५ भदौ, काठमाडौं । महोत्तरीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गौशाला नगरपालिका–१, विश्वकर्मा चोकस्थित गौशाला–माइस्थान सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पाँच वर्षीय बालकको उपचारका क्रममा मृत्यु भएको हो ।
गौशालाबाट माइस्थानतर्फ जाँदै गरेको ज. ७ प. ३७८ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रममा गौशाला नगरपालिका–१ वानटोलका पाँच वर्षीय आदित्यकुमार महतोलाई ठक्कर दिँदा टाउकामा गम्भीर चोट लागेको थियो ।
उनलाई शुभ स्वस्तिक अस्पताल बर्दिबासमा सामान्य उपचार गरेर त्यहाँबाट थप उपचारका लागि जनकपुरतर्फ पठाइएको थियो ।
बर्दिबास, जनकपुरका अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई मेडिसिटी अस्पताल ललितपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।
मेडिसिटी अस्पतालमा उपचारका क्रममा आदित्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक गौशाला नगरपालिका–८, बेलगाछीका ४१ वर्षीय दिलीपकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया 4