Comments Add Comment

पाथीभरा नाम हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन

९ वैशाख, काठमाडौं । किरातीहरुको सांस्कृतिक भूमि मुक्कुमलुङ बचाउन माग गर्दै बिहीबार काठमाडौंको माइतीघरमा मण्डलामा प्रदर्शन गरिएको छ ।

ताप्लेजुङको पाथीभरा क्षेत्रलाई किरात समुदायले मुक्कुमलुङ भन्दै आएकोमा राज्यले पाथीभरा नामांकन गरी अतिक्रमण गरेको भन्दै अभियन्ताहरूले प्रदर्शन गरेका हुन् ।

किरात याक्थुङ चुम्लुङ केन्द्रीय समिति, याक्थुङ लेखक संघ, आदिवासी जनजाति साहित्यकार महासंघ तथा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिलगायत संस्थाले ऐक्यबद्धता जनाउँदै मुक्कुमलुङको पहिचान जोगाउन माग गरे । उनीहरूले पाथीभरामा सञ्चालन गर्न लागिएको केबलकार परियोजनामा हुने वन विनाश तथा व्यापारिक चलखेल अन्त्य हुनुपर्ने मागसमेत राखेका छन् ।

‘लिम्बू समुदायको आस्थाको धरोहर मुक्कुमलुङ बचाऔं, पहिचान मास्न पाइँदैन, अतिक्रमणकारी पाथीभरा नाम हटाऔं’ लगायत नारा लगाउँदै अभियन्ताहरूले दुई घण्टा विरोध गरे ।

उक्त अवसरमा सांस्कृतिक अतिक्रमणविरूद्ध कविता वाचनसमेत गरिएको थियो । आधा दर्जन कविहरूले सांस्कृतिक पहिचानको पक्षमा कविता वाचन गरे ।

अनलाइनखबरसँग कुरा गर्दै गोविन्द आङ्बो लिम्बूले लिम्बू भाषामा ‘मुक्’ भनेको शक्ति र ‘लुङ’ भनेको पवित्र ढुंगा भएको बताए । जसअनुसार पाथीभरा डाँडामा शक्ति रहेको विश्वासका साथ लिम्बूहरूले धार्मिक अनुष्ठान गर्दै आएको उनले बताए ।

‘लिम्बू जातिको पुस्तौं पुस्तादेखिको बसोबास रहेको त्यस क्षेत्रको पहिचान नै अर्को बनाइएको छ,’ लिम्बूले भने, ‘पाथीमा धान भरेको जस्तो देखिने भएकाले पाथीभरा भनेर राज्य पक्षले मौलिकता विपरित प्रचार गरिरहेको छ ।’

कार्यक्रममा बोल्दै मगरात संघर्ष समितिका राम मगरले राज्यले नियोजित रूपमा आदिवासी–जनजातिको पहिचान नामेट पार्ने गरेको बताए । ‘यो देशमा आदिकालदेखि बस्दै आएको जाति र समुदायले राज्यले आज दोस्रो दर्जाको नागरिक बनाएको छ । जुन कुरा हामीलाई कदापि मान्य छैन,’ उनले भने ।

यस्तै आदिवासी जनजाति साहित्यकार महासंघका उपाध्यक्ष टंक सेलिङले राज्यले पाथीभरा नामकरण गरी मुक्कुमलुङको वास्तविक पहिचान समाप्त पारेको दाबी गरे । सेलिङका अनुसार विगतमा खुवालुङ जोगाउन भएको आन्दोलनजस्तै मुक्कुमलुङ जोगाउने आन्दोलन पनि निरन्तर हुनेछ ।

प्रदर्शनमा अभियन्ताहरू सुमन सायमी, विद्या श्रेष्ठ, गोविन्द छन्त्याल, सुनिल आङ्बो लिम्बू, प्रेमिला राईलगायतको सहभागिता थियो ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment