
२७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका रवीन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिना शर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन् ।
शनिबार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी भएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गरेका हुन् ।
आफ्ना नेता तथा कार्यकर्ता संविधानले दिएको अधिकार प्रयोग गरी आफ्ना विचार राख्ने क्रममा पक्राउ परेको बताए ।
‘सरकारलाई आग्रह गर्न चाहन्छु कत्तिपनि बिलम्ब नगरी कन आस्थाका बन्दीहरु रविन्द्र मिश्रलगायतका बन्दीहरू अपराधी होइनन् उनीहरूले हिंसात्मक अराजनीतिक गतिविधि गरेका छैनन्,’ उनले भनिन् ।
उनीहरू आस्थाको बन्दी भएको बताउँदै उनले हतियार बोकेर वा कुनै हिंसात्मक गतिविधिमा सम्लग्न नभएको व्यक्तिहरुलाई सरकारले अपराधी सरह पक्राउ गरी झुटा मुद्दा लगाउने दुष्प्रयास गरेका आरोप लगाए ।
‘उहाँहरू सबैको बयान सकिएको अवस्थामा पनि नयाँ नयाँ मुद्दा सिर्जना गर्दै फसाउने ढंगबाट प्रतिशोधको हिसाबले सरकार प्रस्तुत भइरहेका छ,’ उनले भने, ‘जावलाखेलमा राष्ट्रवादी देशभक्त युवाहरुको आयोजनामा भइरहेको यो दबाबमुलक कार्यक्रममा ऐक्यवद्धता प्रकट गर्न म यहाँ आएको हुँ ।’
वर्तमान सरकार भ्रष्ट र निरंकुश भएको आरोप लगाउँदै उनले आस्थाका बन्दीहरूलाई रिहाइका लागि देशभरबाट सरकारलाई दबाब दिनेक्रम जारी रहेको उनको भनाइ थियो ।
‘उनीहरू कुनै अपराधी होइनन् । संविधानद्वारा प्रदत्त अभिव्यक्ति स्वतन्त्र र विना हातहतियार भेला हुन पाउने अधिकारको उपयोग गरेका हुन् । तर वर्तमान निरंकुश र भ्रष्ट सरकारले अनेकौं झुटा मुद्दा लगाउने दुस्प्रयास गरिराखेका छ,’ थापाले भने ।
प्रतिक्रिया 4