Comments Add Comment

प्रधानमन्त्रीलाई सीसीएमसीको ब्रिफिङ : हटस्पटहरुमा ‘लकडाउन’ गरौं

११ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) का अधिकारीहरुले हटस्पटहरूमा ‘लकडाउन’ गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् ।

कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गरेका सीसीएमसीका अधिकारीहरुले लकडाउन शब्द त प्रयोग गरेरनन् तर हटस्पटहरुमा बाँकेको नेपालगञ्जमा जस्तै रणनीति अपनाउनुपर्ने बताएका हुन् ।

ठूला शहरहरुमा बढ्दो संक्रमणको चेन ब्रेक गर्न नसके भयावह अवस्था आउने उनीहरुले बताए । बैठकमा सहभागी एक मन्त्री भन्छन्, ‘लकडाउन शब्द कसैले प्रयोग गर्नुभएको छैन । यसरी नै संक्रमण बढ्ने हो भने त्यो अवस्था पनि आउनसक्छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघिसकेको छ ।

सीसीएमसीका अधिकारीहरुले लामो दूरीको यातायात तत्काल बन्द गर्नुपर्ने बताएका छन् ।

संक्रामक रोक ऐनअनुसार सोमबार जारी भएको आदेश पूर्ण पालना नभएको तथा परीक्षाका नाममा विद्यालय तथा कलेजहरुमा भीडभाड भएको भन्दै सीसीएमसीका अधिकारीहरूले त्यसमा पनि कडाइ गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न नसकिने, तर आवागमनलाई व्यवस्थित गर्नुपर्ने सीसीएमसीका अधिकारीहरूको जोड छ । नेपाली नागरिकहरुलाई चेकजाँच गरेर आउने दिने, विदेशी नागरिकहरुको हकमा भने तत्कालका लागि स्थलमार्गबाट आउन रोक्न सकिने सीसीएमसीका अधिकारीहरुले बताएका छन् ।

हवाईमार्गबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गर्ने सीसीएमसीको प्रस्ताव छ । होल्डिङ सेन्टरहरु यसअघि भन्दा व्यवस्थित हुनुपर्नेमा जोड दिइएको  छ ।

सीसीएमसीको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री ओलीले सरकारले जारी गरेको आदेश कडाइका साथ पालना गर्नुका साथै चेतनामूलक सन्देशहरु प्रवाह गर्नुपर्नेमा जोड दिए । उनले शनिबार भएको छलफलका आधारमा सीसीएमसीबाट प्रस्ताव तयार परेर मन्त्रिपरिषदमा ल्याउन समेत निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment