Comments Add Comment

सुपरलिगको उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने

३० चैत काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज लिग फुटबल नेपाल सुपर लिग (एनएसएल)को मिति लम्बिएको छ । आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले सोमबार खेलतालिका सार्वजनिक गर्दै एनएसएल २०७८ वैशाख ११ देखि जेठ १ गतेसम्म हुने जनाएको छ ।

७ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने लिग यसअघि बैशाख ११ देखि २५ गतेसम्म हुने तय थियो । तर अब लिगको मिति एक साता थप भएको छ ।

लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स एफसी र ललितपुर सिटी एफसी भिड्ने भएका छन् । खेल दशरथ रंगशालामा बैशाख ११ गते साँझ ५:३० बजे सुरु हुनेछ । राष्ट्रिय टिमका गोलकिपर विकेश कुथु काठमाडौंको मार्की खेलाडीको रुपमा छन् । यस्तै अन्जन विष्ट ललितपुरको मार्की खेलाडी हुन् । पहिलो दिन एक खेल मात्र हुनेछ ।

लिगमा काठमाडौं र ललितपुरसँगै विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् । खेल सिंगल राउण्ड रोविन लिगमा हुनेछ ।

आयोजकले सार्वजनिक गरेको खेलतालिका अनुसार लिगको पहिलो र दोस्रो हुने टिमबीच प्लेअफ हुनेछ । त्यसको विजेता फाइनल पुग्नेछ । यस्तै तेस्रो र चौथो हुनेबीच अर्को प्लेअफ हुनेछ र त्यस खेलको विजेताले पहिलो प्लेअफको पराजित हुनेसंग फाइनल पुग्नका लागि खेल्नेछ ।

फाइनल खेल जेठ १ गते हुनेछ । लिगमा कूल २५ खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment