Comments Add Comment

गोकुल बास्कोटालाई लेखा समितिबाट फिर्ता गर्न माग

३ वैशाख, काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले संसदको सार्वजनिक लेखा समितिबाट पूर्वमन्त्री गोकुल बास्कोटालाई फिर्ता गर्न माग गरेको छ ।

सेक्युरिटी प्रेस खरिदको कमिसन लेनदेनको अडियो प्रकरणमा मुछिएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटालाई लेखा समितिमा पठाउनु सुशासनविरुद्धको कदम भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।

बास्कोटा मन्त्री हुँदा ७० करोड कमिसन लेनदेनका लागि कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । त्यसलगत्तै उनले सञ्चारमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

सो सम्बन्धमा सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया र अडियो टेपका विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा फाइल पठाएको थियो । यद्यपि अख्तियारले त्यसमा थप कार्यबाही अघि बढाएको जानकारी छैन । यहीबीचमा नेकपा एमाले (ओली समूह)को आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले ३० चैतमा विषयगत समितिका सदस्य हेरफेर गर्ने क्रममा लेखा समितिमा बास्कोटालाई पनि राखिएको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका महासचिव मुकुन्द बहादुर प्रधानले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी बास्कोटालाई लेखा समितिमा पठाइएपछि अडियो टेप प्रकरणमा पदीय प्रभाव पर्ने निश्चित भएको जनाएका छन् ।

यसलाई ‘सर्वथा अनुचित’ भन्दै विज्ञप्तिमा लेखिएको छ, ‘यो सिफारिस नेपाल सरकारको भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता नीतिको प्रतिकूल छ । बास्कोटालाई लेखा समितिको सदस्य बनाइनु संसदीय मान्यता, पद्धति र स्वार्थको द्वन्द्व सिद्धान्त प्रतिकूल भएको हुँदा यो विषयमा संसद र एमाले संसदीय दल दुवै गम्भीर हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment