Comments Add Comment

त्रिकोणात्मक सिरिज : प्रारम्भिक टोलीमै किन परेनन् बसन्त र शरद ?

२३ चैत काठमाडौं । आगामी वैशाख ४ देखि ११ गतेसम्म काठमाडौंमा हुने त्रिकोणात्मक सिरिज टी-२० क्रिकेटका लागि नेपालले आइतबार २० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दा अनुभवी खेलाडीद्वय बसन्त रेग्मी र शरद भेषावकर परेनन् ।

टिममा युवा खेलाडी भुवन कार्की र रोहित पौडेल पनि परेनन् । तयारीको समय कम रहेको भन्दै नेपाल क्रिकेट संघले यस पटक सीमित खेलाडीलाई क्याम्पमा बोलाएको हो । पछिल्ला वर्षहरुमा बसन्त र शरद नेपाली टिममा नियमित छैनन् । उनीहरु टी-२० भन्दा एकदिवसीयका लागि प्राथमिकतामा छन् ।

मार्चमा तय भएको आईसीसी क्रिकेट विश्वकप लिग २ का लागि छनोट भएका २० सदस्यीय टोलीमा भने उनीहरु सामेल थिए ।

त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्याण्ड्स र मलेसियाले खेल्ने त्रिकोणात्मक सिरिजका लागि नेपालले मंगलबारदेखि प्रशिक्षण सुरु गर्नेछ ।

कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, लोकेश बम, कमल सिंह ऐरी, सुशन भारी, शाहब आलम, सन्दीप जोरा, विक्रम सोब, पवन सर्राफ र ललित नारायण राजवंशीलाई क्याम्पमा बोलाइएको छ ।

बसन्त र शरद भने प्रारम्भिक टिममै किन परेननन् भन्ने चासो छ । नेपाल क्रिकेट संघ (क्यान)  का सचिव अशोकनाथ प्याकुरेलले शरदको आमाको निधन भएकाले घरमा रहेको र बसन्त टिममा पर्ने र नपर्ने क्रम चलिरहेको बताए । ‘नयाँ खेलाडीहरु पनि आइरहेका छन्, सेलेक्टरले सबै हेरेर छनोट गरेका हुन्’ उनले भने ।

नेपाली टिमका लागि खेलाडीको मुख्य छनोटकर्ता उत्तम कर्माचार्य हुन् । उनले बसन्त अमेरिका जान लागेको बताए । ‘बसन्त रेग्मी र पृथु अमेरिकामा क्रिकेट खेल्न जाँदैछन्’ उनले भने । बसन्तले पनि यसको पुष्टि गरे ।

नेपालको पहिलो कप्तान समेत रहेका कर्माचार्य संयोजक रहेको छनोट समितिमा अरु सदस्य छैनन् । यस्तोमा उनले मुख्य प्रशिक्षक डेभ वाटमोर र कप्तान ज्ञानेन्द्र मल्लसंग सहकार्य गरेर खेलाडी छनोट गरेको अनलाइनखबरलाई बताए ।

कर्माचार्यले विगतका प्रदर्शनसमेतको आधारमा उत्कृष्ट खेलाडी छनोट गरिएको बताए । ‘पहिला खेलेका खेल र प्रधानमन्त्री कपकै आधारमा छनोट गरिएको हो । कोच र कप्तानसंग सहकार्य गरेर २० जना छानेको हो’ कर्माचार्यले भने ।

उनले टी-२० का लागि उपलब्ध भएका उत्कृष्ट खेलाडीहरुलाई प्राथमिकता दिएको बताए । यिनीहरु उत्कृष्ट खेलाडीहरु हुन् भन्ने प्रश्नमा उनले भने, ‘तत्कालका लागि यी खेलाडी टी-२० का लागि उत्कृष्ट हुन्’ कर्माचार्यले भने, ‘अहिले तत्काल टी-२० टुर्नामेन्ट छैन । टी-२० नभएको लामो समय भयो ।  त्यो नहुँदा यसैलाई बेस्ट मान्नुपर्छ ।’

क्यानका सचिव अशोकनाथ प्याकुरेलले मंगलबारदेखि नेपाली टिमले त्रिवि क्रिकेट मैदानमा अभ्यास गर्ने बताए । तर हाल क्यानकै आयोजना र ललितपुर महानगरपालिकाको सहयोगमा ललितपुर मेयर महिला च्याम्पियनसिप टी-२० क्रिकेट त्रिवि मैदानमा भइरहेको छ ।

प्याकुरेलले मैदान खाली रहेका बेला मैदानमा र खेल भएका बेला नजिकैको नेटमा अभ्यास गर्ने बताए । ‘खेलाडीहरुले मैदान उपलब्ध नहुँदा शनिवारदेखि नेटमै प्राक्टिस गरिरहेका छन् । हामीले गेम नभएको समय मिलाएर प्राक्टिस गराउँछौँ । मूलपानी पनि प्राक्टिसको लागि तयारी गरिँदैछ’ प्याकुरेलले भने । मेयर्स कप महिला च्याम्पियनसिप क्रिकेट चैत २८ गते सकिएपछि भने अभ्यास सहज हुनेछ ।

क्यान सचिव प्याकुरेलले सिरिज सुरु हुनु केही दिनअघि नेदरल्याण्ड्स र मलेसियाको टोली आउने बताए ।

गत वर्ष फेब्रुअरीमा भएको विश्वकप लिग २ को त्रिकोणात्मक सिरिजपछि नेपालले घरेलु मैदानमा पहिलो पटक सिरिज खेल्न लागेको हो । नेपालले खेलेको पछिल्लो प्रतियोगिता भने गत वर्ष मार्चमा भएको एसीसी इस्टर्न रिजन टी-२० हो ।

नेपालले यसै वर्ष फ्रेबुअरी र मार्चमा एक एक वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने तय भएकामा कोरोना महामारीबाट उत्पन्न समस्याका कारण स्थगित भयो । फेब्रुअरीमा कतार टी-२० सिरिज र मार्चमा विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज स्थगित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment