
३१ चैत, काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संगठन तथा संघर्षसम्बन्धी अभियान चलाउने भएको छ ।
यही चैत २८ र २९ गते बसेको पोलिटव्युरो बैठकले आगामी बैशाख र जेठ महिनामा दुई महिने अभियानात्मक कार्यक्रम सन्चालन गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागीहरुले संगठन तथा संघर्षसम्बन्धी कामको समीक्षा र आगामी कामबारे रिपोर्टिङ गरेका थिए । उनीहरुले कामको वस्तुगत आवश्यकता तथा आत्मगत स्थितिकाबीच अन्तरविरोध रहेको उल्लेख गर्दै त्यसको समाधानका लागि विशेष प्रयत्न गर्नुपर्नेमा जोड दिएका थिए ।
त्यसैले बैठकले सबै प्रदेशहरुमा पार्टीको प्रशिक्षण लगायतका कार्यक्रम सन्चालन गर्ने निर्णयसमेत लिएको छ ।
साथै राष्ट्रिय स्वाधिनताको रक्षा, जनजीविकाका समस्याको समाधान, महँगी लगायतका मुद्दा उठाएर विकेन्दि्रत तथा केन्दि्रत संघर्षका कार्यक्रम गर्ने निर्णय गरिएको नेकपा क्रान्तिकारी माओवादीले जनाएको छ ।
सो पार्टीका महासचिव किरणद्वारा जारी विज्ञप्तिमा संयुक्त मोर्चा तथा कार्यगत एकतामा सम्मिलित राजनीतिक दलहरुबाट संघर्षका कार्यक्रम सन्चालनका लागि पहल गर्ने उल्लेख छ ।
साथै बैठकले वर्तमान राजनीतिक व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्रको स्थापना र वैज्ञानिक समाजवादलाई सशक्त रुपमा प्रस्तुत गर्ने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया 4