
८ वैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिका–२ स्थित ऐतिहासिक सीता गुफा परिसरमा मर्यादा पुरुषोत्तम भगवान रामको मूर्ति राखिने भएको छ ।
बुधवार गुफा परिसरमा राम जन्मोत्सव कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले राम मूर्तिको शिलान्यास गरेका छन् ।
चितवनको माडी अयोध्यापुरीमा नवनिर्मित भगवान राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राखिएकै दिन ठोरीमा पनि राम मूर्तिको शिलान्यास गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि ठोरी क्षेत्र रहेको उद्घोष गरे लगत्तै ठोरीमा रहेको सीता गुफा परिसर चर्चामा आएको थियो ।
बुधबार नै अध्यक्ष श्रेष्ठले गुफा परिसरमा हनुमानको प्रतीक स्वरूप झण्डा पनि स्थापना गरेका छन् ।
सीता गुफा परिसरको संरक्षण र आकर्षक मन्दिर निर्माणका लागि गाउँपालिकाले आगामी वर्ष बजेट बिनियोजन गर्ने अध्यक्ष श्रेष्ठले घोषणा गरे ।
बुधबार गुफा परिसरमा रामनवमीको अवसर पारेर पुजाअर्चना र भजन किर्तन सहित रामनवमी पर्व मनाइएको आचार्य पण्डित चिरञ्जीवी सापकोटाले जानकारी दिए ।
स्थानीय तहले सीता गुफा परिसरमा मूर्ति स्थापना र तटबन्ध गर्नका लागि चालु आर्थिक बर्षमा रु १० लाख बजेट बिनियोजन गरेको छ ।
प्रतिक्रिया 4