१९ चैत, काठमाडौं । सोमबार सम्पन्न त्रिदेशिय कप फुटबलको उपाधि जितेका फरवार्ड भरत खवास र गोलकिपर विकेश कुथु के गर्दै होलान् ? खेलप्रेमीको जिज्ञासा स्वभाविक हो । उनीहरू यतिबेला अर्को खेलको तयारीमा लागिसकेका छन् ।
त्रिभुवन आर्मी फुटबल क्लब (टीएएफसी) का यी दुई खेलाडी एएफसी कपको खेलका लागि तयारीमा लागेका हुन् ।
आर्मीले २५ चैतमा घरेलु मैदानमा श्रीलंका पुलिससँग एएफसी कप २०२१ को प्रिलिमिनरी राउण्डको खेल खेल्दैछ ।
गत सिजनको ए डिभिजन लिग मछिन्द्र क्लबले जिते पनि एएफसी क्लबले लाइसेन्स प्राप्त गरेकोले आर्मीले उक्त अवसर पाएको हो । आर्मी क्लब लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली क्लब बनेको छ । जसले गर्दा ए डिभिजन लिगमा उपविजेता भए पनि आर्मीले यो अवसर पाएको छ ।
एएफसी कपको समूह चरणका पुग्न आर्मीले प्लेअफका खेलहरू खेल्नुपर्ने हुन्छ । त्यसका लागि घरेलु मैदानमा हुने पहिलो खेल महत्वपूर्ण छ ।
‘एएफसी कप प्लेअफ अन्तर्गत श्रीलंका पुलिसविरुद्ध खेल्दैछौँ । त्रिभुवन आर्मी फुटबल क्लबका लागि त्यो एकदमै महत्वपूर्ण म्याच हो,’ आर्मीका कप्तान भरत खवासले अनलाइनखबरसँग भने, ‘एउटा इतिहासमा त्रिभुवन आर्मी क्लब पहिलो एएफसी क्लब लाइसेन्स लिने पहिलो क्लब भयो । अर्को अन्तर्राष्ट्रिय अनुभव लिने यो ठूलो प्ल्याटफर्म हो । अवसरहरू छन् र चुनौती पनि छन् ।’
भरतले त्यसका लागि सबै खेलाडी मानसिक रुपमा तयाररहेको बताए ।
आर्मीले श्रीलंका पुलिसलाई पराजित गरेमा अर्को खेल भारतको बेंगलुरुसँग खेल्नेछ । त्यसपछि अर्को एउटा प्लेअफ फाइनल हुनेछ । बेंगलुरुलाई पनि जितेछ भने आर्मीले प्लेअफ फाइनल खेल्न पाउनेछ ।
फाइनल खेल जिते मात्र समूह चरणका लागि छनोट हुनेछ । समूह डीमा दक्षिण एसियाली देशकै क्लबहरू छन् । जसमा भारतको एटिके मोहन बगान, बंगलादेशको बशुन्धरा किंग्स र माल्दिभ्सको माजिया छन् ।
आर्मीले एएफसी कपको तयारी स्वरुप घरेलु मैदानमै किर्गिस्तानको यू २३ टिमसँग अभ्यास खेल खेल्ने अवसरपायो । आइतबार दशरथ रंगशालमा भएको खेलमा आर्मीले किर्गिस्तानसंग गोलरहित बराबरी खेल्यो ।
थ्री नेशन्स कप खेल्न नेपाल आएको किर्गिस्तानले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेपछि अखिल नेपाल फुटबल संघ एन्फाले आर्मीसँग खेल खेल्ने व्यवस्था गरेको हो ।
आर्मीका कप्तान भरत खवास र गोलकिपर बिकेश कुथु भने राष्ट्रिय टिममा रहेकाले सो खेल खेलेनन् । तर थ्री नेशन्सको टिममा नपरेका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की, सन्तोष तामाङ, विकास खवासले पनि किर्गिस्तान विरुद्ध खेले ।
यसले पनि आर्मीको टिमलाई परिपक्व बन्न सहयोग पुगेको छ । ‘किर्गिस्तान यू२३ टिम विरुद्धको खेल हेर्न म पनि गएको थिएँ । राष्ट्रिय टिममै भएकोले मैले खेलिँन । हाम्रो खेलाडीले राम्रो प्रदर्शन गरे,’ भरतले भने, ‘हामीले त्रिभुवन आर्मी क्लबबाट खेलेको ८÷९ वर्ष भयो ।टिममा हामी समावेश भएपछि टिम अझैबुस्टअफ हुन्छ जस्तो लाग्छ ।’
किर्गिस्तान विरुद्ध खेल्दा टिममा रहेको कमीकजोरी थाहा भएकोले त्यसलार्य सुधार गर्ने बताउँदै उनले भने, ‘२५ चैतमा हुने खेलका लागि हामी तयार छौँ ।’
भरत र विकेश बाहेक अन्य खेलाडी आर्मी टिमसँगै प्रशिक्षण लिइरहेका छन् । थ्री नेशन्स कपमा नपरेपछि नवयुग, जर्जप्रिन्स, सन्तोष र विकास राष्ट्रिय टिमको क्याम्पबाट रिलिज भएका थिए । त्यसपछि मात्र उनीहरू आर्मी टिममा फर्किएका हुन् ।
आर्मीले घरेलु मैदानमै खेल्ने भएकोले दर्शक र मैदानको साथ हुने विश्वास छ । कप्तान भरतले दर्शक १२औं खेलाडीको रुपमा हुने भएकोले फाइदा हुने बताए ।
‘हामीले घरेलु मैदान दशरथ रंगशालमा खेल्दैछौँ । हामीलाई घरेलु दर्शकको समर्थन पनि हुन्छ । विपक्षी ११ जना हुँदा हामीलाई दर्शकको साथ पनि हुन्छ । जसले गर्दा हामी १२ जना खेल्दैछौँ जस्तै हुन्छ’, उनले भने ।
जितकै लागि खेल्छौँ : प्रशिक्षक न्यौपाने
प्रशिक्षक नवीनन्यौपानेले यो आर्मीको लागि मात्र नभएर देशकै प्रतिष्ठासँग जोडिएको खेल भएको बताए । ‘निश्चय नै यसले ठूलो अर्थ राख्छ,’ उनले भने ।
उनले हेटौडौंमा क्यामरुनी क्लबसंग र दशरथ रंगशालमा किर्गिस्तानसँग खेलेपछितयारीमा पनि सहयोग पुगेको र कसरी खेल्ने बुझ्ने अवसर पाएको बताए ।
‘तयारीका लागि हामीले दुई तीनवटा मैत्रीपूर्ण खेल खेल्नुपर्ने थियो । त्यो चाहिँ हेटौँडामा क्यामरुनी टिम र किर्गिस्तानसँग खेलेपछि फाइदा भयो,’ उनले भने,‘क्यामरुनको टिमसँग फिजिकल गेम खेल्यौँ टप गेममा हरायौँ । किर्गिस्तानसँग प्रदर्शन राम्रै भयो ।’
आर्मीले ३–४ महिना अघिदेखि नै एएफसी कपको लागि तयारी गरेको न्यौपानेले बताए ।
न्यौपानेले घरेलु मैदानको फाइदा पनि आर्मीलाई हुने भएकोले जित्नकै लागि खेल्ने बताए । ‘एएफसी कपमा होम एडभान्टेज हुन्छ । मोर्डन फुटबल अनुसार प्रेसिङ गेम अगाडि बढाइराखेको छु । श्रीलंकन पुलिससँग खेल्दा अट्याकिङ खेल खेल्ने हो । त्यो प्रेसिङ गेममा गत सिजन लिगमा पनि सफल भयौँ,’ न्यौपानेले भने, ‘लास्ट म्याचमा मात्र सफल हुन सकेन । खेलाडीहरुले स्टाइल बुझिसके । हामी अट्याकिङ र प्रेसिङ गेम नै खेल्छौँ । त्यसबाट रिजल्ट आउँछ भन्ने आशावादी छौँ ।’
उनले यस खेलमा जितको विकल्प नरहेको पनि बताए । ‘श्रीलंकन पुलिसलाई जितेर बेंगलुरुसँग खेल्नुपर्छ । हामीसँग अर्को कुनै विकल्प छैन । त्यसैले हामी जितकै लागि खेल्छौँ र जसरी पनि जित्नैपर्छ ।’
प्रतिक्रिया 4