
१६ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको बताएका छन् ।
बिहीबार दिउँसो लुम्बिनी प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको थियो ।
नेता महतोले सांसद पदमुक्त गर्ने निर्णय फर्जी भएको भन्दै स्वीकार नगर्ने बताए । ‘यो फर्जी कसले गर्यो ? पार्टीको त बैठक नै बसेको छैन । दुनियाँलाई थाहा छ नि’, महतोले भने ।
प्रदेशसभा सचिवालयले प्रकाशित गरेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ९५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।
महतोले लुम्बिनीका सभामुखले गलत काम गरेको बताए । ‘फर्जी काम भयो, सभामुख कस्तो मान्छे हो । कन्फर्म त गर्नुपर्छ नि’, महतोले भने ।
कम्युनिष्टहरुले आफ्नो पार्टी गोलमाल बनाएपछि जसपाभित्र पनि त्यही गर्न लागेको उनले बताए । ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चार सांसदलाई त्यसै दिन मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएका थिए ।
प्रतिक्रिया 4