Comments Add Comment

ललितपुर वुमन्स च्याम्पियनसिप क्रिकेट : एपीएफ एक खेल अगावै फाइनलमा

२४ चैत, काठमाडौं । विभागीय टोली एपीएफ क्लब ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पार्दै फाइनल पुगेको छ ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा मंगलबार भएको खेलमा ललितपुर मेयर्स–११ लाई १० विकेटले पराजित गर्दै एपीएफ एक खेल अगावै फाइनल पुगेको हो । लगातार तीन खेल जित्दै एपीएफले ६ अंक जोडेको छ ।

पहिलो खेलमा प्रदेश १ लाई ८ विकेटले हराएको एपीएफले दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ३७ रनले हराएको थियो । ललितपुरले दिएको ६७ रनको लक्ष्य एपीएफले ९.१ ओभरमा बिनाक्षतिमा पूरा गरेको हो ।

एपीएफलाई जिताउन राजमति ऐरीले अविजित रहँदै ३३ रन बनाइन् । यस्तै  इन्दु बर्मा २८ रनमा अविजित रहिन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर ६६ रन बनाएको थियो ।

ललितपुरका लागि कञ्चन श्रेष्ठले सर्वाधिक १७ रन बनाइन् भने कप्तान सरस्वती चौधरीले १२ रन बनाइन् । सन्तोषी चौधरी १३ रनमा अविजित रहिन् । ललितपुरलाई कम स्कोरमा रोक्न एपीएफकी बिना बुढाले ४ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन् । रेखा रावलले २ विकेट लिइन् ।

यस्तै कप्तान सीता राना मगर, सुमन विष्ट र करुणा भण्डारीले १–१ विकेट लिइन् । लगातार तीन खेल जितेको एपीएफले आफ्नो अन्तिम लिग खेलमा लुम्बिनी प्रदेशसँग खेल्नेछ ।

ललितपुरको यो दोस्रो हार हो । पहिलो खेलमा सुदूरपश्चिमसँग पराजित ललितपुरले दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।

पाँच टिम सहभागी प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment