Comments Add Comment

वीरगञ्जमा नि:शुल्क एम्बुलेन्स र औषधि सेवा

१५ वैशाख, वीरगञ्ज । वीरगञ्जमा नि:शुल्क एम्बुलेन्स र औषधि सेवा शुरु गरिएको छ । नि:शुल्क अक्सिजन सेवा पछि वीरगञ्ज महानगरपालिकाले एम्बुलेन्स र औषधिको पनि नि:शुल्क सेवा शुरु गरेको हो ।

महानगरपालिकासँग एउटा एम्बुलेन्स र शववाहन समेत थिएन । अघिल्लो वर्ष कोरोना महामारीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्समा संक्रमितको शव बोकिएको थियो ।

यसपटक महानगरपालिकाले ३१ लाख ७० हजार रुपैयाँमा दुई वटा एम्बुलेन्स खरीद गरेको छ । संक्रमितलाई अस्पताल पुर्याउन र संक्रमणबाट मृत्यु भएकालाई दाहसंस्कारका लागि लैजानुपर्दा यी एम्बुलेन्स प्रयोग गरिने महानगरपालिकाले जनाएको छ ।

संक्रमितलाई ८ प्रकारका औषधि नि:शुल्क

महानगरमा बुधबारबाटै होम आइसोलेसनमा भएका संक्रमितलाई औषधि वितरण शुरु गरिएको छ । नगर प्रमुख विजय कुमार सरावगीले वीरगञ्ज– ५ मा एकै परिवारका पाँच जना संक्रमितलाई औषधि वितरण गरेर सेवाको शुभारम्भ गरेका छन् ।

पेन्टा डीएसआर, डोलोपार, एजिमिन, सिट्रोन, भिटाजिन, डिभी ६० के, एसभीट, डोक्सी गरी ८ प्रकारका औषधि नि:शुल्क वितरण गर्न शुरु गरिएको महानगरपालिकाले जनाएको छ । औषधिको प्याकेटमा स्वास्थ्यकर्मीको नम्बर र खाने तरिका समेत उल्लेख गरिएको छ ।

वीरगञ्जमा मात्रै ५३० जना संक्रमित होम आइसोलेसनमा छन् । कन्ट्याक्ट ट्रेसिङका क्रममा १७७ जना संक्रमित सम्पर्कमा आएका छैनन् । महानगरपालिकाका हेल्थ असिस्टेन्ट सुमन चन्द्र ठाकुरका अनुसार विगतमा भन्दा होम आइसोलेसनमा बस्ने संक्रमित सचेत देखिएका छन् । परिवारबाट टाढा नै बसिरहेका छन् । तर सम्पर्कमा नआएका संक्रमितले जोखिम बढाइरहेका छन् ।

बढ्दो कोभिड संक्रमणलाई ध्यानमा राखेर महानगरपालिकाले नगरवासीको सेवाका लागि अक्सिजन, एम्बुलेन्स र औषधि सेवा नि:शुल्क प्रदान गर्न लागेको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।

‘संक्रमित भइसकेको अवस्थामा एम्बुलेन्स नपाएर अस्पताल जान नपाउने, अक्सिजन नपाएर छटपटाउने र सामान्य औषधि समेत सेवन गर्न नपाएर मर्ने अवस्था आउन नदिन अभियान शुरु गरेका हौं’ उनले भने ।

१४ जनाले लगे अक्सिजन सिलिण्डर

महानगरले नि:शुल्क अक्सिजन वितरण गर्न ‘अक्सिजन बैंक’ को समेत स्थापना गरेको छ । अक्सिजन फिलिङ खर्च र आवश्यक समान लायन्स क्लबले दिएको छ । वीरगञ्ज हेल्थ केयरबाट १५० वटा अक्सिजन सिलिण्डरको बन्दोबस्ती मिलाएर महानगरले नि:शुल्क अक्सिजन सेवा शुरु गरेको छ ।

अक्सिजन बैंकबाट बुधबारदेखि नगरवासीले सेवा लिन समेत थालेका छन् । नगरवासीले नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कोभिड १९ संक्रमित भएको पुष्टि गर्ने रिपोर्टको प्रतिलिपि र अस्पताल/चिकित्सकसँग जाँच गराएर अक्सिजन आवश्यक लेखिएको पुर्जाको प्रतिलिपि बुझाएर सेवा लिन सक्ने महानगरले जनाएको छ ।

लायन्स क्लब अफ वीरगञ्जका जोन चेयर पर्सन अनुप अग्रवालका अनुसार नि:शुल्क अक्सिजन सिलिण्डरका लागि दुई दिनमा ३० वटा जति फोन आइसकेको छ । १४ वटा सिलिण्डर वितरण भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment