Comments Add Comment

बैतडीका १५ सामुदायिक वनमा डढेलो

फाइल तस्वीर

२९ चैत, बैतडी । लगातारको खडेरीका कारण बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो भएको छ । सुख्खापनका कारण वनजङ्गलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

जिल्लाका १५ बढी सामुदायिक वनको १५५ हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताए । जिल्लाको कूल क्षेत्रफलको ६२ प्रतिशत वन क्षेत्र रहेको छ । यहाँका अधिकांश वन जङ्गलमा डढेलो भएको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताए । डढेलोका कारण काँचो रुखसमेत जलेर नष्ट भएका छन् ।

सामुदायिक वनमा डढेलो हुँदा स–साना बोटबिरुवा जलेर खरानी भएको स्थानीयवासीले बताएका छन् । वनमा भएको डढेलोका कारण वातावरणसमेत प्रदूषण भइरहेको छ ।

वन जङ्गलमा लागेको आगोले वर्षौंसम्म समस्या निम्त्याउने डिभिजन वन कार्यालयका प्रमुख पराजुलीको भनाइ छ । खडेरीका कारण वन जङ्गलमा रुख आफैँ सुकिरहेका बेला डढेलोका कारण झन् समस्या भएको उनले बताए ।

वन जङ्गलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचाइका कारण वन जङ्गलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ । वन जङ्गलमा लागेको डढेलोका कारण पानीका मुहानसमेत सुक्दै गएका स्थानीयवासीले बताएका छन् । डढेलोको कारण समस्या निम्त्याउने भएकाले सावधानी अपनाउन वन कार्यालयले आग्रह रहेको छ ।

लामो समयदेखिको खडेरीले बैतडीका विभिन्न स्थानमा वन जङ्गलका रुख सुक्न थालेका छन् । रुख बिरुवामा पालुवा आउने बेलामा ठूल्ठुला रुख सुक्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

र्नया गाउँपालिका–४ को रौलेश्वर केदार सामुदायिक वन, रानीपातल सामुदायिक वन, बजलाडी सामुदायिक वन, ठूलापातल सामुदायिक वन, चोरपातल र सौलेभाडी सामुदायिक वनमा रुख सुक्न थालेको सुर्नया गाउँपालिका–४ का रामबहादुर महराले बताए ।

सामुदायिक वनमा रुखहरु सुक्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले भने, ‘लामो समयको खडेरी, रोगकीराको प्रकोप र रुखहरु बुढो भएका कारणले रुख सुकेका छन् ।’

रुखहरु सुक्दै जान थालेपछि पानी मुहान पनि सुक्दै गएका छन् । जिल्लाका अधिकांश ठाउँमा खानेपानीको हाहाकार हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment