Comments Add Comment

व्यवसायी प्रदीप विश्वकर्मा हत्याका दोषीलाई कारबाही गर्न सुनचाँदी व्यवसायी महासंघको माग

फाइल तस्वीर/सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य ।

२९ चैत, काठमाडौं । सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको गोली हानी हत्या गरिएको घटनाप्रति नेपाल सुनचाँदी व्यवसायी महासंघले गम्भीर आपत्ति जनाएको छ ।

आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघले व्यवसायी विश्वकर्माको हत्याले समग्र सुन चाँदी व्यवसायी त्रसित र असुरक्षित भएको भन्दै लाहान घटनालाई आततायीको संज्ञा दिएको छ । व्यवसायीको सुरक्षाको प्रत्यभूति गर्न पनि महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । ‘लाहान घटनाले मुलुकभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभित मात्र बनाएको छैन, यसले सिँगो मुलुकको सुरक्षा व्यवस्था र व्यवसायिक सुरक्षाको विषयमा समेत गम्भीर प्रश्नचिन्ह खडा भएको छ,’ महासंघका प्रवक्ता मनोजकुमार शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शनिबार अमिता ज्वेलर्सका सञ्चालक ४० वर्षीय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी उनको हत्या गरेको र लुटेरा समूहको आक्रमणबाट उनकी श्रीमती अमिता विश्वकर्मा पनि घाइते भएको महासंघले जनाएको छ । सो समूहले नजिकैको अमिता ज्वेलर्सको सुनचाँदी र नगद पनि लुटपाट गरेको विज्ञप्तिमा उल्लेख छ ।

व्यवसाय सञ्चालनकै क्रममा यसरी लुटपाट तथा हत्या गरिनु अत्यन्तै निन्दनीय भन्दै महासंघले लाहान घटनाले सिङ्गो मुलुकमा विद्यमान शान्ति सुरक्षाको कमजोर अवस्थाको चित्रण भएको जनाएको छ । घटनाले आम व्यवसायीलाई हतोत्साही मात्रै नबनाई चिन्तित र दु:खित समेत तुल्याएको विज्ञप्तिमा उल्लेख छ ।

आततायी कृयाकलापको नियन्त्रण गरी आम व्यवसायीलाई शान्ति सुरक्षा उपलब्ध गराउनु राज्यको दायित्व भएको भन्दै महासंघले व्यवसायीले सरकार एवं सुरक्षा निकायसँग सुरक्षाको प्रत्यभूति दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment