बनाइरहेका छन् ।
यता, बुधबारसम्म विभागले आरोहण अनुमतिबाट मात्र ७ करोड ८ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । सामान्यतया आरोहणबाट सबैभन्दा बढी रोयल्टी उठ्ने सिजन वसन्त ऋतु नै हो ।
प्रतिक्रिया 4