Comments Add Comment

लुम्बिनीका सभामुखलाई जसपा अध्यक्ष ठाकुरको छुट्टै पत्र, के हुन्छ पदमुक्त गर्ने सूचना ?

१६ वैशाख, काठमाडौं । नेकपा एमाले नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनेका चार प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने संकेत पाएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीलाई पत्र लेखे ।

६ सदस्यीय संसदीय दललाई स्वायत्तता दिई प्रदेशसभासम्बन्धी सम्पूर्ण कार्य गर्न निर्देशन दिएको र त्यसलाई मान्यता दिइने भन्दै उनले लेखेको पत्रमा भनिएको छ, ‘केन्द्रीय स्तरबाट प्रदेशसभा सदस्यलाई कुनै कारबाही नभएको व्यहोरासमेत अनुरोध छ ।’

जसपा नेता सर्वेन्द्रनाथ शुक्लाका अनुसार बिहीबार १ बजेर ५१ मिनेटमा यो पत्र सभामुखका साथै मुख्यमन्त्री र जसपा संसदीय दल, लुम्बिनी प्रदेशसभालाई पठाइएको थियो । तर अरुले इमेल पाए, तर सभामुखको सचिवालयले प्राप्त भएन भन्यो ।

मन्त्री बनेका चार प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रदेशसभा सचिवले बिहीबार अपरान्ह प्रकाशित गरेका छन् । सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने सुमन र कल्पना समानुपातिक सांसद हुन् ।

ठाकुर निकट जसपाका एक नेताले पूर्व योजनाअनुसार नै चार सांसदलाई पदमुक्त गरेको बताए ।

प्रदेशसभा सचिव दुलर्भकुमार पुन मगरले भने जसपा अध्यक्ष ठाकुरको पत्र नै नआएको दाबी गरे ।

उनका अनुसार जसपा लुम्बिनी प्रदेश संसदीय दलले १४ वैशाखमा केन्द्रीय कार्यमकारिणी समितिको निर्णयसहित राजनीतिक दलसम्बन्धी ऐनको दफा ३२ को (५) र प्रदेशसभा नियमावलीको नियम १९१ बमोजिम सूचना दिएको थियो । संसदीय दलको पत्रको साथमा केन्द्रीय कार्यकारिणी समितिको बहुमत सदस्यको हस्ताक्षर भएको माइन्युटको फोटोकपी पनि पठाइएको छ ।

सचिव मगरका अनुसार संसदीय दलले केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवको पत्र पनि पठाएको थियो ।

प्रदेशसभाले संसदीय दलमार्फत आएको निर्णयलाई मात्र मान्यता दिने भएकाले अध्यक्ष यादवको पत्रलाई रेस्पोन्स नै नगरेको भन्दै उनले भने, ‘अर्को अध्यक्षको पत्र त आएको छैन । तर उहाँको पनि आयो भने हामीले रेस्पोन्स गर्ने ठाउँ देखिँदैन ।’

यो पनि पढ्नुहोस लुम्बिनीका सांसद हटाउनु फर्जी काम हो : राजेन्द्र महतो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment