Comments Add Comment

कतारमा सडक दुर्घटनाले खोसियो छविलालको सपना

दुर्घटनामा खुट्टा गुमाएका छविलाललाई हृविल चियर प्रदान गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान ।

२६ चैत, कतार । घरबाट फर्किएको ६ महिना नबित्दै सल्यान जिल्ला कपुरकोट गाउँपालिका-४ का छविलाल बुढाले अकल्पनीय घटना सामाना गर्नु पर्‍यो ।

कम्पनीबाट साँझको काम सकेर क्याम्प जान कतारको समल रोड (१६ नम्बर) मा बाटो काट्ने क्रममा उनी दुर्घटनामा परे । त्यो नमिठो दिन सम्झँदै उनी भन्छन्, ‘२०१७ नोभेम्बर ७ तारिक मेरा लागि कालो दिन नै सिद्ध भयो । बाटो काट्दै थिएँ, गाडी धेरै स्पिड थियो, गाडीले ठक्कर दियो, मलाई ४८ घण्टा सम्म होस नै आएन ।’

उनले कतारको हमाद अस्पतालमा एक हप्ता उपचार पश्चात २ महिना कोठामै आराम गरे । दुई महिनाको अवधिमा ४ पटक खुट्टाको शल्यक्रिया गर्नु परेको उनले सुनाए ।

इमर्जेन्सी भएकाले लागेको सबै खर्च कतारको सरकारी अस्पताल हमालले नै व्यहोर्‍यो । ५५ सय रियालभन्दा बढी खर्च भएको थियो । उनले अस्पतालबाट डिस्चार्ज हुँदा एक थान वाकर र ह्विल चियर पनि पाए ।

अब उनी साङ्ग रहेनन् । ‘सडक दुर्घटनामा परेपछि खुट्टा काट्न पर्‍यो, मेरो जीवन नै अधुरो भयो,’ उनले टेलिफोन संवादमा भने ।
कृतिम खुट्टामा प्लाष्टिकको कभर भएकाले घाम, पानी र आगोबाट जोगाउन चिकित्सकले सल्लाह दिएको सुनाउँदै उनले कृतिम खट्टा फेर्नु पर्ने मिति नजिकिँदै आएकोले चिन्तित भएको बताए ।

उनले २०१८ मा कृतिम खुट्टा हालेका थिए । बैशाखीको सहाराले यताउता गरेर जीवन धानिरहेका उनी अब फेरि कृतिम खुट्टा हाल्न खर्च जुटाउन चाहन्छन् ।

तर, उनका लागि खर्च जुटाउन सजिलो छैन । कृतिम खुट्टाका लागि करिब १४ हजार ५ सय कतारी रियाल अर्थात करिब ५ लाखभन्दा बढी रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

बुढा सन् २००८ मा कतार छिरेका थिए । हालसम्म ४ पटक बिदामा घर गएर फर्किएका उनी २०१७ देखि कतारमै रहेका छन् ।
एउटा खुट्टा गुमाएका उनले लकडाउन र कोरोना कहरको सामना गर्नुपर्‍यो । ३ छोरासहित ७ जनाको परिवारको जिम्मेवारी बोकेका छविलाल परदेशबाट फर्किन सकेका छैनन् ।

परिवारले स्वदेश र्फकन भन्छन् । तर उनी फर्किन सकेका छैनन् । ‘परिवारले आऊ भनेर भनिरहेको छ, म अशक्त भएँ । अब गएर के गर्नु, खुट्टा फेर्न आर्थिक जोहो पनि गर्न नसक्ने भए, बोझ भएर कसरी जाऊ ?’

दुर्घटना गराउने विरुद्ध कतारको हाइकोटमा मुद्दा लडे पनि हाइकोटले आफूलाई दोषी देखाएको छविलाले बताए । उनले हाइकोटले दोषी देखाएपछि केही क्षितिपूर्ति नपाएको गुनासो गरे ।

सडक दुर्घटनामा खुट्टा गुमाएका छविलाल कतारको अल वाकरास्थित आईटीसीसी (इमपिरियल ट्रेडिङ एण्ड क्न्ट्राक्टिङ) कम्पनीको स्काफोल्डिङ्मा काम गर्थे । खुट्टा गुमाएपछि छविलाल हाल कम्पनीकै स्टोरमा हल्काफुल्का काम गरिरहेका छन् ।

उनलाई चिकित्सकले ५ केजीभन्दा माथिको तौल नउठाउन भनेका छन् । परदेशमा उनी अहिले जीवन जीउनकै लागि संघर्ष गरिरहेका छन् ।

यसैबीच सडक दुर्घटनामा खुट्टा गुमाएका छविलाललाई एनआरएनए कतारले हृविल चियर प्रदान गरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले समन्वय गरी हृविलचियर प्रदान गरेको हो ।

लामो समयदेखि कतारमा कार्यरत बुढालाई त्यहाँको परोपकारी संस्था कतार रेडक्रिसेन्टले उक्त हृविल चियर उपलब्ध गराएको थियोे ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले छविलालको अफिसियल डकुमेन्ट उपलब्धपछि कृत्रिम खुट्टा जडान गर्ने कार्यमा सहयोग गर्ने बताए ।

संघ अध्यक्ष मुसलमानले छविलाल जस्ता समस्यामा रहेका अन्य नेपालीलाई पनि गैरआवासीय नेपाली संघ कतारले सहयोग गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment