Comments Add Comment

‘कबड्डी ४’मा मिरुना र गौमाया फाइनल

चलचित्र ‘कबड्डी ४’का लागि दुई नायिका फाइनल भएका छन् । चलचित्रका निर्देशक रामबाबु गुरुङले चलचित्रका लागि नायिकाद्धय मिरुना मगर र गौमाया यात्री फाइनल भएको पुष्टी गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै रामबाबुले भने–‘मिरुना र गौमायालाई नायिकाको रुपमा फाइनल गरेका छौं । ६ महिनादेखि उहाँहरुसँग कुरा भैरहेको थियो । अहिले उहाँहरु नेपाल आएर वर्कशपमा हुनुहुन्छ ।’

नायिका मिरुना मगरले केही नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । तर, गौमायाले भने चलचित्रमा अभिनय गरेकी छैनन् । गौमाया भ्लगर हुन् । उनले, आफ्नो भ्लगिङमार्फत नेपाली संकृती, भाषाको प्रवद्र्धन गर्दै आएकी छिन् ।

यो चलचित्रमा नायक दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्दि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भैसकेका छन् ।

रामबाबुले यो चलचित्रलाई ‘फाइनल म्याच’ भन्दै आएका छन् । उनले भने–‘फाइनल म्याच नै भनेर चलचित्रको कथा लेखिरहेको छु । तर, भोली लेख्दै जाँदा म्याचमा जालझेल पनि हुन सक्छ ।’ यो चलचित्रको छायांकन वैशाखबाट सुरु गर्ने योजनामा रामबाबु छन् । छायांकन जानु अगाडि यो चलचित्रका सबै कलाकारको पीसीआर परिक्षण गरिने रामबाबुले बताए ।

चलचित्रमा कलाकार तथा निर्देशक निश्चल बस्नेत केमियो भूमिकामा रहने रामबाबुले बताए । नायिका रीश्मा गुरुङ र नायिका उपसाना सिंह ठकुरी चलचित्रमा रहने वा नरहने बिषयमा रामबाबुले केही पनि बताउन चाहेनन् । उनले भने–‘केही कुराहरु चलचित्रकै पर्दामा हेर्दा नै मज्जा आउँछ ।’ चलचित्रलाई असोजको १५ गतेबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment