Comments Add Comment

लीलाराम न्यौपाने आकस्मिक कक्षको मुख्यमन्त्री पोखरेलद्वारा उद्घाटन

२५ चैत, बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पताल परिसरमा निर्मित लीलाराम न्यौपाने आकस्मिक कक्षको उद्घाटन भएको छ । लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्वारा निर्मित आकस्मिक कक्षको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरलले उद्घाटन गरेका हुन् ।

समाजसेवी लीलाराम न्यौपानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित सो समारोहमा मुख्यमन्त्री पोखरेलले भवनभित्र स्थापित लीलाराम न्यौपानेको सालिक पनि अनावरण गरे । प्रतिष्ठानद्वारा तीन करोड पच्चीस लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवनमा सम्पूर्ण उपकरण जडानसहितको पच्चीस शय्या रहेको छ । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले समाजसेवी लीलाराम न्यौपाने परिवारबाट समाज लाभान्वित हुने काम गर्नु प्रेरणाको विषय भएको बताए ।

प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण, पूर्वमन्त्री दीपक बोहोरा, लुम्बिनी प्रदेशसभाका सदस्यद्वय डा. कृष्ण न्यौपाने र सन्तोष पाण्डे, रूपन्देही जिल्ला समन्वय समितिका प्रमुख तथा भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज विक, सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ता र यादव भट्टराईलगायत सहभागी थिए । सहभागीहरुले समाजसेवी लीलाराम न्यौपानेको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज विकलाई नवनिर्मित आकस्मिक कक्ष (भवन) को साँचो हस्तान्तरण गरे ।

सो अवसरमा सिद्धार्थनगर नगरपालिकाका तर्फबाट प्रमुख हरिप्रसाद अधिकारीद्वारा समाजसेवी लीलाराम न्यौपानेकी धर्मपत्नी कुन्तीदेवी न्यौपाने, छोरा शोभाकर (हरि), दुर्गा, विष्णु र शशि न्यौपानेलाई सम्मान गरिएको थियो ।

प्रतिष्ठानले समाजसेवा, शिक्षा, साहित्य, संस्कृति, धर्म, खेलकुदलगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने संस्था र प्रतिभालाई सम्मान, पुरस्कार र सहयोग प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment