Comments Add Comment

संक्रमण पुष्टि भएका युवक वीरगञ्ज नाकाबाटै फरार

फाइल तस्वीर : वीरगञ्ज नाका

५ वैशाख, वीरगञ्ज । वीरगञ्ज नाकाको हेल्थ डेस्कबाट एक जना कोरोना संक्रमित फरार भएका छन् ।

भारतबाट नेपालतर्फ आएकाहरुको एन्टीजेन विधिबाट गरिएको परीक्षणका क्रममा आइतबार ४ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये एक जना फरार भएका हुन् । उनी नेपाली नागरिक हुन् । संक्रमित अन्य तीन जना भारतीय हुन् ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी व्यस्त रहेको मौका छापेर संक्रमित युवक फरार भएका हुन् । हेल्थ डेस्कमा खटिएका हेल्थ असिस्टेन्ट सैनुल्लाह हवारीले रिपोर्ट आएपछि खोज्दा एक युवक नभेटिएको बताए । ‘हामी रिपोर्ट हेर्दै थियौं, लोकल मान्छे रहेछन्, स्वाब दिएर रिपोर्ट नआउँदै गइसकेछन्’ उनले अनलाइनखबरसँग भने ‘रिपोर्ट पोजेटिभ थियो, मोबाइलमा सम्पर्क गरेको स्वीच अफ थियो ।’

वीरगञ्जमै घर भएका युवकको सुरक्षाकर्मीले खोजी गरिरहेको छ । तर उनी मोबाइल स्वीच अफ गरेर बसेका छन् । फरार भएका संक्रमित युवकको खोजी भइरहेको नाकास्थित इनर्वा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक पूर्णप्रसाद दाहालले जानकारी दिए ।

वीरगञ्ज नाकामा २३ चैतदेखि एन्टीजेन टेष्ट शुरु गरिएको हो । हालसम्म भारतबाट वीरगञ्ज नाका हुँदै प्रवेश गर्ने १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये ४ जना नेपाली र बाँकी १० जना भारतीय हुन् ।

संक्रमण पुष्टि भएका नेपालीलाई सम्बन्धित पालिकासँग समन्वय गरेर होम आइसोलेसनमा बस्ने गरी पठाउने गरिएको छ भने भरतीय संक्रमितलाई सीमावर्ती भारतीय प्रहरीको जिम्मा लगाएर भारततर्फ नै फर्काउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment