Comments Add Comment

स्पेनको लुम्बिनी गार्डेनसँग नेपालले हातेमालो गर्ने अध्यक्ष तिमिल्सिनाको प्रतिबद्धता

क्याथेरेस । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पेनमा बन्ने लुम्बिनी गार्डेन परियोजनालाई नेपाल सरकारले पूर्ण सहयोगसहित सदैव हातेमालो गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन्।

स्पेनको एक्स्त्रेमादुरा प्रदेशको संसद भवनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले गौतम बुद्धको देशको सरकारका तर्फबाट यो प्रोजेक्टका लागि सदैब हातेमालो र सहयोग रहिरहने प्रतिबद्दता व्यक्त गरेका हुन् ।

‘नमुना प्रोजेक्ट स्पेनको काथेरेस सहरमा गराउन लुम्बिनी गार्डेन फाउन्डेसनसँग सहकार्य गर्नु भएकोमा एक्स्त्रेमादुराका मुख्यमन्त्री, क्याथेरेसका मेयरलगायत तपाईंहरु सबैमा धन्यवाद दिन चाहन्छु,’ अध्यक्ष तिमिल्सिनाले भने ।

उनले पिस कन्फेरेन्सको औपचारिकरुपमा उद्घाटन गर्दै गौतम बुद्धको शान्तिको सन्देश संसारभर फैल्याउन सबैलाई अनुरोध गरेका छन्।

‘विश्व शान्तिका लागि यो सम्मेलन एउटा कोशेढुङगा सावित हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘युरोपको अत्यन्त महत्वपूर्ण र सुन्दर देश स्पेनको ऐतिहासिक प्रान्तको यस भव्य संसद भवनबाट वुद्ध दर्शनमा आधारित शान्तिको सन्देशका बारेमा महत्वपूर्ण विचार विमर्श हुनु नेपाल र नेपालीहरुको लागि गर्वको विषय हो।’

७० मिलियन युरोभन्दा बढी खर्च गर्दै स्पेनको काथेरेस नगरमा लुम्बिनी गार्डेन बनाउने एक महत्वकांक्षी योजना फाउन्डेसनले राख्दै आएको छ। सोही अभियानको प्रचारप्रसारका पनि एक्स्त्रेमादुराबाट बुधबारदेखि पिस कन्फेरेन्स सुरु भएको हो।

संसदमा सम्बोधन गर्दै स्पेनको एक्स्त्रेमादुरा प्रदेशका प्रमुख गुइलेरम्मो फर्नान्डेज भाराले लुम्बिनी गार्डेन मार्फत दुई देशबीचको सम्बन्ध झनै प्रगाढ हुने बताए।
उनले काथेरस सहर अब स्पेन र नेपालका साथै लुम्बिनी,एक्स्त्रेमादुरा र काथेरस नगरहरुबीच छलफलको केन्द्रविन्दु बन्ने बताए ।

कार्यक्रममा स्पेनस्थित नेपाली राजदूत दावाफुटी शेर्पा, लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष खोसे म्यानुअल भिलानोभा, उपाध्यक्ष गोविन्द सुबेदी,महासचिव एकराज गिरी,प्रमुख संरक्षक निरज श्रेष्ठ, प्रमुख आर्कीटेक्ट उज्वलमान शाक्यलगायतको उपस्थिति थियो।

यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी,रामग्राम नगरपालिकाका मेयर नरेन्द्रकुमार गुप्ता, कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, देवदह नगरपालिकाका मेयर हिराबहादुर खत्री र उपमेयर बिद्या लक्ष्मी गुरुङ,लुम्बिनीका कार्यकारी प्रमुख शिवप्रसाद रेग्मी, संघीय संसद सचिवालय सदस्य सपना सापकोटालगायतको नेपाली टोलिले सहभागिता जनाएको थियो ।

४० मिनेट लामो उक्त कार्यक्रमलाई एक्स्त्रेमादुरा संसद भवनबाट प्रत्यक्षप्रसारण गरिएको थियो।

उपप्रधानमन्त्री काल्भोले गरिन् स्वागत

यसअघि राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई स्पेनका उपप्रधानमन्त्री कार्बेन काल्भो स्वागत गरेकी थिइन् ।

राजधानी म्याड्रिडदेखि झन्डै ३ सय किलोमिटर टाढा एक्स्त्रेमादुरा आएर उपप्रधानमन्त्री काल्भोले बुधबार बिहान अध्यक्ष तिमिल्सिनालाई स्वागत गरिन्।

सो अवसरमा बोल्दै उपप्रधानमन्त्री काल्भोले स्पेनमा लुम्बिनी गार्डेन बनाउने परियोजनाले आफूहरु उत्साहित रहेको बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment