Comments Add Comment

भूकम्पबाट क्षतिग्रस्त ६ हजार बढी विद्यालय भवनको पुनर्निर्माण सम्पन्न

९ वैशाख, काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त भएकामध्ये ६ हजार २४६ विद्यालयका भवनको पुनर्निर्माण सकिएको छ । २०७२ साल वैशाखमा गएको भूकम्पबाट ९ हजार ७२ विद्यालयमा क्षति पुर्‍याएको थियो ।

निर्माण सम्पन्न भएका विद्यालयमध्ये विद्यालय व्यवस्थापन समितिमार्फत ४ हजार ९३३, निर्माण व्यवसायीबाट ५५४ र गैरसरकारी संस्थाको सहयोगमा ७४९ विद्यालय छन् । हाल विद्यालय व्यवस्थापन समितिमार्फत एक हजार १२१, निर्माण व्यवसायी मार्फत १७५ र गैरसरकारी संस्थाको सहयोगमा ७७० विद्यालयको पुनर्निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले जनाएको छ । पुनर्निर्माण कार्य आगामी असारभित्र सक्ने योजना रहेको प्रमुख रामशरण सापकोटाले बताए ।

२१ हजार १६९ कक्षाकोठा पूर्ण रुपमा, १२ हजार ५२२ कक्षाकोठामा अधिक र २० हजार ८९३ कक्षा कोठामा आंशिक क्षति पुगेको थियो । त्यसमध्ये ३५ हजार ५८ कक्षाकोठाको पुनर्निर्माण सम्पन्न भएको छ भने १३ हजार ६५३ कक्षाकोठा निर्माणाधिन अवस्थामा रहेका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)ले विद्यालय पुनर्निर्माणका लागि अहिलेसम्म ५३ अर्ब १९ करोड ३९ लाख ८३ हजार रुपैयाँ खर्च भएको जानकारी दिएको हो ।

भूकम्पबाट अति प्रभावित १४ र आंशिक प्रभावित १७ जिल्लाका ३२७ विद्यालय ‘मर्ज’ हुनुको साथै १५३ विद्यालय सञ्चालनमा नरहेको समेत जनाइएको छ । क्षतिग्रस्त विद्यालयमध्ये ७ हजार ५५३ विद्यालयमा मात्रै पुनर्निर्माणको कार्यक्रम प्राधिकरणले जनाएको छ ।

बाँकी एक हजार ५१९ मा विद्यालय र क्याम्पस भवनको पुनर्निर्माण भने शिक्षा मन्त्रालयमार्फत हुने सापकोटाले बताए । कार्यक्रममा बोल्दै उनले भने, ‘अब शिक्षा मन्त्रालयले टेक ओभर गरेर पुनर्निर्माणको कार्यक्रम पुग्न नसकेका विद्यालय र क्याम्पसहरुको पुनःनिर्माण गर्नेछ ।’ विद्यालयको पुनर्निर्माणमा नेपाल सरकारको ८० प्रतिशत लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment