Comments Add Comment

भारतबाट उद्धार गरिएका ७ जना किशोरीलाई महोत्तरी ल्याइयो

१९ चैत, काठमाडौं । महोत्तरीबाट हराएका ७ जना किशोरीलाई भारतबाट उद्धार गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार राति ११ बजे भारतबाट उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो ।

भारतबाट उद्धार गरिएका उनीहरुलाई बुधबार राति नै जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ । घाँस काट्न भनेर घरबाट निस्केका उनीहरु मंगलबारबाट हराएका थिए ।

सशस्त्र प्रहरीका इन्सपेक्टर बिर्खबहादुर शाही नेतृत्वको टोलीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर उनीहरुलाई नेपाल ल्याएको हो । किशोरीहरुलाई नेपाल ल्याउन नेपाल प्रहरीका सई आदित्य सिंह नेतृत्वको टोली पनि नेपाल–भारत सीमाको भिट्टामोड पुगेको थियो ।

किशोरीहरुको उद्धारमा पुगेका सशस्त्र प्रहरी निरीक्षक शाहीका अनुसार बिहारको सितामढीस्थित रेल्वे स्टेसनमा भारतीय प्रहरीले किशोरीलाई मंगलबार राति १० बजेको समयमा फेला पारेर सशस्त्र प्रहरीलाई खबर गरेको थियो ।

भारतीय प्रहरीसँग उनीहरुले ‘गायिका बन्न’ भारत गएको बताएपनि आफूहरुसँग भने उनीहरुले केही नबताएको उनले बताए । शाहीका अनुसार भारतीय गैरसरकारी संस्था चाइल्ड वेलफेर कमिटी (सीडब्लूसी)ले उनीहरुलाई बुधबार दिनभर काउन्सेलिङ गरेको थियो ।

सीडब्लूसीले आफ्नो जिम्मामा आएका किशोरीहरुलाई कम्तीमा पनि एक हप्ता वा एक महिना काउन्सेलिङ गरेर मात्रै परिवारको जिम्मा लगाउने नियम रहेका कारण राति अबेर उक्त संस्थालाई कन्भिन्स गरेर नेपाल ल्याइएको शाहीले बताए ।

‘भारतीय सुरक्षाकर्मीसँग किशोरीहरुले गायिका बन्न भारत जान लागेको बताएका रहेछन् । त्यहाँ छँदा हाम्रो टोलीसँग उनीहरुले केही बताउन चाहेनन्,’ शाहीले भने, ‘हामीले पनि उनीहरुलाई जतिसक्दो चाँडो नेपाल ल्याउनका लागि त्यहाँका अधिकारीहरुसँग समन्वय ग¥र्यौं ।’

भंगाहा नगरपालिका–८ धर्मपुरा घर भएका किशोरीहरु भिट्टामोडबाट अटो चढेर बिहारको सितामढीस्थित रेल्वे स्टेसन पुगेको पाइए पनि उनीहरु आफैं गए वा अरु कसैले लिएर गएका हुन् भन्नेबारे केही खुल्न नसकेको उनले बताए ।

घाँस काट्न भनेर घरबाट निस्केका उनीहरुलाई कसले र किन त्यहाँ पुर्‍यायो भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।

मंगलबार दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगीना पासवान, १३ वर्षीया ज्योति पासवान, १२ वर्षीया सीमा पासवान, १३ वर्षीया रिया पासवान र १२ वर्षीया रञ्जना पासवान हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment