
११ वैशाख, काठमाडौं । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त बनेको धरहरा पुनर्निर्माण भएको छ । भूकम्प गएको दिन वैशाख १२ को अघिल्लो दिन पारेर शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका छन् ।
धरहरा निर्माण हुनु सबै नेपालीका लागि खुसीको क्षण भएको भन्दै उनले घरघरमा साँझ दीपावली गर्न आव्हान गरे । ‘इतिहास झल्कने, आधुनिकता टल्कने गरी धरहरा पुनर्निर्माण भएको छ, सुन्दर, आकर्षक र मजबुत धरहरा चढ्दा आइफल टावर चढेजस्तै अनुभव भयो,’ उनले भनेका छन् ।
पुनर्निर्माण भनिए पनि यो नवर्निर्माण हो । भूकम्पले भत्किएको धरहराको भग्नावशेषलाई कायमै राखेर नयाँ बनाइएको छ ।
बाहिरबाट हेर्दा पुरानै स्वरुपमा देखिने यो धरहरा आधुनिक सामग्री प्रयोग गरेर बनाइएको छ । उद्घाटन भएपनि सर्वसाधारणका लागि यो तत्काल खुला हुनेछैन ।
धराहरा बनेपनि अरु संरचना निर्माण भइरहेकाले सार्वसाधारणलाई खुला नहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार सुन्धाराको ४२ रोपनी क्षेत्रफलमा भूकम्प एवं चारतल्ले मुद्रा संग्रहालय, २४सै घण्टा पानी खस्ने सुन्धारा, घुम्न आउने आगन्तुकका पार्किङस्थललगायत संरचना निर्माण भइरहेको छ ।
प्रतिक्रिया 4