२१ साउन, काठमाडौं । रुकुम पश्चिममा भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक घाइते भएका छन् ।
रुकुम पश्चिम प्रहरीका अनुसार घटना अहिले साँझ पौने ६ बजेतिरको हो । जिल्ला कारागारबाट कैदीलाई लिएर गएको बा.प्र. ०३००१ च ३९५६ नम्बरको भ्यान र विपरीत दिशाबाट आउँदै गरेको क.प्र. ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकल मुसिकोट नगरपालिका–८ तावलेमा एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक आठबिसकोट नगरपालिका–१० का २० वर्षीय गणेश शाही र पछाडि सवार रहेका आठबिसकोट–८ का निवास बोहरा घाइते भएका थिए ।
उनीहरू दुवैजनालाई उद्धार गरेर स्वास्थ्य सेवा कार्यालय सल्लेमा उपचारका लागि पठाइएको थियो ।
उपचारका क्रममा निवास बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते शाहीलाई थप उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको छ ।
भ्यान चालक टेकबहादुर पुनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको जनाएको छ ।
प्रतिक्रिया 4