Comments Add Comment

वर्ष २०७७ः निराशाजनक प्रदर्शन, उत्साहजनक छायांकन

 

वि.सं २०७२ सालमा भूकम्प जाँदा करिब ५ महिना नेपाली चलचित्र चलमलाउन सकेन । चलचित्र क्षेत्रलाई पुरानै लयमा फर्किन आधा बर्ष लाग्यो । भूकम्पको त्रास कम हुँदै गएपछि हलमा दर्शक फर्किएका थिए । तर, ६ बर्ष अगाडि गएको भूकम्पले नेपाली चलचित्र क्षेत्रलाई धक्का भने दियो ।

तर, नेपाली चलचित्र क्षेत्रका लागि सबैभन्दा ठूलो तरंग यो बर्ष आयो । कोरोना महामारीका कारण गतबर्षको फागुणदेखि नै सुस्ताएको चलचित्र क्षेत्र यो बर्ष नराम्रोसँग थलियो । चलचित्र प्रदर्शनका लागि तयार भएका निर्माता रिलिज मिति पोष्टपोन्ड गर्न वाध्य भए । वर्षभरी २ सय हारहारीका चलचित्र रिलिज गर्ने हलहरु सुनसान बने । मल्टिप्लेक्स हलमा लगानी गरेका निर्माता शशंकित हुने अवस्था आयो । धेरै सिंगल हलहरु अब उठ्न नसक्ने गरी थला परेका छन् ।

यो बर्ष प्रदर्शनको हिसाबले नेपाली चलचित्र क्षेत्र निराशाजनक देखियो । यो बर्ष जम्मा ४ वटा चलचित्र मात्र रिलिज भए । तर, चारै चलचित्र हेर्न दर्शक हलसम्म आएनन् । निर्माताले चलचित्र रिलिज गर्ने हिम्मत नै गर्न सकेनन् । चलचित्र प्रदर्शन नभएसम्म यो क्षेत्र तिव्र गतीमा दौडन सक्दैन । यो बर्ष चलचित्र क्षेत्रको हिडाई सुस्त भयो ।

तर, चलचित्र प्रदर्शन नभएपनि निर्माताले हिम्मत भने हारेनन् । सस्तादेखि महंगो बजेटमा चलचित्र छायांकनको क्रम भने रोकिएन । कात्तिक १ गतेबाट सुचारु भएको चलचित्रको छायांकन आजका दिनसम्म पनि तेजका साथ अगाडि बढेको छ ।

चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन कात्तिक १ गतेबाट सुरु भयो । बाँकी रहेको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन पनि कात्तिक १ बाट नै सुरु भएको थियो । यसपछि, ‘हिड्दा हिड्दै, कृष्णलिला, मनसँग मन’ लगायतका चलचित्रको छायांकन भयो । नाम चलेका ब्यानरहरुले पनि चलचित्रको छायांकन अगाडि बढाए ।

‘सम्हालिन्छ कहिले मन’को निर्माण टिमले दुई साता लगाएर दुबई पुगेर चलचित्रको छायांकन सकाएको थियो । चलचित्र ‘चिसो मान्छे, डिसेम्बर फल्स, कौसिक, गणपति, राधा, चुरीफुरी’ लगायतका चलचित्रको छायांकन पनि यही बर्ष सकियो ।

चलचित्र ‘प्रकाश र बिहे पास’को छायांकन धमाधम भैरहेको छ भने अन्य केही चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माता छन् । चलचित्र ‘अनन्त’को छायांकन शनिबारदेखि सुरु भएको छ । ‘कबड्डी ४, बाबरी, घिन्ताङ, मिरर’ लगायतको छायांकन वैशाखबाट सुरु गर्ने तयारीमा निर्माता लागेका छन् ।

यसरीहेर्दा, यो बर्ष चलचित्र प्रदर्शनका हिसाबले निराशाजनक देखिएपनि छायांकनका हिसाबले भने आशातित देखिएको छ । आउँदो बर्ष कोरोनाको जोखिम कम भएको खण्डमा चलचित्र रिलिजको सेड्यूल निकै व्यस्त हुने देखिएको छ ।

यसले चलचित्र क्षेत्रलाई चलायमान बनाउनेछ । तर, गतबर्षदेखि कोभिडका कारण रोकिएका चलचित्र हुन् या लकडाउनपछि छायांकन भएका चलचित्रका निर्माता नै किन नहुन्, अधिकांशले प्रदर्शन मिति तय गर्न सकेका छैनन् । यसले, अझै पनि निर्माताहरु ढुक्क भएर चलचित्र रिलिज गर्न सक्ने वातावरण भने बनिनसकेको वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment