Comments Add Comment

लुम्बिनी प्रदेशमा मन्त्री बनेका जसपाका चार सांसद पदमुक्त

सभामुखलाई जसपा अध्यक्ष ठाकुरको छुट्टै पत्र

सांसद पदबाट पदमुक्त भएका नेताहरु केही दिनअघि मन्त्रीको सपथ लिँदै ।

१६ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) का चार प्रदेशसभा सदस्य पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।

सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरु चारै जना हाल लुम्बिनी प्रदेश सरकारमा मन्त्री छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वास प्रस्तावमा जसपाका सन्तोषकुमार, विजयकुमार र सुमनले पनि हस्ताक्षर गरेका थिए ।

प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको केही घण्टामै जसपाका चार सांसदलाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए ।

प्रदेशसभाको सूचना

सरकारमा सहभागी भएको विषयलाई लिएर जसपामा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच विवाद भयो । यादव पक्षले उनीहरुलाई कारबाही गर्ने भन्दै स्पष्टीकरण सोधेको थियो । तर ठाकुर पक्षले त्यसको विरोध गर्दै आएका थिए ।

पछिल्लो पटक मंगलबार पनि यादव पक्षले कार्यकारिणी समितिको बैठक राखेर उनीहरुलाई कारबाही गर्न माग गरेको थियो । तर ठाकुर पक्ष बैठक बस्नै सहमत भएन ।

तर प्रदेशसभा सचिवालयले निकालेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।

जसपा अध्यक्ष यादव पक्षका एक नेताका अनुसार पार्टीको कार्यकारिणी समितिका ५१ मध्ये २६ जनाको वैशाख १४ गते बसेको बैठकले लुम्बिनी प्रदेशका ४ सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

एक वर्षअघि तत्कालीन समाजवादी पार्टी राष्ट्रिय जनता पार्टीबीच एकता भएर जसपा बनेपछि ५३ सदस्यीय कार्यकारिणी समिति बनाउने सहमति जुटेको थियो । जसमा समाजवादी पार्टीका २५ र राजपाका २६ जना राखिएको थियो, दुई पद रिक्त थियो ।

राजपाबाट कार्यकारिणी समितिमा रहेका रेशम चौधरी जेलमा छन् । तर तत्कालीन राजपाका महेन्द्र राय यादवले यादव पक्षलाई साथ दिएपछि तत्कालीन समाजवादी पार्टीको बहुमत पुगेको यादव पक्षका एक नेताले बताए ।

सभामुखलाई ठाकुरको छुट्टै पत्र

यसैबीच जसपा अध्यक्ष महन्थ ठाकुरले भने लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेखेका छन् ।

६ सदस्यीय संसदीय दललाई स्वायत्तता दिई प्रदेशसभासम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन दिएको र त्यसलाई मान्यता दिइने भन्दै उनले लेखेको पत्रमा भनिएको छ, ‘केन्द्रीय स्तरबाट प्रदेशसभा सदस्यलाई कुनै कारबाही नभएको व्यहोरासमेत अनुरोध छ ।’

जसपा नेता सर्वेन्द्रनाथ शुक्लाका अनुसार बिहीबार १ बजेर ५१ मिनेटमा यो पत्र सभामुखका साथै मुख्यमन्त्री र जसपा संसदीय दल, लुम्बिनी प्रदेशसभालाई पठाइएको थियो । तर अरुले इमेल पाए, तर सभामुखको सचिवालयले प्राप्त भएन भन्यो । ठाकुर निकट जसपाका एक नेताले पूर्व योजनाअनुसार नै चार सांसदलाई पदमुक्त गरेको बताए ।

प्रदेशसभा सचिव दुलर्भकुमार पुन मगरले भने जसपा अध्यक्ष ठाकुरको पत्र नै नआएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment