Comments Add Comment

जिल्ला प्रशासन कार्यालय पर्साले पालिका अनुसार दिन तोकेर सेवा दिने

६ बैशाख, वीरगञ्‍ज । जिल्ला प्रशासन कार्यालय पर्साले पालिका अनुसार दिन तोकेर सेवा प्रवाह गर्ने भएको छ । सोमबार सूचना जारी गर्दै मंगलबारदेखि लागु हुने गरि पालिका अनुसार सेवा प्रवाह गर्न लागेको हो । पर्सा जिल्लामा १४ वटा पालिका छन् ।

एकै दिन सबै पालिकाबाट सेवाग्राहीहरु सेवा लिन आउँदा बढी भिडभाड देखिएकोले पालिका अनुसार सेवा प्रवाह गर्ने तालिका बनाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । बढ्दो कोभिड संक्रमणको जोखिमलाई ध्यानमा राखेर सेवा प्रवाह गर्न यसो गरिएको प्रशासनको तर्क छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीद्वारा जारी सूचनामा भिडभाड व्यवस्थापन गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन लागिएको उल्लेख छ । अर्को सूचना जारी नभएसम्म शान्ति सुरक्षा, मुद्धा तथा अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु तालिका अनुसार नै प्रवाह हुने सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा आईतबार र सोमबार ९ वटा पालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । कालिकामाई, जगरनाथपुर, ठोरी, पकाहामैनपुर, सखुवाप्रसौनी, छिपहरमाई, जिराभवानी, धोबीनी, पटेर्वासुगौली गाउँपालिकाका सेवाग्राहीले आईताबार र सोमबार सेवा पाउने छन् ।

मंगलबार र बुधबार चार पालिकाका सेवाग्राहीले सेवा पाउनेछन् । पर्सागढी, बहुदरमाई, पोखरिया नगरपालिका र बिन्दबासिनी गाउँपालिकाका बासिन्दाले मंगलबार र ब्ुधबार सेवा लिन सक्नेछन् भने बिहीबार र शुक्रबार वीरगञ्ज महानगरपालिकाका सेवाग्राहीका लागि छुट्याइएको छ ।

२५ जना भन्दा बढी भेला नहुनु, मास्क र सामाजिक दुरी कायम गर्न निर्देशन दिने प्रशासनमा सेवाग्राहीको अत्याधिक भिड हुने गरेको गुनासो आउने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment