+
+
Shares

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धी शब्दकोश सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते २०:०७

८ वैशाख, काठमाडौं । नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको शब्दकोश ‘चिकित्सा शब्दसागर’ सार्वजनिक भएको छ । बुधबार प्रज्ञा प्रतिष्ठान कमलादीमा एक समारोहबीच प्रा.डा. दिव्या सिंह शाह, प्रा.डा. राजेन्द्र कोजु र डा. मोहनकृष्ण श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

प्रमुख अतिथि एवं त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डीन प्रा. डा. दिव्या सिंह शाहले नेपाली भाषामा आएको ‘चिकित्सा शब्दसागर’ले चिकित्सा विज्ञानलाई नेपाली बुझ्न सघाउने र नेपाली भाषाका क्षेत्रमा यो नयाँ र महत्वपूर्ण उपलब्धि भएको भन्दै उनले लेखक तथा सम्पादकलाई धन्यवाद समेत दिइन्।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्सेजका डीन प्रा.डा. राजेन्द्र कोजुले चिकित्सा विज्ञानको विद्यार्थी र अहिले चिकित्साशास्त्र अध्यापन गराउने भएकाले आफूले चिकित्सा शब्दसागरको महत्व अनुभव गर्ने धारणा व्यक्त गरे ।

‘अहिलेका धेरै चिकित्सक साथीहरुले अंग्रेजी भाषा नै प्रयोग गर्छन्, समाजमा चिकित्सकले जुन कुरा परिभाषित गर्न खोजिरहेको हुन्छ, त्यो कुरा सबैले बुझ्न सकेको हुँदैन,अप्ठयारो पर्छ’ उनले भने, शब्दसागरले त्यसलाई पक्कै पनि सहज बनाउनेछ ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्का सदस्य सचिव डा. मोहनकृष्ण श्रेष्ठ परिषदमा झण्डै डेढ लाखभन्दा बढी स्वास्थ्यकर्मी दर्ता रहेको बताउँदै उनीहरुलाई ज्ञान हासिल गर्न यो शब्दसागर महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । स्वास्थ्यकर्मीले आफूले जानेको कुरा सर्वसाधारणलाई बुझाउनका लागि भाषागत कारणले रहेको समस्या चिकित्सा शब्दसागरले हटाउने बताए ।

कार्यक्रममा‌ आफनो मन्तव्य राख्दै प्रा.डा. लक्ष्मणप्रसाद गौतमले नेपाली भाषाका लागि चिकित्सा शब्दसागर महत्वपूर्ण उपलब्धि भएको बताए ।‌ डा. गौतमका अनुसार यो चिकित्सा शब्दसागर जंगल फडानी गरेर बाटो बनाउने कामजस्तै गाह्रो हो । यो नेपाली भाषा र वाङ्मयका लागि महत्वपूर्ण उपलब्धि हो ।’

उनले केही कमीकमजोरी भएपछि यसले नेपाली चिकित्सा विज्ञान र नेपाली भाषाको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताए । ८ वर्ष लगाएर तयार पारिएको ‘चिकित्सा शब्दसागर’ १९२० पेजको रहेको छ । उक्त शब्दसागर शब्दार्थ प्रकाशनबाट प्रकाशित गरेको हो ।

विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा. कमल लम्साल र डा. विपिन नेपालको उक्त चिकित्सा शब्दसागरमा चिकित्सा, नर्सिङ र एलाइड हेल्थसँग सम्बन्धित ५० हजारभन्दा बढी शब्दहरु छन् । उक्त शब्दकोश अंग्रेजी-अंग्रेजी र नेपाली भाषामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?