Comments Add Comment

वर्ष २०७७ः लफडै लफडामा नेपाली कलाकार

वि.सं २०७७ साल अर्थात यो बर्ष भोलीबाट बिदा हुँदैछ । यो बर्ष नेपाली चलचित्र क्षेत्रका लागि सुखद बन्न सकेन । कोरोनाका कारण यो बर्ष नेपाली चलचित्र क्षेत्र सुनसान जस्तै बन्यो । यो बर्ष ४ वटा मात्र नयाँ चलचित्र रिलिज भए भने करिब एक दर्जन चलचित्रको छायांकन सम्पन्न भयो ।

तर, यो बर्ष नेपाली चलचित्रका कलाकारहरुको विवाद भने उत्कर्षमा देखियो । कतिपय कलाकारको बोली चिप्लदा आलोचना भयो भने कतिपय कलाकारहरु एक अर्कासँग नै विवादमा उत्रिए । यसले, चलचित्र क्षेत्र ठप्प भएपनि कलाकार भने मिडियामा छाइरहे । हामीले, यो बर्षको समिक्षा गर्दै गर्दा यो बर्ष कलाकारका लफडाको बारेमा चर्चा गरेका छौं ।

१. भूवन केसी–साम्राज्ञी राज्यलक्ष्मी शाहः यो बर्षको सर्वाधिक चर्चित विवाद नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको रह्यो । नायिका शाहले भूवन केसीले आफूलाई छायांकनमा विभेद गरेको, ह्यारेसमेन्ट गरेको जस्ता आरोप लगाइन् । भूवनले भने साम्राज्ञीको आरोपलाई गलत भन्दै खण्डन गरे । विवाद चर्किएपछि भूवनले जिल्ला अदालतमा मुद्दा समेत दायर गरेका छन् । यो मुद्दा अहिले अदालतमा विचाराधिन छ । तर, लकडाउनको समयमा केही महिना साम्राज्ञी र भूवनविचको विवादले भने उग्र रुप लियो ।

२. पूजा शर्मा–प्रकाश सुवेदीः नायिका पूजा शर्माले संचारकर्मी प्रकाश सुवेदीले आफूलाई टेलिभिजन कार्यक्रममार्फत होच्याएको भन्दै चलचित्र कलाकार संघमा उजुरी दिइन् । प्रकाशले ‘दारा भएकी नायिका’ भनेपछि पूजा रुदै कलाकार संघमा पुगिन् । उनले, उजुरी दिएपछि कलाकार संघ र एपी वान टेलिभिजनविच छलफल पनि भयो । पछि, यो विवाद सुल्झियो । तर, प्रकाश र पूजाको विवादले केही समय चलचित्र क्षेत्र तरंगित बनेको थियो ।

३. पूजाको बोली चिप्लियोः नायिका पूजा शर्माले गतबर्ष ‘म यस्तो गीत गाउँछु २’को प्रमोशनका क्रममा संचारकर्मी प्रकाश सुवेदीलाई दिएको एक अन्तरवार्तामा नेपालका जिल्ला र अञ्चलको संख्या उल्टो भनेपछि उनी ट्रोलको शिकार बनिन् । अन्तरवार्ताको यो भाग सामाजिक संजालमा भाइरल भयो । जसले पूजालाई केही समय तनाव झेल्नुपर्यो ।

४. वर्षा राउतको बोली चिप्लियोः नायिका वर्षा राउतले दिएको एक अन्तरवार्तामा उनले विशेषगरि, ‘भारतीय साथीहरुसँग कसरी कुरा गर्नु’ भनेपछि उनी आलोचनाको घेरामा परिन् । नेपालले नयाँ नक्शा जारी गरेपछि वर्षाले दिएको अन्तरवार्तामा उनले ‘भारतीय साथीहरुसँग कसरी कुरा गर्नु’ भनेकी थिइन् । यो बिषयमा चर्को आलोचना भएपछि वर्षाले माफी नै मागिन् । तर, आज पनि वर्षालाई यो विवादले छाडेको भने छैन ।

५. महानायक विवादः यो बर्षको सबैभन्दा ठूलो विवादको रुपमा निर्देशक दीपाश्री निरौलाले दिएको ‘महानायक’ सम्बन्धी विवादलाई लिन सकिन्छ । दीपाश्रीले ‘राजेश हमाल पनि महानायक हो र ?’ भनेर दिएको एक अन्तरवार्ता भाइरल भएपछि उनको चर्को आलोचना भयो । दीपाश्रीको सामाजिक संजालमा थुप्रै ट्रोल बने । यो घटनापछि करिब २ महिना दीपाश्री सार्वजनिक रुपमा देखिइनन् । पछि, नायक राजेश हमालले ‘माफी दिन’ भनेपछि यो विवाद सकिएको थियो । तर, यसको असर दीपाश्रीको करिअरमा अझै पनि परेको देखिन्छ ।

६. सुष्मा कार्कीको क्लबमा लफडाः यो बर्ष सर्वाधिक विवादमा आउने नायिका हुन् सुष्मा कार्की । सुष्मा कार्की र पत्रकार उत्सव रसाइलीविचको विवादले पनि चर्को रुप लियो । काठमाण्डौको एक क्लबमा आरती खड्काले आफूलाई कुटेको र उत्सवले आफूलाई गाली गरेको भन्दै सुष्मा प्रहरी प्रभाग, दरबारमार्गमा उजुरी गर्न पुगिन् । यो विवादले केही दिन ठूलै चर्चा पायो । तर, पछि उत्सव र आरतीले माफी मागेपछि यो घटना सेलायो ।

७. स्वेता खड्काको माझी बस्ती विवादः नायिका स्वेता खड्काले सिन्धुपाल्चोकको माझी बस्तीमा निर्माण गरिरहेको ‘एकिकृत माझी बस्ती’ यो बर्ष विवादमा रह्यो । विशेषगरि, केही संचारमाध्यममा स्वेताले माझी बस्ती नबनाएको लगायतका खबर सार्वजनिक भएपछि स्वेताले मुख खोलिन् । उनले, माझी बस्ती आफ्नो सपनाको बस्ती भन्दै सामाजिक संजालमा स्टाटस नै लेख्नुपर्यो ।

८. जितु नेपाल–छक्का पन्जा टिम विवादः दीपाश्री निरौला ‘मुन्द्रेको कमेडी क्लब’बाट बाहिरिएपछि विशेषगरि, छक्का पन्जा टिम र हाँस्य कलाकार जितु नेपालविच विवाद देखियो । छक्का पन्जा टिमबाट जितु बाहिरिए । जितुले दीपाश्रीलाई समस्यामा परेको समयमा पनि साथ नदिएको भन्दै दीपकराज गिरी र उनको टिम रुष्ट देखियो । यो विवाद अझै सुल्झिएको भने छैन ।

नेपाली चलचित्र क्षेत्र यो बर्ष विवाद नै विवादमा रुमल्लियो । केही कलाकार काममा कारण चर्चामा रहे भने केही कलाकार विवादका कारण सामाजिक संजाल र मिडियामा छाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment