Comments Add Comment

खाद्य पदार्थ आयात निर्यातको अनुमति अब एकद्वार प्रणालीबाट

फाइल तस्वीर

२६ चैत, काठमाडौं । खाद्य पदार्थको आयात तथा निर्यातका लागि आवश्याक पर्ने सबैखाले अनुमति एवं प्रमाणपत्र अब एकद्वार प्रणालीबाटै स्वीकार गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक सूचना जारी गर्दै व्यवसायीहरुलाई आफ्ना निवेदनहरु नेपाल राष्ट्रिय एकद्वार प्रणालीबाटै पठाउन आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार जाँचपाससँग सम्बन्धित अनुमति, इजाजतपत्र र अन्य निवेदन लिएर अब व्यवसायीहरु कार्यालयसम्म धाउनु नपर्ने विभागले जनाएको छ । विद्युतीय कारोबार नियमावली २०६४ बमोजिम विभागले त्यस्ता निवेदनहरु विदुतीय रुपमा स्वीकार गर्ने निर्णय गरेको सूचनामा भनिएको छ ।

विभागको आधिकारीक वेबसाइटमा गएर नेपाल राष्ट्रिय एकद्वार प्रणाली सञ्चालन सम्बन्धी युजर म्यानुअलबारे जानकारी दिन सकिने पनि विभागले जनाएको छ । व्यवसायीहरुले थप साहायता लिनचाहे खाद्य वा भन्सार विभागसँग सम्पर्क गर्न सक्नेपनि सूचनामा भनिएको छ ।

गत माघ १३ गतेदेखि भन्सार प्रक्रियामा जोडिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र र पशु सेवा विभागको सेवा एकद्वार प्रणालीमा जोडिएको थियो । अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै सूचना तथा सेवा उद्योगी व्यवसायीले अनलाइनबाटै पाउने प्रणालीको विशेषता छ ।

यस अघि लाइसेन्स, प्रमिट तथा अन्य सर्टिफिकेटका लागि भन्सार विभागसँगै दर्जन हाराहारी सरकारी निकायमा सेवाग्राही धाउनु पर्दथ्यो । अन्तर्राष्ट्रिय व्यापारसँग जोडिने अन्तरसरकारीसहित निजी तथा अन्य गरी ४० वटा भन्दा बढी निकायहरु आगामी साउनसम्म प्रणालीमा आबद्ध भइसक्ने सरकारी विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment